ओलीको टिप्पणी– कांग्रेसले काठमाडौंमा बिना संकल्प र राजनीतिक सोच नभएकोलाई मेयर उठायो

Advertisement

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले काठमाडौंको मेयरमा नेकपा एमालेले नै जित्ने दाबी गरेका छन् । 

बिहीवार काठमाडौंमा आयोजित काठमाडौं महानगरपालिकाका विभिन्न पदमा उम्मेदवारी दिएका सदस्यहरुलाई शुभकामना दिँदै उनले एमालेका उम्मेदवारलाई काठमाडौंका सचेत जनताले विजयी गराउने बताए । 

Advertisement

अध्यक्ष ओलीले काँग्रेसको घोषणापत्र राजनीतिक दस्ताबेज नभएको दोहोर्याए । उनले काँग्रेसमा राजनीतिक सोच नभएका व्यक्तिहरु उम्मेदवारमा आएको बताए । ओलीले नोपली काँग्रेसकी नेतृ सिर्जना सिंहलाई बिना संकल्प र राजनीतिक सोच नभएको व्यक्ति भएको आरोप लगाए । 

उनले भने, ‘मैले अस्तिको दिन पनि भनेको थिएँ । काँग्रेसको घोषणापत्र भनेको कुनै राजनीतिक दस्ताबेज नै होइन । अघिल्लो सरकारको भण्डाफोर गर्ने, बिरोध गर्ने, आफू के गर्छु भन्ने कुरा होइन । काँग्रेसको घोषणापत्रमा नेकपा एमालेलाई गाली गरेको छ । व्यक्तिगत तवरमा मलाई गाली गरेको छ । गाली राजनीतिक भएको भएपनि हुन्थ्यो । होइन, असभ्य तरिकाले, निच भन्ने जस्ता शब्दहरु प्रयोग गरिगरिकन भद्दा गाली, असत्य, निराधार गाली गलौज गरेको छ । अलिकति संविधानका राम्रा कुराहरु उतार गरेको छ, अलिअलि हाम्रा घोषणापत्रका कुराहरु, हामीले बोल्ने भन्ने गरेका कुराहरु केही केही अलिक लद्दु विद्यार्थीले जाँचमा चोरेजस्तो उतार गरेको छ । कहाँ उठाउँछ के उठाउँछ अहिले त केही पनि थाहा हुँदैन, कतै एस कतै नो । कतै एस पार्टी उठाउँछ कतै नो पार्टी उठाउँछ । कहिले केमा भोट हाल्छ कहिले केमा । काँग्रेसको घोषणापत्र लिएर कुनै राजनीतिक सोच नभएका व्यक्तिहरु उम्मेदवारमा आएका छन् । न नयाँ पुस्ता न पुरानो पुस्ता ।  न योगदान न नयाँ संकल्प । न नयाँ उत्साह ।’

ओलीले नेकपा एमालेको स्थानीय निर्वाचन घोषणापत्रमा वहसका लागि आउन चुनौति दिए । उनले नेपाली काँग्रेसका महामन्त्री गगन थापाप्रति लक्षित गर्दै ट्युसन सेन्टर खोल्ने भन्नेलाई भर्खर परीक्षा पास गरेका साथीहरुसँग एमालेभित्र पनि भिडाइदिने बताए । जब चाहियो भने बालकोट आउन र ट्युसन खोल्न आउनेभए ठाउँ मिलाइदिने ओलीले बताए । उनले नेपाली काँग्रेसलाई कुहिरोको काग भएको बताउँदै पार्टीहरुले महिला भनेर श्रीमती र छोरी उठाएको बताए । 

उनले थपे, ‘नेकपा एमालेको स्थानीय निर्वाचनको घोषणापत्रको बिरुद्धमा कोही बहसमा आउँछ भने आउनुस् स्वागत गर्दछौँ । कोही ट्युसन क्लास चलाउँछु भन्नेहरु पनि तयार छन् भने हामी पनि यसो, हाम्रा लागि त्यो ठूलो कुरा भएन, भर्खर भर्खर पास गरेका भाइबहिनीहरु थुप्रो छन् यस्तो ट्युसन क्लासवालाहरुस्ँग मुकाबिला गर्ने भिडाइदिउँला केही छैन । तर हामी वहस गर्न तयार छौँ । नेपाली काँग्रेस विचार शुन्य, गन्तव्य हीन, विचारको हिसावले कुहिराको काग हो । कुहिराका कागको उद्देश्य भनेको पेट भर्ने हो । नेकपा एमाले कसैका छोरी,बुहारी काँधमा बोकेर हिँडेको पार्टी होइन, नातावादी कृपावादी पार्टी होइन । कसैले महिला उम्मेदवार दिएँ भन्छ होला श्रीमती उठाउँदा महिला त परिहाल्छ नि । छोरी उठाएपछि महिला त परिहाल्छ नि ।’

ओलीले नेकपा एमालेले नै महिलाको अस्थित्वको रक्षा गरेको बताए । उनले नेपाली काँग्रेसले १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको विषयमा अध्ययन तथा छानबिन गर्न नेपाली काँग्रेसले गर्न नदिएको बताए ।

Advertisement

Advertisement