पत्रकारहरुको शोषण गर्ने मिडियाहरुमा पत्रकार महासंघले अब धर्ना दिने

Advertisement

काठमाडौं । नेपाल पत्रकार महासंघले मिडिया हाउसहरुमा धर्नासहितको आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । आईतबार पत्रकार सम्मेलन गरी महासंघले श्रमजीवि पत्रकारहरुको शोषण गर्ने मिडिया हाउसहरुमा भोली (बैशाख ५ गते)देखि धर्नासहितको आन्दोलनको कार्यक्रम गर्ने जानकारी गराएको हो । 

श्रमजीवि पत्रकारहरुको शोषण गर्ने मिडिया हाउसहरुमा संवादमार्फत् समस्या समाधान गर्ने प्रयास सफल हुन नसकेपछि धर्नासहितको आन्दोलनको कार्यक्रम सुरु गर्न बाध्य हुनु परेको महासंघका अध्यक्ष विपुल पोखरेलले बताए । 

Advertisement

उनले श्रमजीवि पत्रकारहरु र प्रेस स्वतन्त्रताको पक्षमा काम गर्ने मुख्य दायित्वबाट आफूहरु कुनै पनि हालतमा पछि हटन नसक्ने समेत स्पष्ट पारे । पोखरेलले भने, ‘पत्रकार महासंघले श्रमजीवि पत्रकारहरुको पक्षमा काम गर्छ । श्रमजीवि पत्रकारहरुको हितमा काम गर्ने सन्दर्भमा यसका गुनासोहरुको तथ्यांकहरु छन् । त्यो तथ्यांकलाई सम्बोधन गर्ने क्रममा हामी आन्दोलनमै जानुपर्छ भन्ने निष्कर्ष निकाल्न एक वर्षको कार्यकालको समीक्षापछि बाध्य भएका छौं । त्यसकारण भोलीदेखि आन्दोलनको कार्यक्रम तय गरेका छौं । भोली र पर्सी कान्तिपुर टेलिभिजनमा धर्नाको कार्यक्रम छ । त्यसपछि अन्य संस्थाहरु, जहाँ श्रमको शोषणा भइराखेको छ भनेर लिखित जानकारी हामीलाई आएको छ । हामीले संवादमार्फत् सो समस्या समाधान गर्ने सन्दर्भमा तदारुपता देखाइएको छैन्, ती संस्थाहरुमा आन्दोलनमा जाँदैछौं ।’ 

महासंघको मुख्य दायित्व प्रेस स्वतन्त्रता र श्रमजीवि पत्रकारहरुको पक्षमा काम गर्नु नै हुन्छ भन्दै पोखरेलले यी दुई वटा दायित्वबाट कुनै पनि हालतमा आफूहरु पछाडि नहट्ने स्पष्ट सन्देश दिन चाहेको बताए । प्रेस स्वतन्त्रताका लागि ड्राफ्ट भएको कतिपय कानुनहरु प्रेस स्वतन्त्रतामैत्री नभएको उनको भनाई छ । 

पोखरेलले श्रमजीवि पत्रकारहरुले श्रम शोषण भएको लिखित जानकारी महासंघमा रेकर्ड गराएको उल्लेख गर्दै उनीहरुको माग सम्बोधन गरेर अघि बढ्नुको विकल्प नरहेको बताए । महासंघले प्रेस स्वतन्त्रता विरोधी खालका कतिपय ड्राफ्ट भएको कानुनहरुको विरोधमा सरकारसँग पनि आन्दोलन जारी रहेको र त्यसलाई निरन्तरता दिने बताए ।

Advertisement

Advertisement