पाकिस्तानको प्रधानमन्त्रीमा शेहबाज निर्वाचित, इमरानको पार्टीका १५५ सांसदद्वारा राजीनामा

Advertisement

इस्लामावाद । पाकिस्तानको २३औँ प्रधानमन्त्रीका रुपमा शेहबाज शरिफ निर्वाचित भएका छन् ।  

पाकिस्तानको संसद्‌मा सोमबार भएको मतदानबाट पाकिस्तान मुस्लीम लिग- नवाजका नेता शरिफ प्रधानमन्त्रीमा निर्वाचित भएको घोषणा गरिएको छ । 

Advertisement

विश्वासको मत प्राप्त गर्न नसकेपछि निवर्तमान प्रधानमन्त्री इमरान खान जिम्मेवारीमुक्त भएकाले नयाँ प्रधानमन्त्री चयनका लागि सोमबार मतदान भएको थियो । 

पाकिस्तानको राष्ट्रिय सभामा रहेका खानको पार्टीका सांसदहरू मतदानमा सहभागी नभएपछि शरिफलाई निर्वाचित हुन सजिलो भएको हो । 

संसद्का ३४२ सदस्य मध्ये १७४ जनाले शरिफको पक्षमा मतदान गरेको कार्यवाहक सभामुख सर्दार अयाज सादिकले जानकारी दिए ।  

विपक्षी दलको नेतृत्व गर्दै आएका ७० बर्षिय शरिफ तीन पटक पाकिस्तानको प्रधानमन्त्री बनेका नवाज शरिफका भाइ हुन् । लाहोरमा जन्मिएका शरिफ यसअघि पञ्जाबको मुख्यमन्त्री बन्नु भएको थिए । उनले पाकिस्तान पिपुल्स पार्टी, जमैत उलेमा ए इस्लाम एफलगायतलाई समेटेर नयाँ सरकार बनाउने छन् ।  

विश्व चर्चित क्रिकेट खेलाडी खानको नेतृत्वमा सरकार बन्द संसार भरी नै सकारात्मक सन्देश गएपनि कार्यकाल भने ठोस उपलब्धि विना सकिएको छ । सुरुमा निकै लोकप्रिय निर्णय गरेका खानले दलीय व्यवस्थापन र प्रभावकारी राज्य सञ्चालन गर्न नसक्दा सांसदको कार्यकाल बाँकी रहँदा नै प्रधानमन्त्रीको जिम्मेवारीबाट बाहिरिनु परेको छ ।

पाकिस्तानका १५५ सांसदद्वारा राजीनामा 
यसैबीच, पाकिस्तानका १५५ सांसदले सोमबार पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । 

निवर्तमान प्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तेहरिक ए इन्साफ पार्टीका सांसदहरुले राजीनामा दिएका हुन् । 

नयाँ प्रधानमन्त्री चयनका लागि संसद्मा मतदान हुनु अगाडि उनीहरूले राजीनामा घोषणा गरेर संसद् बैठक नै बहिष्कार गरेका थिए ।  

जनताको भावना विपरित विदेशीहरूको इसारामा आफूलाई हटाइएको भन्दै खानले आफूहरू अव संसद्मा बस्न नसक्ने बताए ।  

विदेशीको इसारामा चल्ने राष्ट्रघाती संसद्हरू र राष्ट्रवादी आफ्नो पार्टीका संसद्हरू संसद्मा सँगै बस्न नसक्ने भएकाले राजीनामा दिनु परेको उनको भनाई छ । 

उनले अव जनताको बीचमा गएर निर्वाचनबाट फेरि निर्वाचित भएर आउने अठोट पनि गरेका छन् ।  

आफूले विघटन गरेको संसद्लाई अदालतले ल्याइदिएपछि थप नैतिक सङ्कटमा परेका  नेता खानले विघटन गरेको संसद्‌मा फर्किनु उपयुक्त नहुने ठानेर राजीनामा दिएको बताइएको छ । रासस/एएनआई  

Advertisement

Advertisement