प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्न बीमा कम्पनीहरु लालयीत, सबैलाई बाटो खोल्दिउँलाः समिति

Advertisement

काठमाडौं । पछिल्लो समय नयाँ बीमा कम्पनीहरु एकपछि अर्को प्रिमियम मूल्यमा साधारण शेयर (आईपीओ) निष्काशन गर्ने लालयीत हुन थालेका छन् । सबै बीमा कम्पनीहरुले एक पटक सर्वसाधारणका लागि साधारण शेयर जारी गर्नैपर्ने हुन्छ । तर निश्चिच समयसम्म नाफा गरेका पब्लिक कम्पनीले प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्नसक्ने कानुनी सुविधालाई टेकेर नयाँ बीमा कम्पनीहरु प्रिंमियम मूल्यमा आईपीओ निष्काशन गर्न लालयीत देखिएका छन् । 

अर्कोतर्फ यही बेलामा बीमा समितिले कम्पनीहरुको जोखिम धारण गर्ने क्षमता बलियो बनाउने भन्दै चुक्ता पुँजी डेढसय प्रतिशत बढाउनुपर्ने बाध्यकारी व्यवस्था गरेपछि बीमा कम्पनीहरुलाई प्रिमियम मूल्यमा आईपीओ निष्काशनका लागि समितिलाइ दबाब दिन बाटो खुलेको छ । प्रिमियम मूल्यमा आइपीओ निष्काशन गर्न पाइने दाउमा धेरै बीमा कम्पनीले आईपीओ निष्काशन प्रक्रियालाई ढिलाई गर्दै आएका पनि छन् । 

Advertisement

प्रिमियम मूल्यमा नै आईपीओ निष्काशन गर्न पनि लगानीकर्ताको आकर्षणमा कमी नहुने विश्वास बीमा कम्पनीका प्रवर्द्र्धक, सञ्चालक, सीईओहरुको छ । फ्रेस भ्यालू (प्रतिकित्ता सय रुपियाँ)मा हालसम्म पाँच वटा नयाँ बीमा कम्पनीहरुले आईपीओ निष्काशन गरिसकेको छन् भने बाँकी रहेका कम्पनीहरु प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्न पाइने प्रतिक्षामा छन् । 

केही महिनादेखि सन नेपाल लाइफ, सिटिजन लाइफ तथा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रिमियम मूल्यमा शेयर निकाष्शन गर्ने तयारी गरिरहेकोमा अहिले आईएमई लाइफ पनि थपिएको छ । प्रिमियम मूल्यमा शेयर निष्काशन गर्न जनताबाट आएको ठूलो रकम संचित कोषमा रहने र त्यसबाट कम्पनीको प्रतिफल बढाउन तथा शेयर मूल्य बढाउन सहयोग पुग्ने उनीहरुको आशा छ । 

बीमा कम्पनीका सीईओहरुले आफूहरु प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्न इच्छुक भए पनि समितिले ढिलाई गरिदिएको गुनासो गर्दै आएका छन् । उनीहरु चाँडै समितिबाट आफूहरुको प्रस्ताव स्वीकृत भएर आउने आशामा छन्  ।  

एक कम्पनीका सीईओले कर्पोरेट नेपालसँग भने, ‘लाइसेन्स बाँड्दा सँगसँगै बाड्ने । एकै किसिमको प्रक्रिया पूरा गरेर आएका पब्लिक कम्पनीमध्ये कसैलाई प्रिमियम मूल्यमा  आईपीओ निष्काशन गर्न दिने, कसैलाई नदिने पनि ठिक होइन् । दिँदा सबैलाई दिनुपर्छ ।’ प्रिमियम मूल्यमा आईपीओ जारी गर्दा लगानीकर्तालाई दिने बोनस बढ्ने बीमा कम्पनीहरुको बुझाई छ । 

बीमा समितिका कार्यकारी निर्देशक राजरमण पौडेलले प्रिमियम मूल्यमा आईपीओ निष्काशनको अनुमति दिने तयारीमा रहेको बताए । उनले भने, ‘बीमा कम्पनीहरुबाट प्रिमियम मूल्यमा शेयर निकाष्शनको लागि तयारी गरेर हामी कहाँ कम्पनीहरु आए भने हामी बाटो खोल्न तयार छौं ।’  

Advertisement

Advertisement