काठमाडौं। यसअघि २५ पटक सर्वोच्च शिखर सगरमाथाको चुचुरो चुमिसकेका कामिरिता शेर्पाले २६ औं पटक सफल आरोहण गरेर आफ्नै रेकर्ड तोड्न सफल भएका छन्।
विश्वको सर्वोच्च शिखर (८,८४८.८६ मिटर अग्लो) सगरमाथा हिमालको उनले शनिबार बेलुकी ६ बजेर ५५ मिनेटमा आरोहण गरेका हुन् । शेर्पाले आरोहणबारे आफ्नो फेसबुक पेजमार्फत सार्वजनिक गरेका छन्।
माउन्टन गाइट शेर्पाले यस वसन्त ऋतुमा रुट खोलेर २६औं पटक सगरमाथा आरोहण गरेका हुन् । उनीसँगै सगरमाथा पुगेका अन्य आरोहीमा सोना शेर्पा, निग्मा तासी शेर्पा, फुर्वा छिरिङ शेर्पा, तेञ्जिङ ग्याल्जेन शेर्पा, लाक्पा तेन्जी शेर्पा, फुर्वा कुसाङ शेर्पा, मिग्मा दाण्डु शेर्पा, पासतेञ्जी शेर्पा, तारेमान तामाङ र फुर्वा छोतार पनि कामी रितासँगै सगरमाथा चुचुरोमा पुगेका छन् ।
सोलुखुम्बुको थामे गाउँपालिकाका ५२ वर्षीय कामिरिता शेर्पा सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गरेकाले कीर्तिमान कायम राख्न सफल भएका हुन् । उनले सगरमाथाबाहेक आठ पटक चो ओयु, तीन पटक मनास्लु, एक पटक लोबुचे, एक पटक के टु गरी ३८ पटक विश्वका अग्ला हिमालहरु आरोहण गरिसकेका छन्।
यसअघि उनले तीन सिजनमा दुई–दुई पटक सगरमाथा आरोहण गरिसकेका छन् । शेर्पाले चुचुरोसम्म डोरी टाँग्ने जिम्मेवारी पनि पाएकाले सन् २००९, २०१० र २०१३ मा एकै याममा दुई पटक सगरमाथा चढेका थिए ।