काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थान पनि आईपीओ ल्याउने तयारीमा लागेको छ । हालसम्म संस्थान ऐनअनुसार सञ्चालन हुँदै आएको राष्ट्रिय बीमा संस्थान कम्पनीमा रुपान्तरण भई आईपीओ ल्याउने तयारीमा लागेको हो ।
त्यसअघि संस्थानले लामो समयदेखि मिल्न नसकेको हरहिसाव मिलान गरेर लेखापरीक्षण सम्पन्न गर्ने र कम्पनीमा रुपान्तरण हुने योजना बनाएको छ । संस्थान नयाँ बीमा ऐन आएसँगै कम्पनीमा जानेछ । अरु बीमा कम्पनीहरु बीमा ऐन २०४९ अनुसार चल्दै आएकोमा राष्ट्रिय बीमा संस्थान मात्रै संस्थान ऐनअनुसार सञ्चालन हुँदा बीमा समितिलाई पनि नियमन गर्न कठिनाई हुँदै आएको थियो ।
समितिले पनि संस्थानलाई सकेसम्म कम्पनीमा लान पहिलेदेखि जोड दिँदै आएकोमा अब भने चाँडै नै रुपान्तरण हुने देखिएको छ । गत साता सम्पन्न बीमा संस्थानको वार्षिकोत्सवमा पनि समितिका अध्यक्ष सूर्य सिलवालले सकेसम्म चाँडै संस्थानलाई कम्पनीमा परिणत गर्ने बताएका थिए ।
संस्थानका सहायक प्रशासक कृष्णकुमार श्रेष्ठले कम्पनीमा रुपान्तरण भएपछि आफूहरुलाई थप व्यवसायिक र प्रतिस्पर्धीरुपमा काम गर्न सहज हुने बताए । उनले संस्थान छिट्टै कम्पनीमा जाने बताउँदै त्यसपछि अहिले प्रशासकको ठाउँमा प्रमुख कार्यकारी अधिकृत (सीईओ)ले व्यवस्थापन सम्हाल्ने, अर्थ मन्त्रालय र बीमा समिति कस्ले नियमन गर्ने भन्ने खालको समस्या पनि कम भई फरक ढंगले काम हुने बताए ।
श्रेष्ठले बीमा समितिले पनि संस्थानलाई कम्पनीमा जान पटक पटक सुझाव दिएको जानकारी दिँदै उनले अर्थ मन्त्रालयको पनि त्यही सुझाव रहेको बताए । आफूहरु कम्पनीमा गएको एक आर्थिक वर्षभित्र नमिलेको पूरानो सबै हिसाबकिताब सल्टाउनुपर्ने शर्त रहेको उनले जानकारी दिए ।
संस्थानले अहिलेसम्म आर्थिक वर्ष २०७५–७६ सम्मको अन्तिम लेखापरीक्षण सकिसकेको जानकारी दिएको छ । सरकारी संस्थान भएकाले लेखापरीक्षणमा संस्थानको सञ्चालक समिति, महालेखा परीक्षकको कार्यालय र बीमा समितिसँग सहकार्य गर्नुपर्ने बाध्यता रहेको सुनाउँदै श्रेष्ठले आर्थिक वर्ष २०६९–७०, २०७०–७१ र २०७१–७२ सम्मको लेखापरीक्षण महालेखा, संस्थानको सञ्चालक समितिबाट पास गरिसकेको जानकारी दिए ।
तर बीमा समितिले भने यी तीन आर्थिक वर्षको वित्तीय विवरणलाई स्वीकृत गर्न बाँकी रहेको श्रेष्ठको भनाई छ । समितिले स्वीकृत गरेसँगै तीन वटै आर्थिक वर्षको साधारणसभा गरिने उनले बताए ।
अहिले बीमा संस्थानको वार्षिक हिसाब किताबको एक्चुरियल भ्यालुयसन भारतको जेबिबोदा कम्पनीको एक्चुरीमार्फत भइरहेको छ । संस्थानमा ३४ वर्ष लामो अवधिसम्म सेवा गरिसकेका श्रेष्ठले कर्पोरेट नेपालसँग भने, ‘अब हामीले महिनामा एउटा आर्थिक वर्षको साधारण सभा गर्ने हो भने पनि कुनै समस्या छैन् ।’
उनले जसरी छिट्टै बीमा संस्थान कम्पनीमा जाने योजना बनेको छ, त्यत्तिनै छिटो सर्वसाधारण जनताका लागि साधारण शेयर बितरण गर्न योजना रहेको बताए ।