काठमाडौं । पर्वतारोहणको सिजन सुरू भएसँगै हिमाल आरोहण गर्न र पदयात्राका लागि नेपाल आउने विदेशी पर्यटकको संख्यामा निकै भएको छ । बुकिङहरु पनि बढ्दै गएको छ । पर्यटन क्षेत्र लयमा फर्किने आशा र संकेत देखिएको बेला छिमेकी भारतमा कोभिड–१९ संक्रमण बढ्न थालेपछि भने नेपालका पर्यटन व्यवसायी चिन्तित हुन थालेका छन् ।
कोभिड महामारी र त्यसको रोकथाम तथा नियन्त्रणका लागि भनेर लागू गरिएको बन्दाबन्दी तथा निषेधाज्ञाको सबैभन्दा धेरै असर खेप्न बाध्य भएका व्यवसायी कोभिडको लहर फेरि बढ्ने कुराले चिन्तामा परेका हुन् ।
कोरोना महामारीपछि सन् २०२२ को मार्च महिनामा सबैभन्दा धेरै पर्यटक नेपाल भित्रिएका छन्। अध्यागमन विभागको तथ्यांकअनुसार मार्च महिनामा ४२ हजार ६ जना पर्यटक नेपाल आएका छन् । अहिले होटलदेखि पदयात्रा, हिमाली क्षेत्र, देशका अरु पर्यटकीय स्थलहरुमा पर्यटकहरुको राम्रो चलहपहल देखिन थालेको अवस्थामा कोभिड महामारी पुनः भित्रिने हो कि ? भन्ने आशंका बढेको हो ।
नेपाल पर्यटन बोर्डका निर्देशक मणि लामिछानेले पर्वतारोहणको सिजन सुरू भएसँगै नेपालका हिमाल आरोहण गर्न र पदयात्रामा जाने पर्यटकको संख्यामा बढेको बताउँदै पर्यटक आगमन उत्साहजनक देखिएको बताए ।
उनले भने, ‘पर्यटन क्षेत्र चलायमान हुँदै गएको छ । नेपाल आएका पर्यटकको संख्या हेर्दा सबैभन्दा धेरै भारत, अमेरिका, बेलायत, बंगलादेश र जर्मनबाट रहेका छन्। यस वर्ष मार्च महिनामा मात्र सबैभन्दा धेरै भारतबाट १५ हजार १३ पर्यटक भित्रिएका छन्। पर्यटकको संख्या सकरात्मक देखिएको छ।’
केही दिन यता भारतमा र चीनमा कोरोना संक्रमित बढ्न थालेकोप्रति सचेत हुनु जरुरी रहेको भन्दै लामिछानेले भने, ‘यो के किसिमको भाइरस हो, ? यसको असर अहिले थाहा नभएकोले हामीले पर्यटन व्यवसायीलाई सुरक्षा प्रोटोकल अपनाउन भनिरहेका छौं ।’
टानका अध्यक्ष खुमबहादुर सुवेदीले बुकिङहरु आउने क्रम राम्रो रहेको बताए । उनले आउने शरद ऋतुका लागि पनि बुकिङहरु आउन थालेको भन्दै तर छिमेकी देशमा कोरोना संक्रमित बढ्न थालेको सुनिएको बताए । संक्रमण बढ्दै जाँदा नेपाल आउने पर्यटकमा कमी हुने र बुकिङ पनि घट्ने बताए ।
अहिले हिमाल चढ्ने सिजन पनि भएकाले हिमाल आरोहण गर्ने र पदयात्रामा जाने पर्यटकहरुको बुकिङ आइरहेको सुवेदीले बताए । उनले कोभिड संक्रमण फेरि दोहोरिए नेपालको पर्यटन क्षेत्रले थग्न नसक्ने बताए ।
होटल संघ नेपाल (हान)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) टेकेन्द्रबहादुर महतले अहिलेसम्म होटलहरुको बुकिङ सन्तोषजनक रहेको बताए । उनले भने, ‘कुनै होटलमा ९० प्रतिशतसम्म बुकिङ भइरहेका छ । कुनैमा ४०–५० प्रतिशत छ अहिलेको अवस्था सकारात्मक छ ।’
पर्यटक आउन थालेकाले पर्यटन क्षेत्र चलायनमान हुन थालेको भन्दै महतले भारतमा संक्रमण बढ्दै गएर असहज स्थिति देखिन थाले त्यो समस्या नेपाल भित्रिन नदिन यहाँको सरकारले पनि ढिलाई गर्न नहुने बताए ।
उनले भने, ‘नेपालमा अन्तिम समयमा जानकारी दिने चलन छ । व्यवसायीहरुको आफ्नै योजना हुन्छ । एक्कासी कुनै निर्णय गरिदिँदा त्यसले व्यवसायीलाई अप्ठ्यारो पर्छ । जुन हिसावले आम व्यवसायी पहिलो कोरोना महामारीबाट गुज्रिनुपर्यो, फेरि त्यो अवस्था नआओस भन्न सरकारले बेलैमा जानकारी दिनुपर्छ ।’
भारतमा कोरोना संक्रमण बढेसँगै सतर्कता अपनाउन स्वास्थ्य त जनसंख्या मन्त्रालयले आग्रह पनि गरिसकेको छ ।