एमसीसी पास गर्न अमेरिकाले कुनै दबाब दिएको छैन्ः महत, वीआरआईमा थप अध्ययन गरिने

Advertisement

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका प्रवक्ता प्रकाशशरण महतले एमसीसी सम्झौता संसदबाट पारित गराउन अमेरिकाले कुनै दबाब नदिएको दावी गरेका छन् । 

पूर्वपरराष्ट्रमन्त्री समेत रहेका उनले एमसीसी सम्झौता संसदबाट पारित गराउन सरकारलाई कुनै पनि प्रकारको दबाब नआएको दावी गरेका हुन् । सोमबार पत्रकार भेटघाट कार्यक्रम गरेर महतले अमेरिकी सरकारले सम्झौंताको छिनोफानो गरिदिन नेपाललाई आग्रह भने गरेको तर्क गरे । 

Advertisement

उनले एमसीसी सम्झौताबारे आवश्यक निर्णय लिन नेपाल आफैं सक्षम रहेको बताउँदै नेपालको स्वार्थ र हित अनुकूल हुने कुनै पनि प्रकारको प्रस्ताव स्वीकार गर्न नेपाल सरकार तयार रहेको बताए । महतले एमसीसी नेपालको हितमा रहेको र संसदबाट पारित हुने बताए । 

उनले भने, ‘कसलाई दबाब परेको छ । उहाँहरुले जवाफ दिनुहोला । दबाब कसले महसुस गर्नु भयो । जहाँसम्म नेपाली काँग्रेस पार्टी र नेपाली काँग्रेस नेतृत्वको सरकारको प्रश्न छ । हामीले यसलाई दबाबको रुपमा लिएका छैनौं । यसको छिनोफानो गर्दिनुस् भन्ने अमेरिकी सरकारको भनाई हो । र, हामीले छिनोफानो गर्नुपर्छ । हामी आफैं यो निर्णय गर्न सक्छौं । यो हामी कसैले दबाब दिएर हामीले निर्णय गर्नेरुपमा यसलाई लिएका छैनौं । र, दबाब पनिआएको छैन् यस सम्बन्धलाई लिएर ।’

महतले चीनसँग सम्झौता गरिएको बीआरआई परियोजना विस्तृत अध्ययन गरेर अघि बढाउने प्रतिवद्धता समेत गरे । उनले चीन सरकारले प्रस्ताव गरेको सो परियोजना आफू परराष्ट्रमन्त्री हुँदा स्वीकार गरेको स्मरण गर्दै भने, ‘कुनै पनि सहमति कुनै पनि मित्र राष्ट्रहरुबाट वा बहुपक्षीय संस्थाहरुबाट हुने सहयोग हामी स्वीकार गर्छौं । वीआरआई सम्झौता धेरै अध्ययनपछि, धेरै छलफलपछि धेरै परिमार्जन गरेर मैले नै सही गरेको हो । म आफैं विदेशमन्त्री हुँदा । त्यसो हुनाले त्यो सिद्धान्त र फ्रेमभित्र रहेर आउने वीआरआई सहयोगलाई हामी सदैव वेलकम गर्छौ । अब कुन प्रोजक्ट लागू गर्नेभन्ने कुरा नेपालकै हो । वीआरआई पनि यसले दिने आर्थिक प्रतिफललगायतको विस्तृत अध्ययन गरेर अघि बढाउनेछौं ।’

Advertisement

Advertisement