सबै विपद्का घटनालाई जलवायु परिवर्तनसँग जोड्ने गलत प्रवृत्ति बढ्योः डा. अधिकारी

Advertisement

काठमाडौं । इन्जिनियरिङ अध्ययन संस्थान, विपद् अध्ययन केन्द्रको निर्देशक डा. वषन्तराज अधिकारीले वैज्ञानिक आधार विनाका सरकारका नीति र अन्तर निकाय समन्वय अभावका कारण विपद्जन्य घटनाबाट ठूलो हानी नोक्शानी व्यहोर्नुपरेको बताएका छन् । 

नानसँगको कुराकानीमा उनले कुनै पनि प्राकृतिक प्रकोप अथवा विपदलाई रोक्न नसकिने भए पनि प्रभावकारी पूर्वतयारी र विपद प्रतिकार्यबाट हानी नोक्शानीलाई कम गर्न सकिने बताए । 

Advertisement

तर त्यसका लागि अन्तर सरकारी निकायबीच आवश्यक समन्वय हुनुपर्ने अधिकारीको तर्क छ ।
उनले भने, ‘अन्तर निकायबीचको समन्वय भएन विपद व्यवस्थापनमा भनेर विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरण बन्यो । त्यसको काम नै विश्वविद्यालय, संघ,संस्थाहरु, नेपाल सरकारसँग भएका निकायहरुलाई समन्वय गरेर वृहत्तर विपद व्यवस्थापनको जोखिम न्यूनिकरण गर्ने हो अथवा विपद व्यवस्थापन गर्ने हो । तर एक अर्का निकायबीचको समन्वय नभएको देखिन्छ । हामीले साइन्स बेस डिसिजन मेकिङ प्रोसेस अथवा इभिडेन्स बेस डिसिजन मेकिङ प्रोसेस हुनुपर्छ भनिरहेका छौँ । तथ्यगत आधारमा नीति बन्नुपर्छ । विश्वविद्यालयतहमा भएका अध्ययनका तथ्यहरुलाई राज्यले नीति निर्माणको तहमा लागू गरेको देखिँदैन ।”

उनले विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन सम्बन्धी ऐन बन्नु र छुट्टै निकाय गठन हुनु कोशेढुंगा सावित भएको उल्लेख गरे । त्यसैगरी विपद् व्यवस्थापनमा सुरक्षा, कामकारबाही, विश्वविद्यालय तहमा भएका अध्ययन तथा नेपाल सरकारका नीति, ऐन, कार्यक्रम, निर्देशिका, कार्यादेश, रणनीतिहरु लगायतले नेपाल दक्षिण एशियामा नै निकै राम्रो अवस्थामा रहेको भएपनि सरकारबीचको समन्वय भने अझै अभाव रहेको अधिकारीले टिप्पणी गरे । 

उनले भने, ‘नेपालमा विपद् व्यवस्थापनमा हेर्ने हो भने पहिलाभन्दा निकै नै राम्रोसँग आगाडि बढेको देखिन्छ । सन् २०१७ मा कानून बनायौं । त्यो नेपालको विपद् व्यवस्थापनको एउटा कोशेढुंगा हो । विपद् व्यवस्थापनमा हाम्रो सुरक्षा, कामकारबाही, विश्वविद्यालय तहमा भएका अध्ययन तथा नेपाल सरकारका नीति, ऐन, कार्यक्रम, निर्देशिका, कार्यादेश, रणनीतिहरु हेर्दा हामी कानूनी हिसावले दक्षिण एशियामा नै निकै राम्रो अवस्थामा छौँ । तर विपद् व्यवस्थापनमा केन्द्रिय सरकार र स्थानीय सरकारबीच राम्रो समन्वय हुन सकेको छैन ।’

उनले पछिल्ला दिनहरुमा सबै विपद्का घटनालाई जलवायुजन्य घटना भनेर हल्ला टिप्पणी हुने गरेको उल्लेख गर्दै पर्याप्त तथ्य बिना सबै कुराहरु जलवायु परिवर्तनका कारण भएका हुन भन्ने भाष्य निर्माण गर्नु सही नहुने तर्क गरे । प्रधानमन्त्री ओलीले सोमबार अमेरिकाबाट फर्किने क्रममा त्रिभुवन विमानस्थलमा जलवायु परिवर्तनका कारण बाढी पहिरो जस्ता घटना भएको तर्क गरेका थिए । यो प्रवृत्ति गलत भएको अधिकारीको भनाई छ  

उनले भने, ‘सबै कुराहरु जलवायु परिवर्तनका कारण भएका हुन भन्ने भाष्य निर्माण गर्नु सही होइन । हाम्रो हिमालय पर्वतमा हुने सम्पूर्ण क्रियाकलापहरुलाई जलवायु परिवर्तन नै हो भनेर ठोकुवा गर्न वैज्ञानिक तथ्यहरुको आवश्यक्ता पर्दछ । अन्तर्राष्ट्रिय रुपमा यो जलवायु परिवर्तनको कारणले भएको हो भन्न तथ्यको विश्लेषण हुनुपर्छ । मेलम्चीको बाढीलाई हेर्ने हो भने जलवायु परिवर्तनका कारण भएको हुन सक्ला । तर जुन ठाउँबाट सेग्मेन्टहरु आयो, त्यहाँ कसरी आयो भन्ने कुरा अहिले पनि हामीले अनुमानको आधारमा भनिराखेका छौं । गोर्खाको वीरेन्द्र तालको सवाल पनि त्यस्तै छ । त्यो ताल फुटेको होइन । पानी मात्रै बाहिर आएको हो । माथिको हिमनदी फुटेर तालमा खस्यो । हेर्दाखेरी चाहीँ तापक्रम वृद्धिले गर्दा हिमनदी फुटेजस्तो देखिन्छ । तर त्यहाँ हाम्रो तापक्रम नाप्ने स्टेशन छैन । तर त्यो प्रक्रिया चाहीँ जलवायु परिवर्तनको कारण भएको भन्न सकिन्छ । थामेकै उदाहरण हेर्ने हो भने पनि त्यहाँ अरु त कुनैपनि कारण देखिएको छैन । हिमालमा हिउँ पग्लियो अनि तालमा पानी बढी भयो । सन् २०१५ को लामटाङ घटना बारे केही समय अघि एउटा अध्ययन प्रकाशित भएको छ । अध्ययनले २०७२ सालको भूकम्प अगाडि नै त्यहाँ तापक्रम बढेर एक प्रकारको परिर्वतन आएको थियो र भूकम्पले अझ बढी जोखिम ल्याईदियो भन्ने देखाउँछ । त्यसैले यस्ता घटना चाँही जलवायुजन्य प्रकोप नै हो भन्न सकिन्छ तर सबै कुराहरुलाई जलवायु परिर्वतनकै कारण भएको भन्न चाहीँ सकिँदैन ।’

Advertisement

Advertisement