हामीले खोजेजस्तै बजेट आयोः बीमा समिति, सीईओहरुको मिश्रित प्रतिक्रिया

Advertisement

काठमाडौं । बजेटमा बीमा क्षेत्रलाई विशेष प्राथमिकता दिएकोमा बीमा समितिले प्रसंशा गरेको छ । बजेटले बीमा विविध क्षेत्रलाई समेटेको भन्दै समितिले आफूहरुले खोजे जस्तै बजेट आएको बताएको हो । 

समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले भने,‘ अहिलेको बजेट बीमामैत्री छ । त्यहाँ बोण्डको कुरा आएको छ । जीवन बीमाका लागि कर छुटको कुरा आएको छ । बीमा क्षेत्रको तर्फबाट हेर्दा अहिलेको बजेट निकै राम्रो छ ।’ 

Advertisement

उनले लघुबीमालाई बजेटले समेटनु पनि राम्रो कुरा भएको बताए । पौडेलले सरकारले बीमालाई उत्पादन र उत्पादकत्वसँग जोडेकाले अहिलेको बजेट प्रशंसा गर्न योग्य रहेको बताए । 

त्यस्तै, कैदी बन्दीहरुको स्वास्थ्य बीमा गर्ने कुुरा, स्वास्थ्य बीमा कार्यक्रमलाई निजी बीमा कम्पनीमार्फत गराउँने कुरा पनि निकै स्वागतयोग्य कुरा हो भन्दै उनले जीवन बीमा र निर्जीवन बीमा दुवै तर्फका कम्पनीहरुलाई बजेटले सम्बोधन गरेको बताए । 

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पोषकराज पौडेलले अहिलेको बजेटले बीमा क्षेत्रमैत्री कदम चालेको बताए । उनले भने, ‘यसपालिको बजेटले बीमा क्षेत्रमैत्री कदम चालेको देखिन्छ । बीमाको समसामयिक विषयसम्म बजेट पुग्नु भनेको राम्रो कुरा हो । अहिले हामीले सरसर्ती हेर्दा लघु बीमालाई लाइसेन्स दिने कुरा राम्रो कुरा हो ।’

पौडेलले बजेटमा बीमाको लगानीको कुराहरु पनि सम्बोधन भएको भन्दै यसलाई आफूहरुले सकारात्मक रुपमा लिएको बताए । बजेटले धेरै योजनाहरुलाई समावेश गरेको र यसलाई आफूहरुले बीमाको दायरा वृद्धि भएको रुपमा पनि लिएको बताए । 

त्यस्तै, अजोड इन्स्योरेन्स कम्पनीका सीईओकुमारबहादुर खत्रीले भने बजेटमा बीमा क्षेत्रलाई समेट्ने केही कुरा अस्पष्ट रहेको बताए । उनले भने, ‘बजेछमा आएको कुराहरु राम्रो देखिएको छ । सरकारले ल्याएको कार्यक्रम राम्रो छ । तर अझै बीमा क्षेत्रलाई समेटने केही योजनाहरु अस्पष्ट छ ।’

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीका सीईओश्रवणकुमार रावलले बजेटमा आएका योजनाहरु निकै सकारात्मक भए पनि पहिलाको बजेटले ल्याएको कोरोना बीमाको कुरालाई यसपटकको बजेटले कुनै पनि सम्बोधन नगरेको बताए । 

उनले कोरोना बीमा अहिले बीमा कम्पनीहरुको समस्याको रुपमा रहेकाले त्यसको विषयमा सरकार मौन रहनु भन्दा कम्पनीहरुलाई केही सहयोग गरेको भए राम्रो हुने थियो भने । 

केही सीईओहरुले भने बजेटको बारेमा आफूहरु अपडेट नभएको प्रतिक्रिया दिए । नेपाल लाइफका सीईओ प्रविणरमण पराजूली, युनियन लाइफका सीईओ मनोजकुमारलाल कर्ण र नेशनल लाइफका सीईओ सुरेश खत्रीले आफूहरुले पूर्ण रुपमा बजेटको अध्ययन गर्न बाँकी रहेको बताए । यद्यपि सरसर्ती सुन्दा सकारात्मक नै लागेको उनीहरुको भनाई छ ।

Advertisement

Advertisement