काठमाडौं । बीमा समितिले एकैपटक डेढसय प्रतिशतले पुँजी बढाउनुपर्ने बाध्यकतारी व्यवस्था गरेर मर्जरमा जान दबाब सिर्जना गरेसँगै बीमा कम्पनीहरु अन्योलमा परेका छन् ।
जीवन बीमा कम्पनीहरुलाई ठूलो चिन्ता मर्जरमा गएपछिको बोनस दर के हुने ? भन्ने कुराले बढाएको देखिएको छ । पुँजी वृद्धि र मर्जर प्रक्रियाका कारण बोनस दर हेरफेर हुने र बीमितहरुमा ठूलो असन्तुष्टी पैदा हुने भन्दै उनीहरुले चिन्ता प्रकट गर्न थालेका छन् ।
यता नियामक बीमा समितिले पुँजी वृद्धिका क्रममा फोर्स मर्जरको कुरा नगरे पनि तोकिएको पुँजी पर्याउन मर्जर नै उपयुक्त विधि भएको औंल्याएको छ । अधिकांश कम्पनीहरुले मर्जरमा जाने प्रस्ताव आफ्नो साधारण सभाबाट पारित गरे पनि मर्जर गराहाल्न भने मानसिकरुपमा तयार देखिन्नन् ।
जीवन बीमा कम्पनीहरुले अहिले एउटा कम्पनीले दिइरहेको बोनस दर अर्को कम्पनीको बोनस दरभन्दा फरक रहेको कारण यति मर्जरमा नै जानुपर्ने अवस्था आउँदा सबै कुरा मिल्दै गए पनि बोनस दरले समस्या आउनसक्ने सम्वन्धित कम्पनीका सीईओहरु बताउँछन् ।
एक सीईओले भने, ‘कम्पनीहरु मर्जरमा जान तयार रहे पनि भोलि धेरै बोनस दिइरहेका कम्पनी र थोरै दिइरहेका कम्पनीबीच सहमति जुट्न सहज छैन् । अहिले जति सहज सोचे पनि । मर्जरमा जाने संभावना भनेको एउटा अब्बल र राम्रो बोनस दर दिइरहेको र अर्को कमजोर कम्पनीबीच हुने हो ।’ बोनस दरकै कुराले सञ्चालकदेखि अभिकर्तासम्ममा विवाद आउनसक्ने र बीमितले समेत विरोध सुरु गर्नसक्ने उनले बताए ।
बीमा कम्पनीहरुले दिएको जानकारी अनुसार निर्जीवन बीमा कम्पनीको अधिकांश बीमा वार्षिकरुपमा गरिन्छ । क्षति भएको अवस्थामा बीमितले बीमांक पाउँछन । त्यस्तै, क्षति नभएको अवस्थामा बीमाको जोखिम अवधि सकिन्छ र त्यसमा ग्राहक सन्तुष्ट हुने ठाउँ पनि छ । तर, यता जीवन बीमा कम्पनीहरुको हकमा भने कम्पनीहरुले धेरै बोनस दिने कम्पनी र थोरै बोनस दिने कम्पनी एक आपसमा मर्जरमा गएमा त्यसबाट एकथरी बीमितलाई नोक्सान पुग्ने देखिन्छ । बोनस बढेर पाउने बीमित खुशी भए पनि बोनस घट्ने बीमित चुप लागेर नबस्ने कम्पनीहरुको भनाई छ ।
पूरानो जीवन बीमा कम्पनीका ती सीईओले थपे, ‘अहिले मर्जरमा जाने कुरा सामान्य जसरी लिइएको छ । भोली हामी जस्ता धेरै बोनस दिइरहेको कम्पनीका हकमा भने बीमितलाई दिने बोनस घट्यो भने त यो घाटाको विषय हुन्छ नि ।’
बीमा समितिका सूचना अधिकारी निर्मल अधिकारी भने मर्जर प्रक्रिया अघि बढ्दै जाँदा रहेक समस्या समाधान गर्दै जाने सकिने तर्क गरे । उनले अहिले यही मोडलमा जाने भन्ने तय नभनसके पनि बीमा कम्पनीहरुकै समस्या र प्रस्ताव अनुसार आफूहरुले सहमति जुटाइदिने बताए ।
अधिकारी भन्छन्ः
बीमा कम्पनीहरु मर्जर गर्ने बेलामा नै हामीले बोनस दर मिलाउँछौं । मर्जरमा जाने बेलामा नै बीमा कम्पनीहरुले एक किसिमको सहमति जुटाएर पनि आउँछन् । त्यसका लागि अहिलेसम्म यही गर्ने भनेर मापदण्ड तोकिसकेको छैन् । हामीले पुँजी वृद्धिको लागि नै सबै कम्पनीहरुलाई एक महिने अवधि तोकेर क्यापिटल प्लान मागेका छौं । क्यापिटल प्लानअनुसार हामीले राइट शेयर इस्यू गर्ने तथा मर्जर कुन मोडेलमा लाने भन्ने तय गर्छौं ।
सबै कम्पनीहरुको योजनाबाटै बीमा बजारमा रहेको समस्या पहिचान गर्ने हो र सोहीअनुसार नै बोनस निर्धारण हुने हो । तर, बोनस निर्धारण गर्दा त्यसबाट बीमितले पाउने प्रतिफलमा पनि असर पार्नु हुँदैन् ।