चन्द्रपुरमा घरदैलो अभियानमा जुट्यो नेकपा एस

Advertisement

चन्द्रपुर । रौतहट जिल्लाको चन्द्रपुर नगरपालिकामा नेकपा (एकीकृत समाजवादी) ले घरदैलो अभियान शुरु गरेको छ । 

आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको शिलशिलामा बुधबार चन्द्रपुर नगरस्तरीय चुनाव प्रचारप्रसार कार्यालय र १० वटै वडामा वडास्तरीय कार्यालय स्थापना गरिएको हो । 

Advertisement

संघीय सांसद तथा नेकपा एसकी केन्द्रीय नेतृ कल्याणी खड्का, संबिधान सभा सदस्य रामकुमार भट्टराई, पार्टीका केन्द्रीय अनुशासन आयोग सदस्य महेन्द्र चौलागाईँ, नगरस्तरीय चुनाव प्रचारप्रसार समितिका संयोजक अमर आलेसहित नेताहरुले कार्यालय उद्घाटन गरेका हुन् । 

चुनाव प्रचारप्रसार कार्यालय स्थापनासँगै नेकपा एसले आज बिहीबारदेखि घरदैलो अभियान शुरु गरेको छ ।

मेयर पदका उम्मेदवार बाबुराम दाहाल, उपमेयर पदका उम्मेदवार रामरति चौधरी र वडा नम्बर ६ का उम्मेदवारहरुले आज पहिलो घरदैलो अभियान शुरु गरेका हुन् । निवर्तमान वडाध्यक्ष खड्गबहादुर कुश्वारसहित उल्लेख्य संख्यामा नेकपा एस समर्थित नेता कार्यकर्ता र स्थानीयवासीहरुले मोथियाही क्षेत्रमा आफ्नो पार्टीका उम्मेदवाहरुलाई मत माग्दै घरदैलो गरेका हुन् । 

नेकपा एसको तर्फबाट वडा नम्बर ६ को वडाध्यक्षका उम्मेदवार केशरबहादुर पहरी र सदस्यहरुका उम्मेदवारहरुमा शान्तिमाया राई, सीतादेवी दाश, कमलेश चौधरी र राजेन्द्रकुमार श्रेष्ठ चुनावी मैदानमा छन् । 

विज्ञहरुसँग छलफल गरी समृद्ध चन्द्रपुरको योजना बनाउँछौँः दाहाल
यसैक्रममा मेयर पदका प्रत्यासी बाबुराम दाहालले अहिले यस क्षेत्रमा राम्रो स्वास्थ्य संस्था, गुणस्तरीय शिक्षा प्रदान गर्ने शैक्षिक प्रतिष्ठान नहुँदा यहाँको करोडौँ पैसा बाहिरी जिल्लामा गइरहेको हुँदा स्थानीय स्तरमै त्यस्ता संरचना निर्माण गर्नु पर्ने बताएका छन् ।

आफू निर्वाचित भएमा उद्यमशीलताको विकास गरी वैदेशिक रोजगारीमा गइरहेका युवाहरुलाई स्थानीय स्तरमै उद्यम गर्ने वाताबरण सिर्जना गर्ने प्रतिबद्धता समेत जनाए । विभिन्न धर्म, जातजाति, भाषा संस्कृतिको संरक्षण गर्दै चन्द्रपुरलाई देशकै नमूना शहर बनाउने योजना आफूहरुसँग रहेको बताए ।  

चन्द्रपुरलाई कसरी समृद्ध नगर बनाउने भन्ने बारेमा विज्ञहरुमा छलफल गरी तत्कालीन र दीर्घकालीन योजना बनाएर अघि बढ्नु पर्ने आवश्यकता समेत औल्याए । घरदैलोमा जाँदा स्थानीय वासिन्दाबाट ठूलो आशा र विश्वास प्राप्त गरेकोले आफूहरुको जीत सुनिश्चित रहेको उनले प्रतिक्रिया दिए । 
 

Advertisement

Advertisement