तीन वर्षपछि बस्यो राखेपको बोर्ड बैठक, राष्ट्रिय खेलकुद प्रतियोगितामा ३६ खेल सहभागी गराइने

Advertisement

काठमाडौं । तीन वर्षपछि राष्ट्रिय खेलकुद परिषद् (राखेप)को ऐतिहासिक बोर्ड बैठक सम्पन्न भएको छ । राष्ट्रिय खेलकुद विकास ऐन २०७७ कार्यान्वयनमा आएपछि पहिलो पटक राखेपको बोर्ड बैठक बसेको हो । युवा तथा खेलकुद मन्त्री तथा राखेपका अध्यक्ष महेश्वर गहतराजको अध्यक्षतामा शुक्रबार बसेको बोर्ड बैठकले बिभिन्न महत्वपूर्ण निर्णयहरु समेत पारित गरेको छ । 

बैठकले आगामी जेठ २२ देखी २८ गतेसम्म गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताकालागि तयार पारीएको “नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता संचालन निर्देशिका-२०७९” पारित गरेको छ । साथै बैठकले प्रतियोगिताको मिति तय गरेर प्रतियोगिता संचालनकालागि सहमती प्रदान गर्ने नेपाल सरकार मन्त्रीपरिषदप्रति हार्दिक आभार समेत ब्यक्त गरेको छ । 

Advertisement

बैठकले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ३६ खेल सहभागी गराउने निर्णय गरेको छ । जसअन्तर्गत एथलेटिक्स, ब्याडमिन्टन, टेबल–टेनिस, क्रिकेट, फुटबल, टेनिस, हक्की, बक्सिङ, भलिवल, कबड्डी, भारत्तोलन, सुटिङ, जिम्नास्टीक, पौडी, ह्याण्डबल, जुडो, कुस्ती, सफ्ट टेनिस, स्क्वास, तेक्वान्दो, उसु, बास्केटबल, शारिरीक सुगठन, बुद्धिचाल, खो–खो, कराँते, फुल कन्ट्याक्ट कराँते, आईटिएफ टेक्वान्दो, सेपाक्टाक्रो, गल्फ, आचरी, साईक्लिङ, फेन्सीङ, ट्राईथेलेन, प्याराग्लाईपिडङ र रग्बी ७ ए साईट खेल संचालन गरीने भएको छ । त्यसैगरी ठेलो र क्यानोइङलाई प्रदर्शनी खेलको रुपमा प्रतियोगितामा समावेश गर्ने निर्णय समेत भएको छ । 

बैठकले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि आवश्यक लोगो, मस्कट र नारा तय गर्नकालागि आवश्यक प्रक्रिया अगाडि बढाउनुका साथै प्रतियोगिता मुल आयोजक कमिटि, कार्यकारी समिति, उप–समिति तथा सचिवालय गठन गर्ने निर्णय समेत पारित गरेको छ ।

एशियन खेलमा २३ खेल समावेश गर्ने निर्णय
शुक्रबार युवा तथा खेलकुद मन्त्रालयको हलमा सम्पन्न राखेपको बोर्ड बैठकले १९ औं एशियन खेलमा नेपालको तर्फबाट २३ वटा खेलमा सहभागी हुने निर्णय गरेको छ । 

शुक्रबार बसेको बैठकले तेक्वान्दो, कराँते, बक्सिङ, एथलेटिक्स, साईक्लिङ, महिला फुटबल, गल्फ, कुस्ती, भारत्तोलन, जुडो, पौडी, ट्रायथेलेन, उसु, आर्चरी, बास्केटबल, कबड्डि, फेन्सीङ, ह्याण्डबल, टेबल टेनिस, महिला भलिबल, पुरुष क्रिकेट, सुटिङ र ब्याडमिन्टनमा सहभागीता जनाउने निर्णय गरेको हो । 

यसअघिका एशियन खेलमा खेलाडीहरुले देखाएको उत्कृष्ट नतिजा तथा पछिल्लो समयमा सफलता प्राप्त भईरहेका खेलहरुका आधारमा एशियन गेम्समा २३ वटा खेल समावेश गर्ने निर्णय गरीएको हो । बैठकले एशियन खेलकुदमा सहभागी हुने खेलाडीहरुको छनौट, बन्द प्रशिक्षण तथा आवश्यक बजेट र तयारीका सम्बन्धमा समेत प्रक्रिया अगाडी बढाउने निर्णय गरेको छ । बैठकले बिभिन्न संघ संस्थाको निर्देशिका तथा जापानमा भएको ओलम्पिकमा सहभागी हुँदाको खर्च पारित गर्नेदेखी आगामी आर्थिक वार्षकालागि आवश्यक बजेट माग गर्नेसम्मको निर्णय पारीत गरेको छ ।

बैठकमा बोल्दै युवा तथा खेलकुद मन्त्री तथा बैठकका अध्यक्ष महेश्वर गहतराजले खेलकुदको महाकुम्भका रुपमा रहेको राष्ट्रिय खेलकुद प्रतियोगितालाई निर्धारित समयमै सम्पन्न गर्नु सबैको दायित्व रहेको बताए । उनले निर्धारित समयमै प्रतियोगिता संचालन गर्न नसकिए थप एक वर्ष खेर जाने भएकाले दत्तचित्त भएर प्रतियोगितामा केन्द्रित हुन निर्देशन समेत दिए । 

“हामी दुई वर्ष ढिला भईसकेका छौं” मन्त्री गहतराजले भने, “निर्धारित समयमै प्रतियोगिता गराउन सकिएन भने फेरी एक वर्ष पछि धकेलिनेछौं, त्यसैले निर्धारित समयमै प्रतियोगिता सम्पन्न गराउनु अपरिहार्य छ ।”

एनआरएनसहित ११ टिम सहभागी हुने 
नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी टिमको सँख्या बढ्ने भएको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङका अनुसार तीन विभागीय टिम र ७ प्रदेशका टिमका अलावा यस पटक एनआरएनको टिमलाई समेत प्रतियोगितामा सहभागीता गराउने तयारी भईरहेको छ । पर्यटन प्रवद्र्धनका लागि खेलकुद सबैभन्दा बलियो माध्यम हुनसक्ने भएकाले नवौं राष्ट्रिय प्रतियोगितामा एनआरएनको टिमलाई समेत सहभागी गराउने प्रयास भईरहेको घिसिङले जानकारी दिए ।  

Advertisement

Advertisement