काठमाडौं । बीमा कम्पनीहरू पूँजी वृद्धिका लागि सकारात्मक देखिएका छन् । बीमा समितिले नयाँ बीमा कम्पनीहरुलाई तत्काल लाइसेन्स नदिने तर पूराना कम्पनीहरुलाई मर्जरमा लैजाने नीति लिन लागेका समाचारहरु आइरहेको बेला कम्पनीहरु हकप्रद शेयर निष्काशनमा सकारात्मक देखिएका छन् ।
समितिले नयाँ कम्पनी थप्ने तयारी गरेको समाचारहरु आएपछि कम्पनीहरुले थप्न नहुने तर पुँजी बढाउन आफूहरु सकारात्मक रहेको बताएका हुन् । बीमा कम्पनीहरुले संख्यात्मक विकासभन्दा पनि गुणात्मक विकासमा जोड दिनुपर्ने उनीहरुको तर्क छ । तत्कालका लागि हकप्रद शेयरमा राम्रो आकर्षण रहेको भन्दै कम्पनीहरूले उक्त बाटो समितिले खुल्ला गरे हुने बताउँछन् ।
समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले मिठो फल खाने इच्छा जस्को पनि हुन्छ भन्दै कम्पनीले चाहे भन्दैमा पुँजी बढाउन सहजीकरण गर्ने भन्दा पनि मर्जरमा जोड दिने बेला आएको बताए ।
सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा बीमक संघका अध्यक्ष चंकी क्षेत्री तत्काल पुँजी बढाउन कुनै समस्या नरहेको बताउँछन् । तर उनले नयाँ बीमा कम्पनीलाई लाइसेन्स दिने विषयमा बीमा बजारको आकार हेरेर मात्रै निर्णय गर्नु उचित हुने बताए ।
क्षेत्रीको भनाईः
अहिले बीमा समितिले जोखिममा आधारित पूँजीको पनि कुरा गरिरहेको छ । मलाई अहिलेसम्म जोखिममा आधारित पुँजीको व्यवस्था राम्रो हो कि कम्पनीको पूँजी बढाउनु नै ठिक हो भन्नको लागि केही अध्ययन गर्न बाँकी नै छ जस्तो लाग्छ । यो विषयमा पछिल्लो समय चर्चा बढ्न थालेको छ ।
अब यतिसम्म पूँजी पुर्याउने भनेर बीमा समितिले एउटा मापदण्ड तोक्ने र सोही आधारमा कम्पनीले पनि तयारी गर्दा राम्रो हुने देखिन्छ । गर्ने पनि त्यही हो । अहिले नै राइट शेयर (हकप्रद शेयर)को बाटो खुलाउने हो भने बीमा कम्पनीहरू पुँजी थप्न तयारै भएर बसिरहेको अवस्था छ । नेपालकै कुरा गर्दा राइट शेयरमा राम्रो आकर्षण रहेको देखिन्छ ।
शेयर बजारमा सय रूपियाँ लगानी गर्दा ह्वात्तै बढ्छ भन्दै लगानीकर्ता आकर्षित हुँदै आएका छन् । अहिले त बीमा कम्पनीको राइट शेयर आयो भने जनताले जग्गा बेचेर पनि लगानी गर्न तयार रहेको जस्तो देखिन्छ । अहिलेको बजारको आकार हेर्दा तत्कालै नयाँ कम्पनी थपिहाल्नुपर्ने अवस्था देखिदैन । यसमा बीमा समितिले पनि आफ्नो अध्ययन गरेकै होला ।
अहिले निर्जीवन बीमा कम्पनीहरुले २२ अर्ब रूपियाँको हाराहारीमा व्यवसाय गरिरहेका छन् । आगामी वर्ष ४० अर्ब रूपियाँ पुग्न सक्छ । बीमा कम्पनी थप्ने कुरा बजारको आवश्यकताअनुसार गरिनुपर्ने कुरा हो । तत्काका लागि बीमा कम्पनीहरूको संख्या बढाउन ताकेता गर्नु जरुरी छैन् ।