काठमाडौं। यसअघि २५ पटक सर्वोच्च शिखर सगरमाथाको चुचुरो चुमिसकेका कामिरिता शेर्पा फेरि आरोणको तयारीमा जुटेका छन् । कीर्तिमानी आरोही शेर्पा यस बसन्त ऋतुमा रुट खोल्न २६औं पटक सगरमाथा आरोहण गर्न लागेका हुन् ।
वसन्त ऋतु सुरु भएसँगै सगरमाथा आरोहण गर्न विदेशी आरोहीहरु नेपाल आउने क्रम तीब्र छ । कोरोना महामारीले लामो समय हिमाल आरोहणसहित समग्र पर्यटक व्यवसाय थलिएको अवस्थामा यस पटक भने उत्साहजनक स्थिति देखिएको छ । पर्यटन क्षेत्र विस्तारै लयमा फर्किन लागेको नेपाल पर्यटन बोर्डले बताउँदै आएको छ ।
सोलुखुम्बुको थामे गाउँपालिकाका ५२ वर्षीय कामिरिता शेर्पा सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गरेकाले कीर्तिमान कायम राख्न सफल भएका हुन् । उनले सगरमाथाबाहेक आठ पटक चो ओयु, तीन पटक मनास्लु, एक पटक लोबुचे, एक पटक के टु गरी ३८ पटक विश्वका अग्ला हिमालहरु आरोहण गरिसकेका छन्।
यसअघि उनले तीन सिजनमा दुई–दुई पटक सगरमाथा आरोहण गरिसकेका छन् । शेर्पाले चुचुरोसम्म डोरी टाँग्ने जिम्मेवारी पनि पाएकाले सन् २००९, २०१० र २०१३ मा एकै याममा दुई पटक सगरमाथा चढेका थिए ।
लुक्ला पुगेका उनले बताए । शर्पाले सगरमाथा आरोहणको रूट निर्माणदेखि डोरी टाँग्ने (रोप फिक्सिङ’ कार्य गर्दै टोलीको नेतृत्व गर्ने जानकारी दिए । रूट खोलेर डोरी नटाँगेसम्म आरोहण टोली क्याम्प–२ बाट अगाडि बढ्न नसक्ने शर्पाको भनाई छ ।
उनले भने, ‘मेरो टोलीमा आठ जना शेर्पा सदस्य छन् । तर रूट खोल्न र डोरी टाँग्न १२ जना जति सदस्य आवश्यक पर्छ । मेरो टोलीले क्याम्प–२ देखि सगरमाथाको शिखरसम्म बाटो खोल्नेदेखि डोरी टाग्ने काम गर्नेछ । यो डोरी टाग्ने काम जोखिपूर्ण छ ।’
शेपाले थपे, ‘हिमालमा सधै जोखिम हुन्छ । प्रत्येक पाइलामा मृत्यु र जीवनका रेखा हुन्छ । लेक लाग्ने, हिमपहिरो खस्ने, जोखिमै जोखिम हुन्छ । तर हामी हिमाल आरोहीहरु आफ्नो कामप्रति सधै प्रतिवद्ध र इमान्दार छौं ।’ लुम्बिनी विकास बैंकका अध्यक्ष दशरथ रिसालले कामिरिता शेर्पालाई आफ्नो बैंकको लोगो भएको झण्डा हस्तान्तरण गरेका छन् । बैंकले कार्यक्रमको आयोजना गरी शेर्पालाई शुभकामना दिएको छ । शेर्पा विगत दुई दशकदेखि लुम्बिनी विकास बैंकसँग आवद्ध छन् । उनीसँगको छोटो कुराकानीः
धेरै पटक आरोहणको कीर्तिमान हुँदाहुँदै फेरि किन आरोहण गर्न लाग्नुभएको ? हिमालप्रति माया भएर हो ?
मैले आफ्नै रेकर्ड तोड्नको लागि २६ औ पटक सगरमाथा आरोहण गर्न लागेको होइन । विदेशी आरोहीहरुको टिम आएर मलाई नै खोज्ने गरेकोले पनि आरोहण गर्न लागेको हो । रेकर्ड होल्डरसँग आरोहण गर्दा सजिलो होला भनेर हुनसक्छ, विदेशीहरु हामीसँगै आरोहण गर्न चाहान्छन् ।
सगरमाथा वा अन्य जुनसुकै हिमाल आरोहणमा म एक जनाले नेतृत्व गरेर पाँच–छ जना विदेशी पर्यटक आउँछन् भने त्यो पाँच छ जना विदेशी पर्यटकको टोलीको लागि ४०–५० व्यक्तिले काम पाउँछन् । उनीहरु आउँदा यहाँका होटलदेखि लिएर हवाई सेवा, बाटो पसलहरुको पनि व्यापार हुन्छ । मेरै कारणले विदेशी आउँदा हाम्रो नेपालमा आम्दानी हुन्छ भने मैले किन छोड्ने भनेर फेरि आरोहण गर्न जान लागेको हो । यो रेकर्ड राख्न जान लागेको होइन । मेरो पहिले नै २५ पटकको रेकर्ड भइसकेको छ।
मैले यस पटक पनि २६औं पटक आरोहण गर्न सके आफूलाई भन्दापनि नेपालको टुरिजम क्षेत्रमा केही गर्न सके भने त्यसमा खुःसी हुनेछु। आफ्नो रेकर्डको लागि जति चोटी सगरमाथा आरोहण गरे पनि त्यस्तै हो। नेपालको स्थिति यस्तै छ। जति रेकर्ड राखेप नि के हुने छैन् । कतैबाट हामी हिमाल आरोहीहरु केही पाउने होइन् । त्यही भएर रेकर्ड राख्ने भन्दा पनि अब आउने युवा पुस्तालाई टुरिजम क्षेत्र कसरी बुढाउने ? कसरी प्रवर्द्धन गर्ने ? भन्नेबारे ज्ञान दिने मेरो सोच हो। एक–दुई वर्ष अझै टिमको नेतृत्व गरेर आरोहण निरन्तर गरुम कि ? भन्ने हो ।
मैले २५ पटकसम्म सगरमाथाको आरोहण गरें । तर त्यो सब रेकर्ड राख्न कहिल्यै हिमाल चढे्को होइन । रेकर्ड तोड्न हैन् । सन् १९९२ मा मैले २२ वर्षको उमेरमा हिमाल आरोहण पेशामा लागे । २४ वर्षमा पहिलो पटक सगरमाथाको चुचुरोसम्म पुगे । त्यसपछि सन् २००९, २०१० र २०१२ मा रूट निर्माण गर्ने टोलीमा सहभागी भइ एकै सिजनमा दुई–दुई पटक सगरमाथाको आरोहण गरें ।
सन् २०१८, २०१९, २०२१ मा मैले आफ्नै रेकर्ड तोडे। मैले कहिल्यै पनि रेकर्ड राख्न हिमाल चढेन । हिमाल चढ्नु मेरो पेशा हो र हिमालप्रति मेरो माया हो । रोजिरोटीको लागि हिमाल चढ्नु मेरो लागि एउटा सामन्य पेशा जस्तै हो । मेरो नामले गर्दा अझै विदेशीहरु नेपालमा हिमाल आरोहणको लागि आउन खोज्छन् । त्यसैले पनि म आफूलाई कामबाट रोक्न सक्दिन ।
यसपटकको स्प्रिङमा पनि म सधै जसो आफ्नो कामको सिलसिलामा हिमालतर्फ जादैछु । तर रेकर्ड तोड्न होइन् । आफ्नो नियमित काम गर्न जान लागेको हो । हाम्रो काम नै विदेशी आरोहीलाई सुरक्षित तरिकाले हिमाल आरोहण गर्न सहयोग गर्ने हो । अहिले म सेभेन समिट ट्रेकमा ‘माउन्टेन गाइड’को रूपमा आवद्ध छु । नेपालमा हिमाल आरोहण गर्न आएका विदेशी आरोहीहरुलाई हिमाल चढ्न सहयोग गर्नु हाम्रो पेशा हो जानेको काम नै हिमाल चढ्नु हो । अरू के गर्ने त ?
अहिले धेरै व्यक्तिहरु हिमाल आरोहण गरिरहेका छन् । त्यहाँ वरिपरि फोहोर धेरै भयो भन्ने गुनासो छ । के छ त्यहाँको अवस्था ? कसरी सफा गर्न सकिन्छ ?
फोहोरको कुरा गर्नुपर्दा त्यहाँ भएको फोहोर अहिलेका पर्वतारोहीहरुले छोडेको होइन। किनभने अहिलेको पर्वतारोहीहरुलाई त्यहाँ फोहोर छोड्न दिइँदैन । हामीले माथि जाँदा फोहोर निस्किने कति सामान लगियो ? भनेर फाराम भरेर जानुपर्छ । फर्किंदा त्यही टिमले लगेको फोहोर ल्याउँछ कि ल्याउँदैन भनेर बेस क्याम्पमै जाँच हुन्छ । सगरमाथामा भएको फोहोर तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले चढ्दादेखिको हो । त्यही समयदेखि नै सगरमाथा आरोहण गर्ने बाटो पत्ता लागेको हो । त्यही समयदेखिको फोहोर हो ।
समयमा हिउँ परेन । पानी पर्ने बेला पानी परेन । त्यही भएर पहिलाको फोहोरहरु हिउँ पग्लेर त्यहीँ जम्मा भएको हो । यो फोहोरलाई एक–दुई चोटी सफा गरेर सफा हुने खालको होइन। आज घर सफा गरे अहिले नै फोहोर हुन्छ । यो पनि त्यस्तै हो । सगरमाथामा पनि हरेक वर्ष सफा गर्नुपर्छ । अहिले सेनाले एउटा टिम छुट्याएको छ । यो टिम आठ वटा हिमालहरुको सफाइका लागि जाँदैछ । सरसफाइमा ध्यान दिनुपर्ने देखिएको छ । खासमा यो काम सेनालाई दिने पनि होइन् । युद्धमा पो सेना पठाउने, सगरमाथामा फोहोर सफा गर्न त शेर्पा नै चाहिन्छ।
यसो गर्नुभन्दा सिधै त्यो जिम्मा कुनै आरोही संगहरुलाई दियो भने त्यो फोहोर सफा गर्ने काम पनि राम्रो हुन्छ । सफा गर्ने काम सेनालाई दियो भने पनि घुमिफिरी काम पाउने भनेको शेर्पाले नै हो। त्यसैले सरकारले सरसफाइको जिम्मा पर्वतारोहण संघहरुलाई दिनुपर्छ। आरोहीहरुलाई फोहोर सफा गर्ने जिम्मा दियो भने फोहोर सफा हुन्छ । नेपाल पर्वतारोहण संघलाई दिएर उनीहरुलाई नै हिमालमा को जान सक्छ–सक्दैन् ? बुझेर काम दिनुपर्छ।
सरकारलाई केही अनुरोध गर्न चाहानुहुन्छ ?
म सरकारलाई हिमालको सरसफाईमा ध्यान दिन सुझाव दिन चाहान्छु । वर्षौ हिमाल आरोहण गर्दा सगरमाथालगायत ‘क्लाइम्बिङ पिक’हरूमा फोहोर थुप्रिन्छ । त्यस सरसफाई र व्यवस्थापन गर्न सरकारले बजेट छुटाउनुपयौं । हिमाललगायत ‘क्लाइम्बिङ पिक’हरूमा सरसफाइको जिम्मा भने हिमालसँग सम्बन्धित संघलाई जिम्मा दिनुपर्यो , जस्तै, नेपाल पर्वतारोहण संघलाई दियो भने प्रभावकारी हुन्छ ।
रुट निर्माण गर्ने, डोरी टाग्ने जिम्मा पाउँदा तपाईंलाई कस्तो महशुस हुन्छ ?
यसपाली म एभरेष्ट बेस क्याम्पमा बैठक राख्ने सोचमा छु । एक्स्पडिशन अपरेटर अफ् नेपालले डोरी, आइस कियु, इस्क्रुबार, कमिनाहरु सबै किनेर दिन्छ । एक्स्पडिशन अपरेटर अफ् नेपालसँग त्यो बेला भने छु ‘त्यसमा टेन्डर लडेअनुसार डोरीहरु सबै एक्स्पडिशन अपरेटर अफ् नेपालले नै किनेर दिन्छन । डोरी हरेक वर्ष एउटै रङ रातो दिनुभन्दा रङ परिवर्तन गर्नु राम्रो हुन्छ । रोप फिक्सिङको डोरी हरेक वर्ष परिवर्तन गर्दा आरोहीहरु झुक्किने च्यान्स कम हुन्छ ।’
पहिला सगरमाथा एक्स्पडिशनमा समिटको बाटो खोल्ने, स–समिटबाट जो अगाडी जान्छ, त्यही समूहले रुट निर्माण गर्ने गथ्र्यो । विगत केही वर्षदेखि सगरमाथा पोलिसि कन्ट्रोल कमिटिले विदेशी आरोहीहरुसँग एभेरष्ट बेस क्याम्पदेखि क्याम्प २ सम्मको लागि छुटै चार्ज लिन्छ । त्यस्तै, एक्स्पडिशन अर्गनाइजर एशोसियशनले फेरि क्याम्प २ देखि शिखरसम्म छुटै चार्ज लिन्छ। त्यसरी छुटाछुटै शुल्क लिर्नुभन्दा बेस क्याम्पदेखि शिखरसम्मैको शुल्क लिँदा विदेशीहरुलाई अप्ठ्यारो हुँदैन ।
हामीले जति डोरी टागेर जति राम्रो बाटो निर्माण गरे पनि गाली गर्ने मात्र आउँछ । मौसमको समस्या पनि हुन्छ । कुनै बेला ढिलो आरोहण खोल्छ । कुनै बेला छिटो हुन्छ । मौसमको कारणले ढिलो भयो भने हामीले अल्छी गयो रुट खोल्न भन्छ । छिटो खोले उनीहरुले छिटो खोलेर पछि मौसम बिग्रियो भन्छ । डोरी टाँग्ने काममा मान्छेहरुको भनाई खाने मात्र हुन्छ । डोरी टाग्ने काम गाह्रो छ। हामी रोप फिक्सिङ गर्ने कामका लागि कहिले पनि स्याब्बासी चाहीं कसैले पनि दिँदैन् ।
तपाईंले पहिलो पटक रुट निर्माण गर्दा र अहिले रुट खोल्दा कस्तो फरक हुन्छ । पहिलाकै जस्तै गाह्रो हुन्छ कि कस्तो हुन्छ ?
बाटो खोल्न सजिलो कहिल्यै पनि हुँर्दैन्, हेर्दा मात्र रुट खोल्ने भने पनि । सजिलो देख्छ सबैले । तर बाटो खाल्नुभन्दा पनि त्यहाँँ चुचुरोमा लिड गर्नु झन् गाह्रो छ । सबै जनाको जिम्मा र मौसमको जोखिम लिनुपर्ने हुन्छ । त्यसैले धेरै गाह्रो छ । बाटो खोल्न यो वर्ष सजिलो त्यो वर्ष असजिलो भनेर हुँदैन् । बाटो खोल्ने काम सधै नै गाह्रो काम हो ।
हिमाल चढ्न कसरी प्रेरित हुनुभयो ?
तेन्जिङ नोर्गे शेर्पा हाम्रै गाउँको हो । आङरिता शेर्पा पनि हाम्रै गाउँको । आपा शेर्पा हाम्रै गाउँको । उहाँहरु मात्र नभएर अरु पनि धेरै छन् । हाम्रो गाउँलाई पर्यटन क्षेत्र भन्छन् । तर हामी बसेको थामेको नाम चलेको आरोहणकै कारणले हो । हामी अघिका आरोहीहरुलाई पच्छ्याएर नै आरोहण सिकेको हो । किनभने हाम्रो गाउँ थामे भनेको सगरमाथाको क्षेत्र हो । नाम्चे त विकास नै छ । तर हाम्रो गाउँ त दुर्गम छ । हामीलाई स्कूल पनि थिएन । पढ्न पाएनौं । हिमाल आरोहणमै लागियो। अहिले हाम्रो गाउँमा एडमण्ड हिलारीले स्कूल खोलिदिए । अहिलेको बच्चाहरु स्कूलतिर लागेका छन् । हामीले पढ्नुपर्छ भन्ने सोच्छन् । हामी आरोहीहरुले पनि आफ्नो बच्चाहरुलाई पढाउँछु बरु हामी बरु हामी जति दुःख गरे पनि भनेर सोच्छौं ।