युक्रेनी राष्ट्रपति भन्छन– जति छिटो संवाद शुरू हुन्छ, रुसलाई त्यति कम क्षति हुन्छ

Advertisement

काठमाडौं । रुसी सैनिकले आफ्नो मुलुकमा आक्रमण सुरु गरेको भोलिपल्ट शुक्रबार युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले द्धन्द्ध र आक्रमण अन्त्यका लागि रुसले आफूहरुसँग कुरा गर्नुपर्ने बताएका छन् । 

देशवासीका नाममा सम्बोधन गर्दै उनले आफ्नो मुलुकको रक्षा गर्न आफूहरु सक्षम रहेको भन्दै भने, ‘यो द्वन्द्व र अतिक्रमण अन्त्यबारे ढिलो वा चाँडो रुसले हामीसँग कुरा गर्नुपर्ने हुन्छ ।’

Advertisement

युक्रेनको राजधानीमा बिहानै रुसी सेनाले आक्रमण गरेको जानकारी दिँदै जेलेन्स्कीले युद्धविरामका लागि आफूले अपील गरिरहेको बताए । उनले भनेका छन्, ‘जति छिटो संवाद शुरू हुन्छ रुसलाई त्यति कम क्षति हुन्छ ।’

आक्रमण नरोकिएसम्म आफूहरूले देशको रक्षा गरिरहने जेलेन्स्कीले बताए । आज राजधानी किएभ र आसपासमा क्षेत्रमा विस्फोटन भएको समाचार अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले प्रकाशित गरेका छन् । 

जेलेन्सकीले रुसले आफूलाई सिद्ध्याएर युक्रेनलाई राजनीतिक रूपमा ध्वस्त पार्न चाहेको भन्दै रुसी आक्रमणलाई विफल बनाउन लडिरहेका आफ्ना सेनालाई साथ दिन जनतालाई आग्रह गरेका छन् । 

युक्रेनका अनुसार अहिलेसम्म रुसी आक्रमणमा सैनिक र सर्वसाधारण गरी १३७ युक्रेनीले ज्यान गुमाएको जनाएको छ । रात्रिकालीन निषेधाज्ञा लगाइएको राजधानी किएभमा रुसको सम्भावित हवाई आक्रमणबाट जोगिन हजारौं मानिस जमिनमुनी मेट्रो स्टेशनमा आश्रय लिएका छन् । 

युक्रेनमाथि गरिएको आक्रमणप्रति रुष्ट रहेका अमेरिका र युरोपेली सङ्घले रुसमाथि थप प्रतिबन्ध लगाउने सहमति जनाएका छन् । अमेरिकाले रुसका बैंक र सरकारी कम्पनीलक्षित प्रतिबन्धहरूको घोषणा गरेको छ
। आक्रमणको विश्वभर निन्दा भइरहे पनि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भने आफ्नो प्रतिरक्षा गरिरहेका छन् । युक्रेनमा भएको आक्रमणको मस्कोमा समेत विरोध प्रदर्शन भएको छ । 

Advertisement

Advertisement