काठमाडौं। सव्रिना फिल्जमोजर चर्चित जुडो खेलाकी, ओलम्पिक खेलमा स्वर्ण पद विजेता, जलवायु परिवर्तनको असर न्यूनीकरण अभियानकी दूत र साइकलयात्री हुन् । र, अहिले उनको परिचय हिमाल आरोहीको रुपमा पनि थपिएको छ ।
भारत पश्चिम बंगालस्थित दिगा समुद्रदेखि सोलुखुम्बुसम्म करिब एक हजार ८० किलोमिटर लामो दुरी साईकलमा पार गरी ४२ बर्षीय सब्रिना सगरमाथा आरोहणको लागि अहिले आधार शिबिरमा छिन्। उनले अक्सिजनविना सगरमाथा आरोहण गर्न लागेकी हुन् ।
सब्रिना सगरमाथा आधार शिबिरमा आरोहणको लागि तयारी गर्दै क्याम्प १ तर्फ जाने कममा रहेको एलिट एक्स्पेडका प्रबन्धक अशोक राईले कर्पोरेट नेपाललाई जानकारी दिए । उनका साथमा अन्तर्राष्ट्रिय साइकल यात्री, एथलेटिक खेलाडी तथा माउन्टेन बाइक क्रस कन्ट्रिकी साउथ एशियन विजेता लक्ष्मी मगर, साइक्लिङका राष्ट्रिय विजेता हर्क लामा पनि छन् ।
दिगाबाट शुरु भएको सब्रिनाको यात्रा जोगवनी नाका हुँदै विराटनगर, उदयपुरको गाईघाट, कटारी, ओखलढुंगा भएर सोलुखुम्बुको दुधकोशी गाउँपालिका पुगेर टुंगेर टुंगिएको साईक्लिङ एथलेटिक लक्ष्मी मगरले बताइन् । उनी भने अहिले काठमाडौं आएकी छन् ।
मगरले भनिन, ‘कसरी उर्जालाई सञ्चित गर्ने ? र वातावरण संरक्षणका लागि यात्रा गर्ने ? भन्ने उद्देश्यका साथ समुन्द्रदेखि सगरमाथाको यात्रामा सब्रिना निस्किएकी हुन् । उनले थपिन, ‘केटाकेटीलाई विरुवा कसरी रोप्ने ? प्रकृतिको संरक्षण कसरी गर्ने ? भन्ने विषयहरुमा सन्देश दिन जलवायु परिवर्तन दूत सव्रिना लागिपरेकी छिन् ।’
उनले साइकल यात्राको क्रममा विराटनगरदेखि सोलुखुम्बुसम्म पर्यटनको अर्को नयाँ गन्तव्य बनाउन सकिने संभावना देखिएको बताउँदै सब्रिनासँगको यात्राले नयाँ संभावनाको खोजी गर्न सहयोग पुगेको बताइन् ।
सव्रिनाले सन् २०१६ मा नेपालको मनास्लु हिमाल बिना अक्सिजन र २०१७ मा आमाडब्लम हिमालको आरोहण गरिसकेकी छन्। उनको मूख्य उद्देश्य वातावरण सफा राख्नु, जुडो फर पिस्, स्टप वोर र अहिले भइरहेको युद्ध रसिया–युक्रेनबीच शान्ति चाँहिन्छ भन्ने पनि सन्देश दिन सगरमाथा हिमाल आरोहण गर्न लागेकी हुन्।
लक्ष्मी मगरका अनुसार २९ मे मा दूत सव्रिनाले एभेरस्ट जुडो क्लबको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । उनी एभेरस्ट जुडो क्लबको संस्थापक पनि हुन । सगरमाथाको सफल आरोहणपछि सोलुखुम्बुको खुम्जुङ गाउँमा यसको उद्घाटन गर्ने योजना छ । उनकै पहलमा सो ठाउँमा जुडो स्कूलहरु सुरु भएको हो ।