महाशिवरात्रिको तयारी पूरा, ५० लाखका बत्ती र फूलले सजाइयो पशुपति क्षेत्र

Advertisement

काठमाडौँ । भगवान् पशुपतिनाथ विराजमान पाशुपत क्षेत्रमा आगामी मङ्गलबार हुने महाशिवरात्रि पर्वको सम्पूर्ण तयारी पूरा भएको छ । 

पशुपति क्षेत्र विकास कोष पर्वलाई व्यवस्थित ढङ्गले सुसम्पन्न गर्न सुरक्षा व्यवस्था, दर्शन, चन्दन, मन्दिर रात्रिकालीन व्यवस्था, आवास, भोजन, साधुसन्त सत्कार तथा धार्मिक कार्यक्रम, सरसफाइ, जुत्ताचप्पल व्यवस्थापन, स्वास्थ्य सेवा व्यवस्था तथा स्वयंसेवक परिचालनका सम्पूर्ण काम पूरा भएको जनाएको छ । 

Advertisement

कोषका कोषाध्यक्ष एवं प्रचारप्रसार व्यवस्था उपसमितिका संयोजक नारायणप्रसाद सुवेदीले कोभिड–१९ सङ्क्रमणको जोखिम अन्त्य नभइसकेकाले सरकारले निर्धारण गरेका सुरक्षा मापदण्डको पूर्ण पालना गरेर दर्शनार्थीहरुलाई मेला भर्न अनुरोध गरे । 

गुह्येश्वरी–गौरीघाट–उमाकुण्ड–दक्षिणमूर्ति हुँदै रुद्रगाडेश्वर उत्तरढोकाबाट पशुपतिनाथ मन्दिर प्रवेशको व्यवस्था मिलाइएको छ भने मित्रपार्क–जयवागेश्वरी–इँटापाखा भएर भुवनेश्वरी हुँदै पश्चिमबाट, बत्तिसपुतली–गौशाला–एयरपोर्ट–पिङ्गलास्थान भएर सुमार्गी भवन हुँदै चार शिवालयबाट पशुपतिभित्र प्रवेश गर्न पाइनेछ ।

मङ्गलबारका दिन महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकावासीलाई पशुपति क्षेत्रको यात्रामा वैकल्पिक मार्ग प्रयोग गरी सवारीसाधन सञ्चालन गर्न अनुरोध गर्दै मालवाहक सवारीसाधन, बस, माइक्रोबस तथा ट्याम्पोलगायत सवारीसाधनलाई सिफलचौर, जोरपाटी, चाबहिल र सिनामङ्गलभन्दा अगाडि सञ्चालनमा रोक लागाइएको छ । 

५० लाखका बत्ती र फूलले सजाइयो पशुपति क्षेत्र 
महाशिवरात्रिको तयारी स्वरूप पशुपति क्षेत्रमा बिजुली बत्तीले झिलीमिली बनाइएको छ । पशुपति क्षेत्रका विभिन्न स्थानमा महाशिवरात्रिको तयारीस्वरूप झिलीमिली बनाइएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए । पशुपति क्षेत्रका सबै स्थानमा बिजुली बत्ती बाल्न थालेपछि आकर्षक देखिएको छ । 

दाताको करिब रु ५० लाख बराबरको सहयोगले महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रलाई बिजुली बत्ती र फूलले सजाइएको हो । बिजुली बत्ती र फूलले सजाउने काम गरिरहेका छन् । पशुपति क्षेत्रका खाली भित्तामा भगवान शिव र पार्वतीका चित्रलेखन भने कोषकै खर्चमा भएको छ ।  

अहिले पशुपति क्षेत्रमा चहलपहल बढेको छ । खाली भित्तामा भगवानका आकर्षक चित्र कोरिएको छ । ठाउँ ठाउँमा बिजुली बत्तीले पशुपति क्षेत्र सुन्दर देखिएको छ । महाशिवरात्रिका लागि आएका साधुसन्तले पशुपति क्षेत्रका कुना कुनामा भीड बढेको छ । हंसमण्डप, निर्मल अखडा, भष्मेश्वर अखडा, अन्नपूर्ण भण्डारलगायत स्थानमा निःशुल्क भोजनको व्यवस्था गरिएको छ ।

पशुपति क्षेत्रका मुख्य चार प्रवेशद्वारमा बिजुलीका ढोका बनाई त्यसभित्र बत्तीको सजावट गरिएको कोषका सदस्यसचिव डा मिलनकुमार थापाले जानकारी दिए । 

महाशिवरात्रि पशुपति क्षेत्रमा मनाइने जात्रा पर्वमध्ये मुख्य मानिन्छ । परब्रह्मले फाल्गुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरूप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना, दर्शन गरे यस लोकमा सुख, शान्ति र परलोकमा सद्गति प्राप्त हुने शास्त्रीय वचनअनुसार महाशिवरात्रिका दिन पशुपति क्षेत्रमा भक्तजनको भीड लाग्ने गरेको छ । पशुपति क्षेत्रमा आउने भक्तजनलाई विशेष सुविधा दिने गरी कोषले तयारी अघि बढाएको छ ।

फाल्गुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ । माघ महिनामा महादेवको रुद्रत्व अर्थात् जगत्लाई रुवाउने वा संहार गर्ने तत्वले गर्दा पत्रविहीन भई जीर्ण भइरहेका रूख, बिरुवा तथा झारहरू उनै महादेवको शिवत्व ९जगत्को कल्याण गर्ने तत्व०ले गर्दा फागुनमा पलाउन थाल्ने हुनाले शिवरात्रि मनाउने गरिएको हो भन्ने मान्यता रहिआएको छ । 

महाशिवरात्रिमा पशुपतिनाथ मन्दिरमा देशविदेशबाट लाखौँ भक्तजन आउने गर्छन् । हजारौँको सङ्ख्यामा साधुसन्तको आगमन पनि यस अवसरमा हुने गर्छ । पशुपति क्षेत्रमा फागुन लागेदेखि नै साधुसन्तको चहलपहल बढ्न थालेको छ । राजधानीका अन्य स्थानमा अहिले साधुसन्त बढी देखिन थालेका छन् ।

विशेष पूजा गर्नेको सङ्ख्या बढ्दै
कोषले पशुपतिनाथ मन्दिरमा महाशिवरात्रिको तयारी सुरु गरेसँगै विशेष पूजा गर्नेको पनि भीड बढ्न थालेको जनाएको छ । कोरोनाको तेस्रो लहर बढ्दै गएपछि माघ ५ गतेदेखि बन्द गरिएको पशुपतिनाथ मन्दिर माघ २८ गते शुक्रबारदेखि भक्तजनका लागि खुला गरिएको थियो । विशेष पूजा भने माघ २९ गते शनिबारदेखि सुरु भएको हो । 

माघ २९ गते पशुपतिनाथ मन्दिरमा विशेष पूजा सुरु भएपछि करिब एक हजारभन्दा बढी विशेष पूजा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । यो अवधिको विशेष पूजाबाट रु १६ लाख ८८ हजार ७०० नगद कोषमा जम्मा भएको प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए ।  

पशुपतिनाथ मन्दिरमा रु एक हजार १०० देखि रु २५ लाखसम्मको विशेष पूजा हुने गरेको छ । कोषले विशेष पूजाको रसिद काटेर पूजा गराउने विधि छ । विशेष पूजाबाट कोषलाई वार्षिक रु नौ करोडदेखि रु १० करोडसम्म आम्दानी हुने गरेको छ । आर्थिक वर्ष २०७५÷७६ मा विशेष पूजाबाट रु नौ करोड ४० लाख ९३ हजार १४५ आम्दानी भएको थियो । 

आव २०७६/७७ को चैतदेखि नै कोरोनाका कारण विशेष पूजा रोकिएको थियो । कोरोनाका कारण करिब नौ महिना मन्दिरसमेत बन्द भई विशेष पूजा रोकिँदा पनि त्यस आर्थिक वर्षमा रु छ करोड एक लाख ८९ हजार ४७५ आय भएको कोषले जनाएको छ । आव २०७७÷७८ मा पनि कोरोना जोखिम कायमै रहेकाले महाशिवरात्रिका अवसरमा मात्र विशेष पूजा सुरु गरिएको थियो ।

महाशिवरात्रिको तयारीमा १० उपसमिति
समितिअन्तर्गत १० वटा उपसमिति गठन गरेर तयारीका काम गरिएको हो । सुरक्षा व्यवस्था अनुगमन, प्रचारप्रसार व्यवस्था, दर्शन, चन्दन मन्दिर एवं रात्रिकालीन व्यवस्था, आवास, भोजन तथा भौतिक पूर्वाधार व्यवस्था, साधुसन्त तथा धार्मिक कार्यक्रम व्यवस्था, वातावरण तथा सरसफाइ जुत्ता चप्पल व्यवस्था उपसमिति गठन गरिएको छ ।   

यसैगरी स्वास्थ्य सेवा, मेला बजार तथा साजसजावट, स्वयंसेवक परिचालन र तथ्याङ्क तथा मूल्याङ्कन व्यवस्था गरी १० उपसमिति गठन गरी महाशिवरात्रिको तयारी पनि सुरु गरिएको प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए । कोरोना महामारीको तेस्रो लहर सुरु भएसँगै माघ ५ गतेदेखि सर्वसाधारणका लागि बन्द गरिएको पशुपतिनाथको मूल मन्दिर माघ २८ गते शुक्रबारदेखि खुला गरिएको थियो । मूल समितिअन्तर्गत गठन भएका उपसमितिले कामलाई तीव्रता दिएका छन् । सुरक्षा उपसमितिले बुधबार बैठक गरेर तयारीलाई अन्तिमरुप दिने जनाएको छ ।

धुनी जगाउन ३३ हजार किलो दाउरा
महाशिवरात्रिमा देश विदेशबाट भक्तजनको पशुपति क्षेत्रमा भीड लाग्ने गर्छ । महाशिवरात्रिमा पशुपति क्षेत्रमा आउने साधुसन्तको खाने, बस्ने एवं धुनीका लागि दाउराको व्यवस्था परम्परादेखि नै गुठी संस्थानले गर्दै आएको छ । यस वर्ष साधुसन्तका लागि धुनी जगाउन ३३ हजार किलो दाउराको व्यवस्था गरिएको संस्थानका अध्यक्ष पुण्यप्रसाद भुसालले जानकारी दिए ।  

संस्थानले धुनीका लागि पशुपति क्षेत्रका निर्मल, भष्मेश्वर, राममन्दिर, श्रीगोरखनाथ (मृगस्थली), अन्नपूर्णलगायत अखडामा दाउराको व्यवस्था गर्नेछ । यसैगरी नागाबाबाका लागि भने पशुपतिनाथको मूल मन्दिर परिसरमै धुनीको व्यवस्था गरिने जनाइएको छ । 

संस्थानले साधुसन्तको बिदाइका क्रममा गत वर्षभन्दा पारदर्शीरुपमा काम गर्ने पशुपति गोश्वारा कार्यालय प्रमुख सुशीला शर्मा घिमिरेले बताए । गत वर्षसम्म एकै जना साधुले मेरो समूहमा ३० जना छन् भनेपछि समूहकै दक्षिणा दिइन्थ्यो । यस वर्ष भने स्थलगतरुपमा अनुगमन गरेर व्यक्ति, व्यक्तिलाई दक्षिणा दिने व्यवस्था मिलाइएको छ ।

महाशिवरात्रिमा पशुपति क्षेत्रमा आउने साधुसन्तलाई तहअनुसार दक्षिणा दिने व्यवस्था परम्परादेखि रही आएको छ । यस वर्ष संस्थानले वरिष्ठ महन्तसँग अन्तरक्रिया एवं सम्मान कार्यक्रमसमेत आयोजना गर्ने भएको छ । यस्तो कार्यक्रम पहिलोपटक गर्न लागिएको संस्थानका अध्यक्ष भुसालले बताए । 

कोरोना महामारी कम भएकाले यस वर्ष महाशिवरात्रिमा पशुपति क्षेत्रमा सात हजार साधुसन्त आउने संस्थानको अनुमान छ । थापाथली त्रिपुरेश्वर क्षेत्रमा जनकपुरस्थित रामजानकी मन्दिरका महन्त रामरोशन दासको नेतृत्वमा सन्तहरु आएर बस्ने संस्थानले जनाएको छ । 

महाशिवरात्रिका अवसरमा यस वर्ष थापाथली क्षेत्रको वैरागी अखडाले तीनदिने महायज्ञको आयोजना गर्ने भएको छ । जानकी मन्दिरका महन्त रामरोशन दासको नेतृत्वमा पहिलोपटक महायज्ञ गर्न लागिएको हो । यज्ञ फागुन १५ गते सुरु भई फागुन १७ गते महाशिवरात्रिका अवसरमा समापन गर्ने तयारी भएको छ ।

थापाथली त्रिपुरेश्वर क्षेत्रका वैरागी, उदासी, सन्यासी र गोरखनाथ अखडामा आउने साधुसन्तका लागि संस्थानको केन्द्रीय कार्यालयले नै बस्ने, खाने एवं धुनी जगाउने व्यवस्था गर्ने भएको छ । यस क्षेत्रका अखडामा आउने साधुसन्तका लागि पनि संस्थानले परम्परादेखि नै खाने, बस्ने एवं धुनीको व्यवस्थापन गर्दै आएको छ ।

पशुपतिमा दुई वर्षपछि महाशिवरात्रि मेला
पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा लाग्ने एकहप्ते मेलाका लागि प्रतिस्पर्धाबाट कम्पनी छनोट गरेको छ ।

कोरोना महामारीका कारण दुई वर्ष रोकिएको मेला यस वर्ष भने सञ्चालन गरिने कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए । कोरोना सङ्क्रमण फैलने डरले विसं २०७६ र २०७७ मा मेला स्थगित गरिएको थियो । यस वर्ष भने कोरोनाबाट बच्न जारी स्वास्थ्य मापदण्ड पूरा गरेर सावधानीसाथ मेला सञ्चालन गरिने उनले बताए । 

महाशिवरात्रिको भोलिपल्ट अर्थात् फागुन १८ गतेदेखि एक हप्ता पशुपति क्षेत्रस्थित वनकालीमा मेला सञ्चालन गरिनेछ । मेलाका लागि सबैभन्दा बढी रकम कबोल गर्ने नेपाल मेला महोत्सव सञ्चालन सङ्घलाई रु १५ लाख १५ हजारमा मेला सञ्चालनको जिम्मेवारी दिइएको कोषले जनाएको छ । मेलामा बालबालिका एवं वयस्कका लागि पिङलगायतका खेलहरुका साथै विभिन्न सामग्रीको किनमेल पनि गर्न सकिने गरी कक्ष सञ्चालन गरिने जनाइएको छ ।

भक्तजनलाई कुनै समस्या हुन नदिन मन्त्री आलेको निर्देशन
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले महाशिवरात्रिको समयमा पशुपतिनाथमा देश विदेशबाट आउने भक्तजनलाई कुनै पनि कुराको समस्या हुन नदिन निर्देशन दिएका छन् ।  

पशुपति क्षेत्र विकास कोषका अध्यक्षसमेत रहनुभएका मन्त्री आलेले कोषका पदाधिकारीलाई पशुपतिमा आउने भक्तजनका लागि आवश्यक पर्ने सम्पूर्ण कुरा पूरा गर्न निर्देशन दिए । उनले भने, “भव्य र सभ्यरुपमा महाशिवरात्रि मनाउन सबै लागि परौँ, भक्तजनलाई कुनै पनि कुराको कमी नहोस् ।” 

पशुपतिनाथमा महाशिवरात्रि पर्वमा आउने भक्तजन भोकभोकै रातिदेखि लाइनमा बसेर बिरामी हुने भएकाले उनीहरुलाई उपचारका लागि तत्काल अस्पताल पुर्याउन एम्बुलेन्सको व्यवस्था मिलाउनसमेत मन्त्री आलेले समितिका पदाधिकारीलाई निर्देशन दिए । 

मन्त्री आलेले महाशिवरात्रि पर्व व्यवस्थापन तयारीमा कुनै कसर बाँकी नराख्न निर्देशन दिएका छन् । पशुपति क्षेत्रमा धार्मिक पर्यटकका लागि सबै सुविधा हुने गरी व्यवस्थापन गर्न मन्त्री आलेले कोषका पदाधिकारीलाई निर्देशन दिएका हुन् । पशुपति क्षेत्रमा सफाइ गर्न, शौचालयको राम्रो प्रबन्ध गर्न पनि उनले पदाधिकारीको ध्यानाकर्षण गराएका छन् । 

Advertisement

Advertisement