तत्काल संकटकाल घोषणा गर्नुपर्छः डा. केसी, ‘ओली र बालेनबीच हात हालाहाल मात्रै बाँकी छ’

Advertisement

काठमाडौं । नागरिक समाजका अगुवा तथा राजनीतिक विश्लेषक प्रा.डा. सुरेन्द्र केसीले अहिले तत्काल देशमा प्राकृतिक संकटकाल घोषणा गर्नुपर्ने माग गरेका छन्् । 

मंगलबार रिपोर्टर्स क्लबमा उनले भारी बर्षासँगै आएको बाढी पहिरोको समस्यालाई दृष्टिगत गरी संकटकालको घोषणाको आवश्यकता औंल्याएका हुन । प्रधानमन्त्री केपी ओलीको भूमिकाको आलोचना गर्दै केसीले भने, ‘मैले त प्रधानमन्त्रीलाई भ्रमण छोट्याएर आउन भनेको थिएँ । तर, उहाँ पूरा अवधि बसेर आउनुभयो । अब उहाँ आउँदा एयरपोर्ट नै अवरुद्ध थियो । फेरि यात्रुहरुले पनि दुःख पाउने स्थिति, यी अवस्थाहरु छन् । मैले देख्दाखेरि हामी कोही पनि सुध्रिने बाटोमा छैनौं । हाम्रा सबैका आ–आफ्ना कुराहरु छन् । यसबाट कहिल्यैपनि गन्तव्यमा पुग्न सक्दैनौं ।’ 

Advertisement

उनले बाढी तथा पहिरो प्रभावितहरुको उद्दारमा दलका भातृ संगठनको भूमिका नदेखिएको भन्दै आलोचना गरे । तर, काभ्रेका चणिकलाल तामाङले आफ्नो ज्यानको परवाह नगरी दुई जनालाई नख्खु खोलाबाट उद्धार गरेकोमा भने केसीले प्रशंसा गरे । 

उनले भने, ‘कति वटा वाईसीएलले, कति वटा युथ फोर्सले र कति वटा तरुण दलले त्यो हिम्मत गरे त ? अहिले टिचरलाई कुट्नुपर्ने भए र दुर्गा प्रसाईंलाई कालो मोसो लगाउनुपर्ने भए उनीहरु पछि हट्थे ? खोई त बोलेको तपाईंहरु ?’

देशमा पुरस्कार र दण्डको व्यवस्था नभएसम्म राम्रो थिति नबस्ने केसीको तर्क छ । उनले नख्खुबाट दुई जनाको उद्धार गर्ने तामाङलाई सशस्त्र प्रहरी बलमा सिधै इन्स्पेक्टर बनाइनुपर्ने प्रस्ताव गरे । केसीले भने, ‘केटो त हिम्मतवाला रहेछ । त्यसले कमाण्ड गर्न पायो भने राम्रो काम गर्न सक्छ नि । राम्रो काम गर्नेलाई रिवार्डको व्यवस्था गर्नुपर्छ ।’ 

उनले देशमा दीर्घकालिन र अल्पकालिन सडकको व्यवस्था हुनुपर्ने बताउँदै डा. केसीले दशैं यसपटक काठमाडौंमै बसेर मनाउनुपर्नेमा जोड दिए । उनले आमा–बुवासँग दशैंको आशीर्वाद अनलाईनमै लिन पनि सुझाए । उनले अहिले प्रधानमन्त्री केपी ओली र काठमाडौंका मेयरबीच हात हालाहालमात्रै गर्न बाँकी रहेको सुनाए । 

न्यूरोडको सडक विस्तार गर्ने कुरा जटिल रहेको कुरा दृश्य देखिएको केसीले स्मरण गराए । न्यूरोडको सडक विस्तारको सवालमा मेयर बालेनको गलत आफूले नदेखेको पनि उनको भनाई छ । केसीले विकास निर्माणमा राजनीति नगर्न दलका नेताहरुलाई सुझाव दिए । 

Advertisement

Advertisement