काठमाडौं । बीमा समितिले राष्ट्रिय बीमा कम्पनीले परेको दाबीको यथासिघ्र भुक्तानी गर्नुपर्ने बताएको छ । कम्पनीमा ३१ वटा दाबी परेको र त्यसको भुक्तानीमा ढिलाई भएको पाइएपछि समितिले यथासिघ्र भुक्तानी गर्न भनेको हो ।
तत्कालिन आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीको सक्रियतामा २०७६ चैत १ देखि कर्णालीका १७ लाख ७४ हजारको बीमा गरिएको थियो । उक्त बीमा राष्ट्रिय बीमा कम्पनीबाट भएको थियो । कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीको सक्रियतामा बीमा नवीकरण हुने क्रममा छ ।
तर, राष्ट्रिय बीमा कम्पनीले दावी भुक्तानी नदिने भन्ने कुरा हुँदैन भन्दै तर बीमा पोलिसिले बोलेअनुसार भएनभएको हेरेर भुक्तानीका लागि प्रक्रियामा रहेकाले केही ढिलाई भएको हुनसक्ने बताएको छ । कम्पनीका मुख्य व्यवस्थापक सुभाष कोइरालाले कर्पोरेट नेपालसँग भने, ‘हामीले नतिरेको होइन् । दाबीहरु तिर्ने प्रक्रियामा रहेका छन् । यसको समाधान छिट्टै हुनेछ ।’ उनले थपे, ‘बीमा पोलिसिले बोलेको कुरा हामीले रोकेको छैनौ । अहिले केही प्रक्रियाकै कारण समय लाग्ने गर्छ । त्यही समयलाई आधार बनाएर दाबी भुक्तानी दिँदैन भनिएको हुनसक्छ । हामी दिन्छौं ।’
कोइरालाले कुनै पनि हिसाबले आफूहरु दाबी भुक्तानी नदिने पक्षमा नरहेको बताए । स्थानीय सरकारले गरेका बीमा पनि पोलिसिको दायरामा रहे मात्रै पैसा दिने हो भन्दै उनले तर १७ लाख जनताको बीमामा जुुनसुुकै कारणले मृत्यु भएमा बीमाले पैसा दिँदैन भने । पोलिसिमा लेखिएअनुसार बीमितको मृत्यु भएमा पैसा दिन कुनै समस्या नरहेको कोइरालाको भनाई छ ।
यता बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले भने दावी भुक्तानी विना कारण रोकाउन नमिल्ने बताए । उनले भने, ‘विपद व्यवस्थापनमा दाबी परेको छ । दाबी परेपछि त्यहाँबाट कभर हुनेजति दाबी भुक्तानी छिट्टै गर्नुपर्छ । दाबी भुक्तानी जति छिटो गर्यो त्यति राम्रो हो । तर सरकारले नै गराएको बीमा भन्दैमा नपाउने दाबी दिन मिल्दैन । पाउने दाबी दिन ढिला सुस्ती गर्नु पनि त्यति राम्रो होइन् । कागज पत्र हेरेर जे जति पाउने हो, त्यति दिइहाल्नु राम्रो ।’
पौडेलले १०७ जनाको दाबी परेको र बीमा कम्पनीले दाबी भुक्तानीमा ढिलासुस्ती नगरी भुक्तानी छिटोछरितो गर्नुपर्ने बताए ।