काठमाडौँ। सन्तोष साहसहित बीबीसी मास्टर सेफहरुको टोलीले नेपालको मौलिक खाना, संस्कृति र विभिन्न पर्यटकीय गन्तव्यको प्रवर्द्धन गरेका छन् ।
प्यासिफिक एसिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरले कोभिड–१९ महामारीपछि नेपाली पर्यटन क्षेत्रको पुनरुत्थान अभियानअन्तर्गत “बीबीसी मास्टर सेफः द प्रोफेसनल २०२०” का फाईनालिस्टहरुलाई नेपालको मौलिक संस्कृति र खानामार्फत गन्तव्यको प्रचार प्रसार गर्ने उद्देश्यले नेपाल बोलाएको थियो ।
‘मास्टर सेफ फाइनालिस्ट टुर टू नेपाल’ नामक यस कार्यक्रममा सेलीब्रेटी सेफहरुले नेपालको राष्ट्रिय झण्डा अंकित सेफकोट पहिरनमा नेपालका विभिन्न गन्तव्यहरुमा मौलिक खानाको अवलोकन, अन्वेषण एवम् प्रवर्द्धन गरेको पाटा नेपालले जनाएको छ ।
मास्टर सेफहरुको नेपाल भ्रमण तथा गतिविधिहरुबाट विश्व स्रोत बजारमा नेपालको मौलिक खाना र संस्कृति समेत गन्तव्यको अभिन्न आकर्षण रहेको, महामारी पश्चात नेपाली पर्यटन क्षेत्र पुुर्ण रुपमा खुला रहेको र जीवन्त अनुभवका लागि नेपाल एक गन्तव्य रहेको सकारात्मक सन्देश प्रवाह हुुनुुका साथै मास्टरसेफहरुको सामाजिक सञ्जाल तथा नेटवर्कमा आवद्ध समुुदायमाझ नेपाल गन्तव्यको प्रवर्द्धनमा समेत महत्वपूर्ण टेवा पुगेको पाटाको दावी छ ।
मास्टर सेफ साहको साथमा सेफ एलेक्स, सेफ बार्ट र सेफ फिलिपालगायतको टोली नेपालमा १० दिनसम्म विभिन्न स्थानहरुमा पर्यटन प्रवर्द्धनात्मक गतिविधिमा सहभागी भएका थिए । उनीहरुलाई नेपाल पर्यटन बोर्डले पनि सम्मान गरेको थियो ।