स्थानीय चुनावअघि नै दिने भनिएको कोरोना बीमाको पैसा फेरि  पछाडि धकेलियो

Advertisement

काठमाडौं । बीमा समितिले बीमितहरुलाई स्थानीय चुनाव अघि नै कोरोना बीमाको दावी भुक्तानी दिलाउने आश्वासन दिए पनि प्रयास असफल हुने भएको छ । 

चुनाव आउन तीन दिन मात्रै बाँकी रहँदा समितिले अब चुनाव अघि उक्त रकम भुक्तानीको संभावना कमजोर भएको जानकारी दिएको छ । बीमितहरुले दावी भुक्तानीका लागि महिनादेखि प्रयास गर्दै आए पनि सरकारले प्रतिवद्धताअनुसार रकम दिन आनकानी गर्दा उनीहरु आफ्नो रकम पाउनबाट बन्चित हुँदै आएका छन् । 

Advertisement

बीमा समितिका कार्यकारी निर्देशक तथा प्रवक्ता राजुरमण पौडेलले बीमितहरुलाई स्थानीय चुनावअघि नै कोरोना बीमाको रकम उपलब्ध गराउन आफूहरुले निकै पहल गरे पनि त्यो संभावना अहिलेलाई नदेखिएको बताए । 

उनले कर्पोरेट नेपालसँग भने, ‘हामीले बारम्बार मन्त्रालयसँग कोरोना बीमाको पैसाका लागि पहल गरिरहेका छौं । मन्त्रालय पनि सकारात्मक छ । अब हामीले कोरोना बीमालाई सेफ ल्याण्डिङ गर्न आवश्यक छ ।’ 

कोरोना बीमाको पैसा सरकारबाट मात्रै आउन बाँकी रहेको र पैसा पाउना साथ कम्पनीहरुले सक्दो चाँडो भुक्तानी गर्ने बताए । कोरोना बीमा गर्ने बीमितको ११ अर्ब रुपियाँको दावी परेकोमा करिव आधा भुक्तानी भइसके पनि आधा सरकारले प्रतिवद्धताअनुसारको रकम नदिँदा भुक्तानीमा ढिलाई भइरहेको छ । 

बीमक संघले कोरोना बीमाको भुक्तानी छिटो टुंग्याउन आफूहरुले चाहे पनि सरकारबाट नै रकम आउन ढिलाई हुँदा भुक्तानीमा ढिलाई भई आफूहरुलाई समेत अप्ठ्यारो परेको बताएको छ । अहिले कोरोना बीमाको पैसा दिन सबै कर्मचारीहरु तयारी अवस्थामा रहे पनि पैसाकै अभाव भएकाले मात्रै भुक्तानी रोकिएको संघको भनाई छ । 

अरु बीमाभन्दा कोरोना बीमा केही फरक छ । अरु बीमा गर्दा पूनर्बीमा कम्पनीले पनि जोखिम बहन गर्ने तर नेपालमा परीक्षणको रुपमा सुरु गरिएको कोरोना बीमाको जोखिम पुनर्बीमा कम्पनीले व्यहोर्दैन् । अनुमानभन्दा धेरै दावी पर्न थालेर समस्या सिर्जना भएपछि सरकारले पनि निश्चित दायित्व बहन गर्ने प्रतिवद्धता जनाएपछि कोरोना बीमा सुचारु गरिएको थियो । 

समितिका अधिकारीहरुको आश्वासनबाट आशावादी भएका कोरोना बीमितहरु स्थानीय चुनावअघि दावी भुक्तानी नपर्ने कुराबाट पुनः निराश हुने भएका छन् । कोरोना महामारी सुरु भएसँगै दुई वटा मोडलमा कोरोना बीमा जारी गरिएको थियो । तर, केही महिनापछि कोरोना बीमालाई परीक्षणकालिन बीमा भन्दै मोडल हेरफेर गरिएको थियो । 

पहिला पचास हजार र एक लाख रुपियाँ बीमांक कायम रहेको कोरोना बीमा पछि एक लाख रुपियाँमा मात्र कायम गरियो । सुरुका दिनमा सहजै दावी भुक्तानी गरेका कम्पनीहरुले कोरोना परीक्षणको रिपोर्टमा समस्या देखिन थालेपछि झस्किएका थिए । तर बीमा गरेर पनि साच्चै संक्रमित भएका दशौं हजार पीडितले भुक्तानी नपाउँदा रुष्ट हुँदै आएका छन् । 

Advertisement

Advertisement