पुँजी वृद्धिबारे छलफल गर्न सबै जीवन बीमा कम्पनीका सीईओ र अध्यक्षलाई बोलायो बीमा समितिले

Advertisement

काठमाडौं । बीमा समितिले पुँजी वृद्धिबारे छलफल गर्न सबै जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) र सञ्चालक समितिका अध्यक्षहरुलाई बोलाएको छ । 

समितिले छलफलमा उठेका समस्या र सल्लाह सुनेर पुँजी वृद्धिका लागि सहज वातावरण बनाउने बताएको छ । एक्कासी पूँजी वृद्धि गर्ने निर्णयसँगै बीमा कम्पनीहरु झस्किएपछि समितिले सहजीकरण गर्ने प्रयास गरेको हो । 

Advertisement

समितिले माग गरेअनुसार अधिकांश बीमा कम्पनीहरुले आफ्नो पुँजी योजना समितिमा पेश गरिसकेका छन् । विदेशी लगानीका र सरकारी स्वामित्वका बीमा कम्पनीले भने यस्तो योजना पेश गर्न आनाकानी गर्दै आएका छन् । तर, बीमा समितिले पुँजी योजना समयमा पेश नगर्ने बीमा कम्पनीहरुलाई कारबाही गर्ने बताएको छ । 

बीमा समितिका कार्यकारी निर्देशक तथा प्रवक्ता राजुरमण पौडेलले कर्पोरेट नेपालसँग भने, ‘हामीले पुँजी वृद्धि गर्नुपर्छ भन्ने निर्णय गरिसकेका छौं । यो अहिलेको बजारको माग पनि हो । पुँजी बढाउनका लागि बीमा कम्पनीहरुले के कस्तो रणनीति अपनाउँछन् ? त्यो पनि महत्वपूर्ण हुन्छ । एक चरण सबै बीमा कम्पनीहरुले आफ्नो योजना समितिमा पठाएका छन् । हामीले उक्त योजनालाई कसरी लागू गर्ने भन्ने विषयमा कम्पनीहरुको धारणा सुन्न लागेका हौं ।’

बीमा कम्पनीहरुले पुँजी वृद्धि गर्ने कुरा सहज नरहेकाले त्यसका लागि केही समय लाग्ने बताउँदै समय थप्न समिति तयार हुनुपर्ने बताउँदै आएका छन् । समितिले एक वर्षसम्म कम्पनीहरुलाई समय दिने र त्यछि कडाईका साथ अघि बढ्ने बताएको छ ।

पौडेलले नयाँ बीमा कम्पनीले लाइसेन्स नपाउने पनि स्पष्ट पारे । उनले भने, ‘अब नयाँ बीमा कम्पनीहरुले तत्काल लाइसेन्स पाउने अवस्था छैन् । यस्तो बेलामा यहाँ भइरहेका कम्पनीलाई थप बलियो बनाउनु हाम्रो पनि दायित्व हो ।’ कम्पनीकै हितका लागि पुँजी वृद्धिको निर्णय गरिएकाले यसको कार्यान्वयनमा पनि समितिले सघाउने पौडेलको भनाई छ । 

Advertisement

Advertisement