पाँच दलीय गठबन्धनको निर्णय अनुसार मनोनयन दर्ता गर्न निर्देशन
File-Photo

Advertisement

काठमाडौँ । सत्तारुढ गठबन्धनले पाँच दलीय गठबन्धनको निर्णय अनुसार मनोननय दर्ता गर्न निर्देशन दिएको छ । 

सोमवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकले मनोनयन दर्ता गर्दा गठबन्धनले गरेको निर्णय अनुसार गर्न नेता, कार्यकर्ताहरुलाई निर्देशन दिएको हो । 

Advertisement

बैठकले गठबन्धनको उम्मेदवारलाई निर्वाचित गराउनका लागि आ–आफ्नो दलको संयन्त्रमार्फत् निर्देशन दिने पनि निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए । उनले देशैभरी पाँच दलको एउटै उम्मेवार हुने बताए । 

उनले भने– ‘समग्र मिटिङमा पाँच दलको भावना र मर्म अनुसार अगाडि बढ्ने र काहीँ आन्तरिक केही असमझदारीहरु छन् भने तिनीहरुलाई समझदारीमा परिणत गर्ने र जनमतलाई ध्यानमा राखेर आफ्ना गतिविधिहरुलाई अगाडि बढाएर आज पाँच दलको जुन निर्णय छ, त्यही निर्णय अनुसार सबैलाई मनोनयन गर्नका निमित्त निर्देशन दिने कुरा भएको छ । केही असमझदारीहरु छन्, सिट थोरै छ । योगदान गरेका धेरै साथीहरु हुनुहुन्छ । स्वाभाविक रुपले उहाँहरुको आकांक्षा हुनुलाई अन्यथा ठहर्याउन सकिन्न । तर पार्टीको जुन एउटा मर्यादा छ, अनुशासन छ र अहिलेको जुन आवश्यकता छ त्यसलाई हृदयंगम गरेर पार्टीले जुन निर्णय गर्छ त्यो निर्णयलाई पालना गरेर अगाडी बढ्नुको हामीसँग अहिले विकल्प छैन र अहिले यो स्थानीय सरकारले विकास निर्माणलाई तिव्रता दिनुपर्दछ । पाँच वर्षको अनुभवले पनि के देखाएको छ भने स्थानीय सरकारले खासगरेर सडक पूर्वाधारहरुमा उल्लेख्य काम गरेका छन् । र अब यो पाँच वर्षमा विकास निर्माणलाई अगाडि बढाउने उद्देश्यले स्थानीय निकायलाई परिचालन गर्नुपर्दछ । स्थानीय निकायमा पाँच दलले खडा गरेका उम्मेदवारहरुलाई एकताका साथ निर्वाचित गराउन सबैले आ–आफ्नो संयन्त्रमार्फत् आ–आफ्नो दललाई निर्देशन गर्ने निर्णय भएको छ । र केही छुटफुट उम्मेदवारीहरु दर्ता भएपनि तिनीहरुलाई फेरी सहमती गरेर पाँच दलको एउटै उम्मेदवारहरु देशभरी हुनेछन् ।’

मन्त्री कार्कीले गठबन्धनको निर्णय विपरित उम्मेदवारी दर्ता गराउनेहरुलाई पनि सहमतीमा ल्याउने बताए । सञ्चारकर्मीको जिज्ञासाको जवाफ दिदैँ उनले उम्मेदवार छनौटको सम्बन्धमा नेपाली कांग्रेसभित्र कुनै समस्या नभएको बताए । 

Advertisement

Advertisement