काठमाडौं। बाग्लुङका फरक क्षमता (दृष्टिविहीन)का अमिट केसीले सर्वोच्च शिखर सगरमाथामा पाइला राख्ने अठोट लिएका छन् । उनी केही दिनमा सगरमाथा आरोहणका लागि प्रस्थान गर्ने तयारीमा छन् ।
केसी आफ्नो परिवारको भरणपोषणका लागि खाइपाई आएको प्राथमिक.विद्यालय दुष्टिविहीन राहत दरवन्दीसमेत त्यागेर नेपालको पहिलो र संसारको दोस्रो दुष्टिविहीन व्यक्तिको रुपमा सर्वोच्च शिखर आरोहण गर्न प्रयत्न गर्दै छन्।
सोलुखुम्बुको ६,१८६ मिटर उचाईको आइसल्याण्ड पिक, ६,६५४ मिटरको मेरापिक र ६,११९ मिटर उचाइको लोबुचे पिकको समेत सफलतापूर्वक आरोहण गरी नेपालको पहिलो दुष्टिविहीन आरोही बनेका केसीले भने, ‘अपांगता भएका व्यक्तिले यसो गर्यो, उसो गर्यो भन्ने जस्ता सफलताका उदाहरणमा विदेशी नाम धेरै सुनिन्छन् । मलाई नेपालमा पनि यस्तो मान्छे छ है भन्ने उदाहरण बन्न मन छ ।’
उनले सन् २०१७ मा पनि सगरमाथा आरोहण अभियानमा जुटेका थिए । चौथो आधार शिविर (साउथ कोल)मा पुग्दा मौसम खराबीका कारण करिव ३६ घण्टा बिताउनु पर्दा सँगै लगिएको अक्सिजन सक्किएकाले आठ हजार मिटर उचाइमा पुगेर पनि फर्किनु परेको अनुभव सुनाउँदै त्यसलगतै सरकारले अपाङगता भएका व्यक्तिहरुका लागि पर्वतारोहण गर्न नपाउने गरी प्रतिबन्ध लगाएको बताए ।
त्यसपछि केसी उक्त निर्णय खारेजीका लागि परमादेश माग गर्दै सर्वोच्च अदालत गएका थिए । सर्वोच्चले अपाङ्गता भएकको पक्षमा आदेश दिएपछि उनले सगरमाथा चुचुरोमा पुग्ने आफ्नो सपना पूरा गर्न लागेका हुन् ।
सन् २००१ मा अमेरिकाका एरिक वेहेनमेयर सगरमाथाको शिखरमा पुग्ने पहिलो दृष्टिविहीन आरोही हुन्। त्यस्तै, सगरमाथाको शिखरमा पुग्ने दोस्रो आरोही अस्ट्रियाका दृष्टिविहीन थिए । गत वर्ष मात्र चीनका झाङ होङले विश्वको तेस्रो र एसियाकै पहिलो दृष्टिविहीन आरोहीका रूपमा सगरमाथाको आरोहण गरेका थिए।
केसीको सगरमाथा आरोहण सफल भए नेपालकै पहिलो, विश्वकै चौथो र एसियाकै दोस्रो दृष्टिविहीन आरोही बन्नेछन्।