काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले ‘बीबीसी मास्टर सेफ’ सन्तोष साहलाई नेपालको पर्यटनका विश्व सदभावना दूत नियुक्त गरेको छ ।
शुक्रबार पर्यटन मन्त्रालयमा आयोजित कार्यक्रममा पर्यटनमन्त्री प्रेम आलेले साहलाई सदभावना दूत नियुक्त गरेको प्रमाणपत्र प्रदान गरे । नेपाललाई विश्वसामु चिनाउन महत्वपूर्ण योगदान दिएका उनलाई सदभावना दूत नियुक्त गरी सम्मान गरिएको हो । उनले अब विश्वका विभिन्न मुलुकमा नेपालको पर्यटन प्रवर्द्धनका लागि सदभावना दूतको भूमिका खेल्नेछन् ।
साहले नेपालका विभिन्न परिकारहरुलाई विश्वमाझ चिनाउँदै आएका छन् । नेपालको मौलिक खाना, संस्कृति र गन्तव्य प्रवर्द्धनका लागि उनी नेपाल आएको हुन् ।हालै नेपालको १० दिने भ्रमणका लागि साहसँगै अन्य बीबीसी मास्टर सेफहरु एलेक्स, बार्ट र फिलिपासहितको टोली नेपाल आएको थियो ।
प्यासिफिक एसिया ट्राभल एशोसिएशन (पाटा) नेपाल च्याप्टरको निम्तोमा ‘बीबीसी मास्टर सेफः द प्रोफेसनल २०२०’ का फाइनालिस्टहरु नेपाल आएका थिए ।