काठमाडौं । बीमा क्षेत्रको नियामक बीमा समितिले बीमाबारे जनतामा मात्रै नभएर सरकारी तहमै भ्रम रहेको ठहर गर्दै यस्तो भ्रम हटाउन आफूहरु लागिरहेको बताएको छ ।
समितिका कार्यकारी निर्देशक तथा प्रवक्ता राजुरमण पौडेलले मानिसहरुमा बीमा जागरण नै नपुगेको र सरकारी तहमा नै यसबारे भ्रम रहेकाले आफूहरुले बीमा जागरण बढाउने कुरालाई जोड दिएको बताए । उनले भने, ‘हामीले चालु आर्थिक वर्षमा सबै प्रदेशसम्म पुग्ने योजना बनाएका थियौं । अहिलेसम्म चार वटासँग अन्तरक्रिया गरिसक्यौं । बाँकीसँग पनि गर्दैछौं ।’
पौडेलले मानिसमा रहेको बीमा चेतनाकोस्तरसँग बीमाको पहुँच वृद्धि पनि सम्बन्धित हुने भन्दै पहिलो चरणमा बीमा जागरण अति आवश्यक रहेको बताए । सरकारी निकायमै रहेका बीमासँग सम्बन्धित भ्रमहरु हटाउने काममा आफूहरु लागेको उनले बताए ।
मानिसमा बीमा गर्न सजिलो तर भुक्तानी पाउन असजिलो हुन्छ भन्ने धारणा विकास हुँदै आएको पौडेलले बताए । यस्ता खालका भ्रमहरु हटाउन जनचेतनामूलक कार्यक्रमलाई प्राथमिकतामा राखेको उनले बताए । पौडेलले अर्को आर्थिक वर्षमा जोखिम र बीमाका बारेमा मानिसहरुका समस्यामा समन्वय गर्ने योजना रहेको बताए ।
बीमा जागरण बढाउने सन्दर्भमा समितिले बुधबार सुदूरपश्चिम सरकारसँग अन्तरक्रिया गरेको जनाएको छ । उक्त अन्तरक्रियामा समितिका अध्यक्ष सूर्य सिलवाल, सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टलगायत उपस्थित थिए ।
समितिका अध्यक्ष सिलवालले यसअघि समितिका कर्मचारी राजधानीमा मात्रै केन्द्रित रहेरभन्दा पनि दुर्गम ठाउँमा गएर बीमा चेतना बढाउन लाग्नुपर्ने बताएका थिए । उनले आफ्नो कार्यकालमा बीमा कम्पनीहरू व्यवसाय बढाउन पुग्नुभन्दा पहिला मानिसहरुलाई बीमाबारे बुझाउन जोड दिने बताएका थिए ।
सिलवालले भनेका थिए, ‘एउटा सानो प्लाटिकको कुर्सी र काठको टेबुल राखेर बीमा गराउन खोज्दा बीमा नै नबुझेको एउटा मानिसले के पत्याउँछन् ? त्यसैले अब सबैभन्दा पहिले मानिसमा बीमा भनेको के हो ? के कस्ता चिजको बीमा हुन्छ ? बीमा किन आवश्यक छ ? भन्ने कुरा बुझाउन आवश्यक छ ।’
सरकारले चालु आर्थिक बर्षमा बीमाको पहुँच ३३ प्रतिशत पुर्याउनुपर्ने लक्ष्य दिएको छ । समितिले सो लक्ष्य हाँसिल गर्नका लागि बीमा जागरणमा जोड दिएको कुराले राम्रो प्रतिफल दिने आशा लिएको छ ।