काठमाडौं । सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न लागेका बाग्लुङका फरक क्षमता (दृष्टिविहीन)का अमिट केसीले बुझाउनुपर्ने रोयल्टीवापतको रकम सरकारले मिनाहा गर्नुका साथै थप १० लाख रुपियाँ आर्थिक सहयोग पनि गरेको छ ।
मन्त्रिपरिषदको गत चैत २४ गतेको बैठकले केसीले बुझाउनुपर्ने रोयल्टीवापतको रकम मिनाहा गरी थप १० लाख रुपियाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जानकारी दिएको छ ।
सर्वोच्च शिखरमा पाइला टेकेर कीर्तिमान कायम गर्ने लक्ष्यका साथ उनले पर्यटन विभागबाट आरोहण अनुमति लिएका छन् । उनी अहिले सगरमाथा आरोहणका लागि प्रस्थान गर्ने तयारीमा छन् । मन्त्रालयले केसीलाई प्रोत्साहनस्वरुप उक्त छट र सहयोग गरेको बताएको छ ।
केसी आफ्नो परिवारको भरणपोषणका लागि खाइपाई आएको प्राथमिक विद्यालय दुष्टिविहीन राहत दरवन्दीसमेत त्यागेर नेपालको पहिलो र संसारको दोस्रो दुष्टिविहीन व्यक्तिको रुपमा सर्वोच्च शिखर आरोहण गर्ने प्रयासमा छन् ।
सोलुखुम्बुको ६,१८६ मिटर उचाईको आइसल्याण्ड पिक, ६,६५४ मिटरको मेरापिक र ६,११९ मिटर उचाइको लोबुचे पिकको समेत सफलतापूर्वक आरोहण गरी नेपालको पहिलो दुष्टिविहीन आरोही बनेका उनी सगरमाथा आरोहण गर्न सफल भए नेपालकै पहिलो, विश्वकै चौथो र एसियाकै दोस्रो दृष्टिविहीन आरोही बन्नेछन् ।