काठमाडौं । शेर्पा समुदायको परम्परागत स्याब्रु नृत्य तथा शेर्पा समुदायको गीतका साथै नेपाली गीतहरुको वृत्तचित्र मेरा पिक हिमाल (६,४७६ मिटर)मा छायांकन गरी विश्व रेकर्ड राख्न सफल आरोहण टोलीका १३ जना युवा सम्मानित भएका छन् ।
सोलुखुम्बुको महाकुलुङ गाउँपालिकास्थित मेरा पिक हिमालमा शेर्पा तथा नेपाली गीत संगीतको विश्व रेकर्ड कायम गरी गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम दर्ता गराउन सफल उनीहरुलाई शेर्पा इभेण्ट अर्गनाइजर संस्थाले सम्मान गरेको हो ।
संस्थाको पहिलो अधिवेशनकोमा नेपाल पर्वतारोहण संघले १३ जना युवालाई प्रमाणपत्र दियो । यो टोलीमा नुरु शेर्पा, दिकु शेर्पा, लाक्पा डोल्मा शेर्पा, आङ छिरिङ शेर्पा, कर्मा याङजी शेर्पा, मिङमा डोल्मा शेर्पा, डोल्मा शेर्पा, लाक्पा नोरगे शेर्पा, ग्याल्जेन शेर्पा, स्व. छेतेन शेर्पा, कुनसाङ शेर्पा, पासाङ टि शेर्पा र फुरदिकु शेर्पा छन् ।
‘हाइएस्ट अल्टिच्युट कल्चरल डान्स पफमेन्स अन ल्याण्ड’ म्युजिक भिडियोमा युगेन शेर्पासहित अन्य ७ जना सोलुका युवाहरु सहभागी भएका थिए । युगेन शेर्पा मिस्टर टिन् शेर्पा २०२१ का विजेता समेत हुन् ।
शेर्पा इभेन्टस अर्गनाइजरले आयोजना गरेका सो कार्यक्रममा १८ जना शेर्पा युवाहरुको सहभागिता रहेको सो संस्थाका अध्यक्ष नुरु शेर्पाले बताए । उनका अनुसार पवित्र हिमाल (केल्ह, युल्ह ,फोल्ह ,मोल्ह ,रुल्ह ,ड्ल्ह) र पहाडमा विभिन्न देउताहरु (जन्मदेव, भूमि संरक्षक देव, पितादेव, मातदेव, थरदेव, रक्षक) जस्ता महत्वपूर्ण प्रकृतिक शाक्तिका रुपमा बास बसेका देवताहरुलाई सम्मानपूर्वक पूजा गरी अशुद्ध हुनबाट जोगाउन, प्राकृतिक अपवित्रता हुन् नदिन अभियानसहित यो कार्यक्रम आयोजन गरिएको हो ।
अध्यक्ष शेर्पाले विश्व कीर्तिमान कायम गर्न आफूहरु महाकुलुब गाउँपालिकामा अवस्थित मेरा पिक हिमालमा अवस्थित ५८०० मिटर हाई क्याम्पमा पुगि छायाँङ्कन गरेका बताए ।
त्यसका साथै हिमालसँगको प्रगाढ नातालाई झल्काउदै ग्लोबल वार्मिङ न्यूनीकरण गरि प्रकृतिलाई सम्मान, माया गर्नुपर्छ भन्ने सन्देस विश्वसामु प्रवाह गर्नु पनि यो कार्यक्रम गरिएको जनाइएको छ । कोभिड–१९ ले निकै प्रभावित पर्यटन क्षेत्रलाई उकास्नको साथै पर्यटन प्रवर्द्धनमा मेरा पिक क्षेत्रको प्रचार प्रसार समेत हुने विश्वासका साथ उक्त कार्यक्रम गरेका अध्यक्ष शेर्पाले बताए ।
विश्व किर्तिमानीका लागि मेरा पिक आरोहणमा जानुअघि उक्त टिमका शेर्पा समुदायका यूवाहरुलाई प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको झण्डा हस्तान्तरण गरेका थिए ।
अधिवेशनबाट शेर्पा इभेण्ट अर्गनाइजर संस्थाको अध्यक्षमा मिङमार तेन्जिङ शेर्पा, उपाध्यक्षमा आङ पेम्बा शेर्पा, महासचिवमा आङ छिरि शेर्पा, कोषाध्यक्षमा दिकु शेर्पा, छिरिङ शेर्पा सदस्य, कर्मा याङजी शेर्पा सदस्य, बान्दि शेर्पा सदस्य, मिङमा शेर्पा सदस्य र डोल्मा शेर्पा सदस्य चयन भएका छन् ।