काठमाडौं । कतारकी राजकुमारी आस्मा अल थानीले आफ्नो मुलुकमा हुन लागेको फिफा विश्वकप फुटबल खेलको अफिसियल (आधिकारिक) बललाई नेपालमा रहेको विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुर्याउने तयारी गरेकी छन् ।
अन्टार्टिकाको साउथपोलमा अवस्थित सबैभन्दा अग्लो विन्सन हिमाल (४,८९२ मिटर)को सफल आरोहण गरी उनी सगरमाथा आरोहणका लागि आधार शिबिरमा तयारी गरि रहेकी छन्।
थानीले यही बर्ष २०२२ मा हुन लागेको विश्वकपको अफिसियल फुटबल सर्वोच्च शिखरमा पुर्याएर यसको प्रतिष्ठा बढाउने तयारी गरेकी हुन् ।
सगरमाथा आरोहणमा रहेकी उनीसँग विश्वकप फुटबल पनि रहेको आरोहण व्यवस्थापन कम्पनी एलिट एक्स्पेडका प्रबन्धक अशोक राईले जानकारी दिए । उनले फिफा विश्वकप फुटबल २०२२ को अफिसियल बल राजकुमारी थानीले कतारबाट आफूसँगै लिएर आएको र अहिले उनी एभेरस्ट बेस क्याम्पमा रहेको जानकारी दिए । राईले उक्त फुटबल सगरमाथा चुचुरोमा पुर्याउने लक्ष्यअनुसार नै उनले लिएर आएको पनि बताए ।
राईले थपे, ‘उहाँ २०२२ फिफा विश्वकपको व्यवस्थापन विभागमा पनि हुनुहुन्छ। त्यही भएर पनि होला । सर्वोच्च शिखरमा पुर्याएको फुटबलबाट कतार विश्वकप म्याच सुरु गर्ने उहाँहरुको योजना देखिन्छ ।’ उनले विश्वकपको अफिसियल फुटबल सगरमाथा शिखरमा पुग्नु नेपालको लागि पनि ठूलो कुरा भएको बताउँदै यसले नेपालको पर्यटन प्रवर्द्धन गर्न र नेपाल–कतारबीच सम्वन्ध विस्तारमा पनि सहयोग पुग्ने बताए ।
राईले यदि थानीको आरोहण सफल भए सगरमाथाको सफल आरोहण गर्ने उनी पहिलो कतारी महिला बन्ने बताउँदै उनी विन्सन हिमाल आरोहण गर्ने पहिलो अरबी महिला पनि भएको जानकारी दिए ।
थानीले यसअघि नेपालको अमा दब्लम, धौलागिरी र बिना अक्सिजन मनास्लु हिमालको सफल आरोहण गरिसकेकी छन्। उनलाई यी हिमाल चढ्न नेपालका कीर्तिमानी आरोही निर्मल पुर्जाले गाइड गरेका थिए।
राईले भने, ‘‘एक्स्प्लोरर्स ग्रान्ड स्लाम’ पूरा गर्ने पहिलो कतारी महिला बन्ने यात्रामा उहाँ हुनुहुन्छ । त्यसका लागि संसारका सात उच्च शिखरको आरोहण गर्ने र उत्तर तथा दक्षिण ध्रुवका अग्ला हिमाल आरोहण गर्ने लक्ष्य राख्नुभएको छ ।’ यस पटक सगरमाथा आरोहणमा पनि पुर्जाले थानीलाई साथ दिँदैछन् ।