श्वेताश्वतरोपनिषद्– जब अज्ञान हट्छ, तब न सत् रहन्छ, न असत्

Advertisement

शिरीषवल्लभ प्रधान

वेदान्त दर्शनमा ईश्वरको शक्तिलाई माया भनिएको छ । र महेश्वरले आफ्नो मायाशक्तिव्दारा नाना प्रकारका सुष्टि रचना गर्नुहुन्छ भनिएको छ । त्यस्तै त्यहाँ भनिएको छ,

Advertisement

मायां तु प्रकृतिं विद्यान्मायिनं तु महेश्वरम् ।
तस्यावयवभूतैस्तु व्याप्तं सर्वमिदं जगत् ।। (श्वेता.४.१०)

प्रकृतिलाई माया भनेर जान र महेश्वरलाई मायावी । त्यसैको कार्यकारणव्दारा यो सम्पूर्ण जगत व्याप्त छ । त्यस मायावी परमेश्वरले डोरिमा कल्पित सर्प जस्तै गरी यस भूलोक अर्थात जगतलाई व्याप्त गरिराखेको छ । यहाँ शिव अथवा महेश्वरलाइै नै परमात्माको स्वरुप भनी व्याख्या गरिएको छ । उपनिषद्को भाष्यमा शंकराचार्य भन्छन्, ‘शिव भन्नाले शुध्द चैतन्यस्वभावका परमात्मा नै बुझिन्छ । त्यो अविद्या आदि विकल्परहित तथा अक्षर अर्थात् कहिल्यै क्षय नहुने नित्य स्वभावको हुन्छ ।’

आत्मा र परमात्माबारे ज्ञान प्रदान गर्न सो उपनिषद्को एक सुन्दर श्लोक, अत्यन्त पठनीय भएकोले यहाँ उल्लेख गरिन्छः

व्दा सुपर्णा सयुजा सखाया
समानं वृक्षं परिक्षस्वजाते ।
तयोरन्यः पिप्पलं स्वाव्दत्य
नश्नन्नन्यो अभिचाकशीति ।। (श्वेता.४.६)

सदैव परस्पर मिलेर बस्ने दुई सखा समान सुपर्णा अर्थात् सुन्दर पंक्षी एउटै वृक्षको आश्रयमा बस्छन् । त्यसमा एकले त्यो वृक्षको स्वादिष्ट फल चाख्छ भने अर्को चाहीं त्यसलाई नभोगिकन केवल हेरेर बस्छ । यहाँ पहिलो पंक्षी जीवात्मा हो, जो कर्मफलको उपभोग गर्छ र बन्धनमा पर्छ भने अर्को चाहीं परमात्मा केही भोग नगरिकन केवल साक्षी भाव लिएर बस्छ र स्वतन्त्र विचरण गर्छ । 
अज्ञानको अन्त्य हुनु नै परमात्मा प्राप्तिको क्षण भएको वर्णन गर्दै उपनिषद्मा अगाडि भनिएको छः

यदातमस्तन्न दिवा न राधि
र्न सन्न चासन्छिव एव केवलः ।
तदक्षरं तत्सवितुर्वरेण्यं
प्रज्ञा च तस्मात्प्रसउता पुराणी ।। १८ ।।

जुन वखत अज्ञान रहंदैन, त्यसबखत न दिन रहन्छ न रात्रि । न सत् रहन्छ, न असत्, एकमात्र शिव रहन्छ । त्यस अविनाशी र आदित्यमण्डलाभिमानी देव भजनीय छ र त्यसैबाट पुरातन प्रज्ञ अर्थात् गुरु परम्परागत ज्ञान प्रसार भएको छ । जब ज्ञानरुपी अगिलने अज्ञान भष्म हुन्छ, तब दिन र रात्रिबीच कुनै भेद हुंदैन र त्यसबखत न सत् अर्थात् नामरुप सहितको व्यक्त विश्व रहन्छ न असत् अर्थात् अभाव अर्थात् शुन्य नै रहन्छ भन्ने अर्थ यहाँ बुझिन्छ । शिवको व्याख्या गर्द शंकराचार्य लेख्छन् अज्ञान नष्ट भएपछि शिवतत्व अर्थात् केवल शुध्दस्वभाव भएको परमात्मा मात्र बाँकी रहन्छ ।
त्यस्तै अर्को श्लोकमा महेश्वरको मायाव्दारा कसरी संसार सृष्टि हुन्छ भन्ने बुझाउन यस्तो व्याख्या गरिएको छः

मायां तु प्रकृतिं विद्यान्मायिनं तु महेश्वरम् ।
तस्यावयवभूतैस्तु व्याप्तं सर्वमिदं जगत् ।।

जगतको कारणलाई प्रकृति अर्थात् ईश्वरको माया शक्ति भनी बताइएको छ । महान् ईश्वर अर्थात् महेश्वर मायावी अर्थात् मायालाई उत्पन्न गर्ने हुन् । त्यो मायालाई अभिप्रेरित गर्ने शक्ति नै महेश्वर अर्थात् मायावी हुन्, जसको अवयवभूत कार्य करणसंघात व्दारा यो सारा जगत व्याप्त छ, उपनिषद्ले भन्छ ।
महेश्वरको महिमा गाउंँदै उपनिषद्मा भनिएको छ,

तमीश्वराणां परमं महेश्वरं
तं देवतानां परमं च दैवतम् ।
पतिं पतीनां परमं परस्ता
व्दिदाम देवं भुवनेशमीड्यम् ।।६.७।।

ईश्वरहरुको पनि परम् ईश्वर, देवताहरुको परम् देवता, पतिहरुको पनि पति अर्थात् प्रजापतिहरुको पनि मालिक, अव्यक्तादि अर्थात् प्रकृति भन्दा पर तथा विश्वका अधिपति मानिने त्यस स्तुतीयोग्य देवलाई म जान्दछु । अन्त्यमा, ती समस्त लोकपाल, प्रजापतिहरुको पनि मालिक, अक्षरभन्दा पर भुवनहरुको ईश्वर देवताहरुको पनि स्तुतीका पात्र त्यस प्रकाशस्वरुप परमात्मालाई म जान्दछु भनी ब्रह्मज्ञानीले ज्ञान प्राप्त भएपछि घोषणा गर्छन् ।

(यो लेखको अंग्रेजी संस्करण द नेपाल विक्लीमा हेर्न सकिन्छ)

Advertisement

Advertisement