काठमाडौं। गोरखाको गणेश हिमाल र गणेश कुण्ड क्षेत्रको पर्यटकीय सम्भाव्यताको खोज तथा अध्ययन गर्न भन्दै एउटा टोलीले त्यस क्षेत्रको भ्रमण गरेको छ ।
धार्चे मनास्लु पर्यटन विकास समितिका अध्यक्ष साने गुरुङको नेतृत्वमा नौ जनाको टोलीले त्यस क्षेत्रको अध्ययन भ्रमण गरेको हो । टोलीमा टान पोखराका सहसंयोजक हेमराज बास्तोला, माउन्टेन गाईड तथा कार्टोग्राफर सञ्जिव गुरुङ, सगरमाथा आरोही कान्छी डोल्मो ह्याल्मोलगायत थिए ।
उनीहरुले गत वैशाख २ देखि १२ गतेसम्म गणेश हिमालको आधार शिबिरसम्मको पदयात्रा गरेका हुन् । आफूहरुले गोरखाको पर्यटकीय क्षेत्रको प्राकृतिक, सांस्कृतिक, धार्मिक पक्षसहित पदमार्गको खोजी गरेको बताएको छ ।
टोली संयोजक गुरूङका अनुसार पर्यटकीय रुपमा अत्यन्तै सम्भावना भएता पनि गोरखाको यी क्षेत्र अझै ओझेलमा परेको बताउँदै पदमार्गमा रुन्चेतस्थित कालोपोखरी, गणेश कुण्ड, मनास्लु, बौद्ध, हिमालचुली, स्याला पिक, श्रृङ्गी, चमार, गणेश टु, गणेश फोर, चरङ्गी हिमालको दृश्यहरु अवलोकन गर्न सकिने बताए ।
उनले पदयात्राका लागि धेरै पूर्वाधार निर्माण गर्न जरुरी रहेको भन्दै पदमार्ग साईनेज, पोर्टर शेल्टर, पुल र खानेपानीको व्यवस्थापन गर्नुपर्ने बताए । यस क्षेत्रले पर्यटनको संभावना बोकेको र नयाँ ठाउँलाई प्रचार प्रसार र पुर्वाधार विकास गर्नु जरुरी रहेको भन्दै अध्यक्ष गुरुङले भने, ‘यो पदमार्ग पछ्याउदै गणेश हिमालको बेसक्याम्पसम्मको पदयात्रा गर्न सकिन्छ। अध्ययन कार्य पुरा भएको छ । अब यो क्षेत्रको टे«किङ म्याप, डकुमेन्टूी निर्माण तथा प्रचार प्रसार सामग्री छिट्टै प्रकाशन गर्नेछौ।’
अध्ययन टोलीका सदस्य पश्चिमाञ्चल टानका प्रतिनिधि हेमराझ वास्तोलाले यो पदमार्ग अत्यन्तै सम्भावना बोकेकोले टानका सदस्य एजेन्सिजहरुको लागि खुःसीको कुरा भएको बताए । उनले भने, ‘यो पदमार्ग एउटा नयाँ गतिलो पर्यटकीय गन्तव्य प्रडक्ट बन्न सक्छ।’
अध्ययन टोलीका सदस्य सगरमाथा आरोही कान्छी डोल्मा ह्योल्मोले गणेश हिमालको बेस क्याम्प रुटलाई निर्माण तथा पूर्वाधार विकास गर्न सकेमा गणेश हिमाल, र पविल हिमाल आरोहण गर्नलाई बाटो खुल्न सक्ने बताइन् ।
अध्ययन टोलीका अर्का सदस्य तथा माउन्टेन गाईड सञ्जिव गरुङले यस क्षेत्रलाई दुई वटा पदमार्गमा वाड्न सकिने बताए। एउटा पदमार्ग केरौजाबाट माहुङ खर्क, लाम्ब्रा डाडा, बुङमार्चेत, खर्क, बिरिम डाडा, मान्द्राचे, सेने काङ पास, मेघाचेत हुँदै गणेश कुण्ड, त्यहाँबाट मेघाचेत, सुग्पा ब्ले, रोङजा काङ, कालोपोखरी हुदै रुन्चेत र अर्को दोभानबाट हुल्चोक हुँदै सुर्तिबारी, सेक्सुको पास, जुङतुर डाँडा, काइबुङ डाँडा, धामबाचेत खर्क, सुग्पा खर्क, हेचामबा खर्क, गणेश हिमाल बेस क्यम्प पुग्न सकिने छ ।