धरानमा ‘इस्ट टुरिजम मार्ट’, सीमा क्षेत्रमा भारतीय पर्यटकलाई आकर्षित गर्ने उद्देश्य

Advertisement

काठमाडौं । आन्तरिक तथा सीमा (क्रसबर्डर) क्षेत्रको पर्यटन प्रर्वद्धनका लागि नेपाल पर्यटन बोर्डको प्रवर्द्धन तथा धरान उपमहानगरपालिकाको आयोजनामा शुक्रवारदेखि धरानमा तीन दिने ‘इस्ट टुरिजम मार्ट’ शुरु भएको छ । 

मार्टको उद्घाटन गर्दै प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले पर्यटन आर्थिक विकासको आधार भएकाले यसको प्रवर्द्धन आवश्यक रहेको बताए । उनले प्रदेश १ मा पर्यटनको प्रचुर सम्भावना रहेको बताउँदै यस्ता मार्टले आन्तरिक तथा सीमा पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने बताए । 

Advertisement

धरान नगरपालिकाका प्रमुख तिलक राईले धरानलाई पूर्वको पर्यटनको गेटवेका रुपमा विकास गर्न सकिने बताए । धरान उपमहानगरपालिकाका उपप्रमुख मञ्जु भण्डारीले धरान उपमहानगरको सहयोगमा सन् २०१८ देखि नै मार्ट आयोजना हुँदै आइरहेको उल्लेख गर्दै इष्ट टुरिजम मार्ट २०२२ यसको तेस्रो संस्करण भएको जानकारी दिइन् । 

नेपाल पर्यटन बोर्डका सदस्य कृष्ण शाहले सिमित स्रोत र साधनका बीच पर्यटन बोर्डले आन्तरिक पर्यटन प्रवर्द्धनका विभिन्न कार्यक्रम आयोजना गरेको बताए । बोर्डले सातै प्रदेशमा यस्ता मार्टहरुको आयोजना गर्न गइरहेको उनले जानकारी दिए । 

फागुन २६, २७ र २८ गते वेस्टर्न टुरिजम मार्ट सम्पन्न गरिएकोमा धनगढी उपमहानगरपालिकासँगको सहकार्यमा धनगढीमा यही चैत्र २५, २६ र २७ गते फारवेष्ट ट्राभल मार्ट आयोजना गर्न लागिएको समेत जानकारी दिए । 

बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले कोभिडले थलिएको पर्यटनलाई विस्तारै लयमा फर्काउन आन्तरिक तथा सीमा क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि बोर्डले मार्टको आयोजना गरिरहेको जानकारी दिए । 

नेपालका विभिन्न प्रदेशका पर्यटन व्यवसायीहरूको व्यवसायिक गतिविधिहरुको विकास, विस्तार र अन्तर्राष्ट्रिय स्रोत–बजारका टुर अपरेटरहरूसँग व्यवसायिक सम्बन्ध स्थापित गर्न प्रत्येक प्रदेशमा ‘प्रादेशिक ट्राभल मार्ट‘को आयोजना गर्ने नेपाल पर्यटन बोर्डको चालु आर्थिक बर्षको नीति तथा कार्यक्रम अनुरुप यी कार्यक्रमहरु सञ्चालन गरिएको उनले जानकारी दिए । 

इष्ट टुरिजम मार्टका संयोजक भवेषकुमार श्रेष्ठले अन्तर्राष्ट्रियरुपमा प्रचार प्रचार गर्ने उद्देश्यका साथ धरानमा यो मार्ट आयोजना भइरहेको भन्दै यसले समग्र पर्यटनलाई चलायमान बनाउन सहयोग पुग्ने बताए । धरानमा आयोजित मार्टमा भारतको सिलगुडी तथा विहार लगायतका सीमा क्षेत्रबाट भारतीय टावल व्यवसायीहरुको सहभागिता रहको छ । 

मार्टको दोस्रो दिन आज शनिवार सिमावर्ती भारतीय शहरका टुर अपरेटरहरुलाई बायरको रुपमा सहभागी गराई नेपालका टुर अपरेटर, होटेल व्यवसायी तथा पर्यटन सेवा प्रदायकहरुबीच यस क्षेत्रका टुर प्याकेजहरु बिक्री प्रवद्र्धन गर्ने विषयमा व्यवसायिक अन्तरक्रिया हुने जनाइएको छ । 

Advertisement

Advertisement