काठमाडौं । भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिरा एयरवेजको अवतरण गरेको छ । सोमबार बिहान २ बजेर ३० मिनेटमा उक्त विमान अवतरण गरेको हो ।
गौतमबुद्ध विमानस्थलमा प्रत्यक्ष हवाई सेवा शुरु भएको छ । यो जजिरा एयरवेजद्वारा नेपालमा सञ्चालित यो दोस्रो सेवा हो । यसअघि उसले सन् २०१९ नोभेम्बरदेखि कुवेत र नेपालबीच सिधा हवाई सेवा दिँदै आएको छ ।
कुवेतसँग सिधा हवाई सेवा सञ्चालन भएपछि मध्यपूर्वमा बसोबास गर्ने नेपालीलाई नेपालको दक्षिण–पश्चिम क्षेत्रमा प्रत्यक्ष हवाई सेवामार्फत जोड्न सहज हुने बताइएको छ ।
गौतमबुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गर्न चाहने तीर्थयात्री र पर्यटकका लागिसमेत यसले थप सहज हुने आशा गरिएको छ ।
दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा सञ्चालनमा आएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको आज औपचारिक उद्घाटन हुँदैछ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज लुम्बिनीको भ्रमण पनि गर्दैछन् ।
जजिरा एयरवेजले साताको आइतबार, मङ्गलबार, बिहीरबार कुवेतबाट नेपालका लागि उडान भर्नेछ । यस्तै सोमबार, बुधबार र सोमबार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट यात्रु लिएर फर्कने छ ।