एउटा दलले महाधिवेशन गर्दा पनि खुशी हुनुपर्ने अवस्थामा होटल व्यवसायी छन्ः महत

Advertisement

काठमाडौं । होटल संघ नेपाल (हान)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) टेकेन्द्र बहादुर महतले कुनै दलले जिल्लामा आफ्नो महाधिवेशन गर्दा पनि खुशी हुनुपर्ने अवस्थामा होटल व्यवसायी रहेको बताएका छन् । 

कर्पोरेट नेपालसँगको कुराकानीमा उनले कोभिड महामारी र त्यसलाई नियन्त्रण गर्ने भनेर लागू गरिएको लकडाउन र निषेधाज्ञाले होटलसहित समग्र पर्यटन क्षेत्र थला परेको अवस्थामा दलहरुले आफ्नो महाधिवेशन गर्दा पनि रमाउनुपर्ने अवस्थामा व्यवसायी रहेको सुनाए । 

Advertisement

महतले भने, ‘एउटा पाटीको महाधिवेशन पर्यटन क्षेत्रमा हुँदा धेरै व्यवासायीहरु हौसिनु भयो । अहिलेको विषम परिस्थितिमा त्यस्ता खालका अरु कार्यक्रमहरु विभिन्न ठाउँमा भइदिए व्यवसायीहरु कति खुसी हुन्थे ! उनीहरुमा हौसला बढ्छ ।’

पर्यटन क्षेत्रलाई पुनःस्थापित गर्न गुरुयोजना नै बनाएर अघि बढ्नु जरुरी रहेको भन्दै उनले नेपालमा कुन ठाउँमा लगानी गर्नुपर्छ ? कुन ठाउँमा होटल खोल्नुपर्छ ? स्थानीय सरकारले के गर्नु पर्छ ? राहत सहुलियत दिएर हुन्छ कि के गरेर हुन्छ ? कार्ययोजना बनाएर काम गर्नु जरुरी रहेको बताए । 

महतले भने, ‘व्यवासायीहरुलाई विकास हुने ठाउँतिर लगानी गर्न लगाउनु पर्छ । १५ वर्ष कर छुट दिएर हुन्छ कि ? के गरेर हुन्छ, सरकारले ध्यान दिनुपयो । अहिले गाउँ–गाउँमा महिलाहरुले होमस्टेको विकास गरेका छन् । त्यसलाई कसरी अझै बढाउने ? युवाहरु जो विदेशिन तम्सिएका छन्, उनीहरुलाई पर्यटन क्षेत्रमा पनि सम्भावना छ भनेर प्रोत्साहित गर्नुपर्यो । नेपालमा करिब ७० वटा पर्यटनसम्वन्धी कलेजहरु छ । त्यहाँबाट उत्पादित जनशक्तिलाई सकेसम्म नेपालमै काम गर्ने वातावरण सरकारले बनाइदिनुपर्यो ।’ 

कोडिभले अरुभन्दा पर्यटन व्यवसाय अत्याधिक मर्कामा परेको सुनाउँदै उनले ३४ वर्षको अवधिमा सन् २०२० मा पर्यटक आगमन ८० प्रतिशतभन्दा बढीले घटेको, २०२१ मा ९५ प्रतिशतले घटेको बताए । पछिल्लो समयमा भने पर्यटक आगमनमा नगन्य सुधार देखिनथालेको महतले बताए । 

उनले आतिथ्य र पर्यटन क्षेत्रमा लगानी करिब १० खर्ब रहेको र त्यसबाट राजस्व करिब २४० अर्ब संकलन हुने गरे पनि राजश्व बुझाएअनुसार सरकारबाट भने यो क्षेत्रले सुविधा पाउन नसकेको गुनासो गरे । 

नेपालमा रहेका होटलहरुमध्ये ठूला र मध्यमस्तरका होटल हानमा आवद्ध छन् भने साना र मध्यमस्तरका होटल महासंघमा आवद्ध छन् । हानमा मात्रै तीन सय जति होटल सदस्य रहे पनि देशभरी तीन हजार पाँच सय होटलहरु रहेको बताए । यीमध्ये १७ ओटा पाँच तारे होटल छन् । 

सीईओ महतका अनुसार कोभिड महामारीले करिब ५ प्रतिशत होटलहरु सदाका लागि बन्द भएको, कतिपयले चलाउन नसकेर अरुलाई बिक्री गरेका छन् । कतिपयले भने कोभिड चाँडै अन्त्य हुने आशामा घाटै सहेर नवीकरण गर्दै बसेको उनले सुनाए । होटल मात्रै नभएर ट्रेकिङ, टुर जस्ता व्यवसाय पनि करिव १७ सदाका लागि बन्द भएको महतले जानकारी दिए । 

उनले भने, ‘होटलमा ठूलो लगानी लाग्ने भएकाले व्यवसायीले घटा सहेर पनि फेरि पर्यटन गतिविधि लयमा फर्किने आशामा ऋण धन खोजेर टिकिरहेका छन् । केही नयाँ होटलहरु निर्माणको  क्रममा छन् । हानमा पनि सदस्यता लिनेको संख्या बढेछ ।’ 

कोभिड महामारीको समयमा हान र मजदुर यूनियनबीच सहमति भएअनुसार काम दिन नसके पनि आफ्ना कमचारीलाई होटलको स्तरअनुसार न्यूनतम रु चार हजार तीन सयदेखि अधिकतम रु १० हजारसम्म मासिक पारिश्रमिक दिइरहेको छ । पर्यटन क्षेत्रमा प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा संलग्न कर्मचारी र श्रमिक करिब १० लाख रहेको अनुमान छ । 

पर्यटन क्षेत्र पुनःस्थापनाका लागि विशेष प्याकेज ल्याउन आफूहरुले बैंकिङ क्षेत्रदेखि नेपाल राष्ट्र बैंक र सरकारसम्मलाई आग्रह गरेको स्मरण गर्दै महतले तर अपेक्षा अनुसार राहत प्याकेज आउन नसकेको र घोषणा भएका कुरा पनि कार्यान्वयन हुन नसकेको बताए । 

उनले भने, ‘आन्तरिक पर्यटन प्रवद्र्धनलाई पनि ध्यान दिनुपयो। नेपालको पर्यटन क्षेत्र दीगो हुनुपयो । सधैं विदेशी पर्यटकमा मात्रै भर पर्दा दुःख पायौं । जस्तो सामान्य अस्पतालको वार्डमा भएको बिरामीलाई हेर्ने दृष्किोण र आईसीयूमा भएको बिरामी एउटै हुँदैन् । तर सरकारको दृष्टि फरक देखिएन् । पर्यटन क्षेत्र भनेको आईसीयूमा भएको बिरामी हो ।’

कोभिडको प्रभाव चाँडै अन्त्य हुने आशामा पर्यटन व्यवसायीहरु तयारीमा लागेको महतले सुनाए । उनले व्यवसायीहरु पर्यटन व्यवसायबाट विस्थापित नहोस भन्नका लागि उनीहरुमा आशा जगाउने काम सरकार र सरकारका सम्वन्धित निकायले गर्नु जरुरी रहेको उनले बताए । महतले कहाँ पूवाधार बनाउने ? कुन उत्पादनहरु कसरी चल्छन् ? यस्ता कुरामा अन्तरक्रिया कार्यक्रम गरेर सहकार्य गरे मात्रै पर्यटन विकास हुने बताए ।

Advertisement

Advertisement