गृहमन्त्रीको तर्क– एमसीसीका कारण अमेरिकाले सेना, बम बारुद ल्याए हामी अग्रपंक्तीमा लड्छौं

Advertisement

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले नेपालकै प्रस्तावमा एमसीसी आएको जिकिर गर्दै एमसीसी पास भएपछि अमेरिकाले बम बारुद ल्याउँछ भनेर भ्रम छर्ने काम गरिएको बताएका छन् । 

बुधवार नेपाल तरुण दलको कार्यक्रममा उनले एमसीसी प्रस्ताव पास हुनु नेपालकै लागि ज्यादै ऐतिहासिक र महत्वपूर्ण कार्य भएको तर्क गरे । यस परियोजनाले नेपालमा गरिबी निवारण र नेपालमा  रोजगारी अभिवृद्धिका लागि महत्वपूर्ण सहयोग पुग्ने खाँणको तर्क छ । 

Advertisement

उनले कतिपयले एमसीसी पास गरेपछि अमेरिकाबाट सेना र बम बारुद आउँछ भन्ने भ्रम छरिरहेको उल्लेख गर्दै बिजुलीको तारबाट बम बारुद र सेना नआउने जिकिर गरे । खाँणले पूर्ववर्ती सरकारले करिव ४ वर्षसम्म एमसीसी परियोजनालाई अनिर्णयको बन्दी बनाएर नेपालको भौतिक विकासमा अवरोध सिर्जना गरेको आरोप लगाए । 

खाँणले एमसीसी परियोजनाबाट बम, बारुद र सेना आए नेपाली काँग्रेस अग्रपंक्तिमा रहेर लड्ने बताए । उनले यो परियोजनाले नेपालको जलविद्युतको विकासका लागि धेरै ठूलो आयाम स्थापित गर्ने दाबीसमेत गरे । खाँणले अर्थतन्त्रलाई उकास्न पेट्रोलियम पदार्थको आयात कम गरी विद्युतीय साधनमा जोड दिनुपर्ने बताए । उनले नेपालको अर्थतन्त्रलाई उकास्न र पेट्रोलियम पदार्थको आयातलाई कम गर्न एमसीसी कोशेढुंगा साबित हुने बताए । 

Advertisement

Advertisement