काठमाडौं । बीमा समितिले माग गरेअनुसार तोकिएको समयसीमाभित्र २१ वटा बीमा कम्पनीले आफ्नो पुँजी योजना (क्यापिटल प्लान) पेश गरे पनि १९ कम्पनीले अटेर गरेका छन् ।
समितिले कम्पनीहरुको चुक्ता पुँजी डेढसय प्रतिशतले बढाउने निर्णय लिएसँगै तोकिएको पुँजी कसरी पुर्याउने ? भन्ने योजना पेश गर्न समितिले एक महिनाको समय दिएको थियो । तोकिएको समयमा सबैले योजना नबुझाएपछि समितिले एक दिन म्याद थप गरेर चाँडै पेश गर्न ताकेता गरेको छ ।
यता पुँजी वृद्धि गर्ने कुरा जटिल विषय भएकोले गहन छलफल गर्नुपर्ने भएकाले तोकिएको मिति पर्याप्त नहुने कतिपय बीमा कम्पनीका सीईओहरुको भनाई रहँदै आएको छ । उनीहरुले समितिले तोकेको समय बढाउनुको विकल्प नरहेको बताउँदै आए पनि समितिले भने चाँडै पेश गर्न दबाब दिएको गुनासो गरेका छन् । एक महिनाभित्र योजना पेश गरिसकेका कम्पनीहरुले पनि योजना कार्यान्वयन गर्न समय लाग्ने बताएका छन् ।
यता बीमा समितिले पुँजी योजना पेश गर्न एक महिनाको समय काफी रहेको भन्दै आफूहरुले थप समय नदिने बताएका छन् । समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले एक दिनभन्दा बढी आफूहरुले म्याद नथप्ने बताए ।
उनले कर्पोरेट नेपालसँग भने, ‘बीमा कम्पनीहरुलाई एक महिना समय दिइसकेका छौं । अब कति वटाको आउँछ ? त्यो पनि हेछौं । तर, म्याद थपिहाल्छ भनेर कम्पनीहरुले ढिलाई गरेर बस्न पाउँदैनन् ।’
बीमा समितिले पुँजी योजना पेश गर्न दिएको एक महिनाको समय गत शुक्रबार नै सक्किए पनि आज आइतबार एक दिन थप गरेको हो । दुई साताअघिसम्म कुनै पनि कम्पनीले योजना पेश गरेका थिएनन् ।
जीवन बीमा कम्पनीको पुँजी पाँच अर्ब र निर्जीवन बीमा कम्पनीको पुँजी साडे दुई अर्ब रुपियाँ पुर्याउनुपर्ने व्यवस्था गरेको समितिले कडाईका साथ पुँजी वृद्धि गराउने बताउँदै आएको छ , केही कम्पनीहरुले भने कम्पनीको पुँजी र व्यवसाय विस्तार बढाउँदै लैजानुपर्ने भन्दै हतार गर्दा समस्या आउनसक्ने बताएका छन् । विदेशी लगानीका कम्पनीहरुले भने समितिको निर्णयबाट आफूहरु अप्ठ्यारोमा परेको बताइरहेका छन् ।