बीमा समिति ५४ वर्षमा प्रवेशः कस्ता छन् समितिका आगामी चुनौति ?

Advertisement

काठमाडौ । नेपालमा राणाकाल तथा सोभन्दा अघि नै अनौपचारिकरुपमा सामूहिक बीमा गर्ने प्रचलन थियो । राणाकालमा ब्रिटिस तथा भारतीय बीमकले बीमा बजार क्षेत्रमा एकलौटी नियन्त्रण गरेको इतिहासको अध्ययनले देखाउँछ । 

तर औपचारिकरुपमा नेपालमा बीमा सुरु भएको भने साढे सात दशक भएको छ । सर्वप्रथम २००४ सालमा नेपाल इन्स्योरेन्स कम्पनीको स्थापना भएको हो भने २०२४ सालमा राष्ट्रिय बीमा संस्थानको स्थापना भएको हो । स्थापनापछिको लामो समय संस्थानले जीवन र निर्जीवन दुवै व्यवसाय गर्दै आयो । संस्थान स्थापना भएपछि नै सरकारले बीमा ऐन २०२५ जारी गरेको हो । त्यो हिसाबले हेर्दा बीमा व्यवसायको जग नेपालमा पञ्चालितकालिन समयको पूर्वाधमा भएको देखिन्छ । 

Advertisement

बीमा ऐन जारी भएसँगै २०२६ सालमा बीमा समितिको पनि स्थापना भयो । बीमा क्षेत्रको नियामकको रुपमा समिति स्थापना भए पनि निजी क्षेत्रबाट नयाँ बीमा कम्पनीहरु थपिने काम २०४६ पछि मात्रै भयो । स्थापना भएको निकै बर्षपछि २०४९ सालमा मात्रै समितिले स्वायत्तता पाएको हो । समिति गठन भए पनि बीमा संस्थान भने संस्थान ऐन, २०२५ अन्तर्गत अर्थ मन्त्रालयको नियन्त्रणमा चल्दै आयो । 

सुरुका दिनहरुमा निर्जीवन बीमा व्यवसाय मात्रै गर्दै आएको बीमा संस्थानले २०२९ पछि मात्रै जीवन बीमा गर्न तालेको हो । त्यसअघिसम्म भारतीय कम्पनीहरु नेपालमा आएर जीवन बीमा गराउने गरेका थिए । त्यो कुरालाई चिर्ने काम बीमा संस्थानले जीवन बीमा गर्न थालेर सुरु गरेको हो । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी वि.स.२०५८ सालमा स्थापना भएको हो । सोही समयमा एलआईसी नेपालले पनि बीमा समितिबाट लाइसेन्स पाउन सफल भएको थियो । 

बीमा कम्पनीहरु खुल्ने र प्रतिस्पर्धात्मक ढंगले सेवा दिने क्रम सुरु भए पनि लामो समयसम्म नेपाल पुनबीृमा कम्पनीविहीन अवस्थामा रह्यो । यही क्रममा २०६० सालमा स्थापित आकस्मिक बीमा कोषलाई २०७१ सालमा नेपाल पुनर्बीमा कम्पनीको रुपमा रुपान्तरण गरियो । 

हाल निजी क्षेत्रको लगानी रहेको हिमालन पुनर्बीमा कम्पनीलाई समेत समितिले लाइसेन्स दिएर सकेसम्म स्वदेशी बीमा कम्पनीहरुको व्यवसाय बाहिरिन नदिन पयास गरिरहेको देखिन्छ । 

बीमा कम्पनीहरु ३ सरकारी ३ विदेशी
नेपालमा जीवन बीमातर्फ एक, निर्जीवन बीमातर्फ एक पुनर्बीमातर्फ एक गरी तीन वटा सरकारी बीमा कम्पनीहरु रहेका छन् । विदेशी कम्पनीको शाखाको रुपमा कार्यरत कम्पनी जीवनतर्फ एक र निर्जीवन तर्फ दुई गरी तीन वटा रहेका छन् ।

यस्तै, निजी क्षेत्रको लगानीमा खुलेका बीमा कम्पनीहरुमध्ये जीवन तर्फ १६ वटा निर्जीवन बीमातर्फ १६ वटा गरी कुल ३२ वटा कम्पनी रहेका छन् । यीमध्ये हालसालै केही तीन जीवन बीमा कम्पनी र दुई निर्जीवन बीमा कम्पनी मर्जरमा जान तयार भई सम्झौतासमेत गरिसकेका छन् । संयुक्त लगानीका जीवन बीमातर्फ एक र निर्जीवन बीमातर्फ एक गरी दुई कम्पनीहरु रहेका छन् ।

यसरी निर्जीवन बीमा कम्पनी २० वटा, जीवन बीमा व्यवसाय गर्ने कम्पनी १९ वटा तथा दुई वटा पुनर्बीमा कम्पनी गरी बीमा क्षेत्रमा कम्पनीको कुल संख्या ४१ रहेको छ । पुँजी वृद्धि गर्नुपर्ने समितिको निर्णयका कारण अरु पनि कम्पनी मर्जरमा जान मानसिक दबाबमा रहेका छन् । यीमध्ये केहीले मर्जरका लागि भित्री तयारी पनि गरिरहका छन् । 


अहिले बीमाको पहुँच ३७ प्रतिशत पुगेको बीमा समितिले दाबी छ । सरकारले यो आर्थिक बर्षभित्र ३५ प्रतिशत पुर्याउन लक्ष्य तोकेको अवस्था छ । बीमा अर्थतन्त्रको एउटा महत्वपूर्ण सुचक हुनुका साथै सामाजिक सुरक्षा र जोखिम बहनको आधार पनि हो । 

तर यसको दायरा अपेक्षाकृति बढ्न सकेको छैन् । बीमा क्षेत्रमा रहेको अस्वस्थ प्रतिस्पर्धा घटाउँदै बीमा कम्पनीहरुको क्षमता बढाउनुपर्ने र समितिको आफ्नै पनि नियमन क्षमता बढाउनुपर्ने चुनौतिका बीच समितिले आज आइतबार आफ्नो ५४औं बार्षिकोत्सव मनाइरहेको छ । 

साथै, बीमा क्षेत्रका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने, बीमा सेवालाई प्रविधिमैत्री बनाउन सहजीकरण गर्नुपर्ने, जनतामा बीमाप्रतिको वितृष्णा कम गरेर आकर्षण बढाउनुपर्ने, बीमा क्षेत्रमा हुने बदमासी र आपराधिक गतिविधि हुन नदिने र सबैभन्दा ठूलो समस्याको रुपमा रहेको दावी भुक्तानीलाई छिटा छरितो र सहज गर्नुपर्ने चुनौति समितिसामु देखिन्छ । 

Advertisement

Advertisement