माछा मरेपछि कमलपोखरी दुर्गन्धित: छठ समाजको सक्रियता, महानगरपालिकाको बेवास्ता

Advertisement

काठमाडौं । ऐतिहासिक महत्व बोकेको कमल पोखरीबाट यतिबेला दुर्गन्ध फैलिएको छ । पोखरीमा त्यहाँका माछा भटाभट मरेर दुर्गन्धित भएपछि पोखरीको छेउछाउमा पुग्नेहरु नाक थुनेर हिड्न बाध्य  छन् । रमणीय दृष्य हेर्न र घुम्न जाने जोकोही पोखरीको गेटभित्र छिर्नासाथ नाक खुम्च्याएर बाहिर निस्किहाल्ने गरेको दृष्य यतिबेला त्यहाँ देखिने गरेको छ । 

काठमाडौं महानगरपालिकाका पूर्व मेयर विद्यासुन्दर शाक्यको पालामा पुनर्निर्माणको कार्य सम्पन भई दुई महिना अगाडि कमल पोखरीको उद्घाटन गरिएको थियो । करिब २३ रोपनी १४ आना क्षेत्रफलमा फैलिएको सो पोखरीको स्वरुप त्यसबेला फेरिने दाबी गरेता पनि अहिले भने पोखरी बेवारिस जस्तै अवस्थामा छ ।

Advertisement

उद्घाटनपछि महानगरको ध्यान नगएको पोखरीभित्रको पानीलाई चार इन्च मोटो झारले छपक्कै ढाकेको छ । पोखरीको पानी नै नदेखिने गरि छपक्कै ढाकेको सोही झारको कारणले पोखरीमा हालिएका माछाले सास फेर्न नसकेर भटाभट मर्न थालेका हुन् । तर, हिजो(मंगलबार)देखि भने ‘कमल पोखरी छठ पूजा समाज’को सहयोगमा झारलाई निकाल्ने काम भइराखेको छ ।

यतिबेला झारसँगै मरेर कुहिएका माछालाई पन्छाएर पोखरीको डिलमा राख्ने काम हुँदैछ । सोही कार्यमा खटिएका छठ समाजका अध्यक्ष राजेन्द्र सिंहले दुई हप्ता अगाडि पोखरी वरिपरिको घाँस सफा गरेको र फेरि अर्को समस्या आएको बताएका छन् । उनले भने, ‘हिजोदेखि पोखरीभित्रको झार तथा लेउ सफा गर्न थालेको हो । यो झार (बाहिर निकालिएको झारको थुप्रोलाई देखाउँदै) को एउटा पातबाट ७५ वटा पात पलाउने रहेछ, त्यही भएर यो झार चाँडै धेरै मोटो भयो । सायद आउने शनिबारसम्म सफा भइसक्छ ।’

उनले पोखरीमा आउने आगन्तुकहरु दुर्गन्धले गर्दा छि-छि दुर-दुर गर्न थालेको र उहाँहरुले नै पोखरीको डिलमा हिड्दा के को दुर्गन्ध आएको हो भनेर खबर गरेपछि मात्र आफूहरुले माछा मरेर कुहिएको थाहा पाएको जानकारी गराए । उनका अनुसार अहिले पोखरीमा बाँकी रहेका जिउँदो माछालाई बचाउन र दुर्गन्धलाई हटाउन छठ समाजले स्वस्फूर्तरुपमा पोखरी सफा गरिराखेको छ । 

छठ समाजका अध्यक्ष सिंहले आफू अन्य कामले व्यस्त भएका कारणले हेर्न नभ्याएको र यसको दोष सबैले छठ समाजलाई दिएको गुनासो गर्दै भने, ‘झारले पोखरीलाई एक महिनाभित्र ढाकिसकेछ, म पनि अरु कामले व्यस्त भए । यहाँ हेर्ने निकाय पनि छैन । जसले पनि यही छठ समितिलाई दोष दिन्छन् । छठ पूजा आएपछि मात्रै सफा गर्ने हो ?, भन्छन् । हामीले पोखरी छठमा निरन्तर सफा गरिराखेकै हो । दुई महिना अगाडि पूर्व मेयर शाक्यले पोखरीको उद्घाटन गर्नु भएको थियो । उद्घाटन गरेदेखि पोखरीको सरसफाई भएको थिएन । तरपनि हामीले दुई हप्ता अगाडि वरिपरिको घाँसहरु लगायत सबै सफा गरेका थियौं । यहाँ आउने मान्छेले गनायो गनायो भनेपछि के रहेछ भनेर हेर्दा माछाहरु पल्टिराखेको देख्यौं । झारले पानी ढाकेकोले माछाले साँस फेर्न नपाएर मरेका रहेछन् ।’

हाल भएका माछालाई बचाउन छठ समाजले पानीको फोहोराको लागि पोखरीको बीचमा राखिएको फाउन्टेनलाई नजिकै रहेको मन्दिरको छेउबाट लाइन ल्याएर संचालनमा ल्याएको छ । जसले गर्दा हाल केही मात्रामा सफा हुँदै गएको पोखरी र चालु गरिएको फाउन्टेनका कारण माछा मर्नबाट बचेको अध्यक्ष सिंहले बताए । 

पोखरीको आयश्रोत केही नभएपनि त्यहाँ प्रत्येक वर्ष छठ पूजा हुने भएकाले बाध्य भएर छठ समाजले पोखरी सफा गरिराखेको बताउने अध्यक्ष सिंहले पोखरी सफा गर्नको लागि एक जना कामदार दैनिक राख्नुपर्ने आवश्यकता रहेको बताएका छन् । उनले भने, ‘अब एकचोटी सफा गरिसकेपछि प्रत्येक दिन सफा गर्ने मान्छे राख्नुपर्छ नत्र भने एक महिनामै चार गुणा पातहरु(झ्याउ) बढेर फेरि समस्या आउछ ।’

उनका अनुसार अब पोखरी सफा गरिसकेपछि ‘कमल पोखरी हराभरा सफा राखौं, युवा मेयर बालेन साहको कार्यकाल सफल पारौं’ ब्यानर राख्ने र सबै मिलेर (स्थानीयवासी, छठ समाज, कमलपोखरी स्पोर्टस् क्लब आदि) पोखरी सधैंभरि सफा राख्ने काममा लागिपर्ने बताएका छन् । अध्यक्ष सिंहले कमलपोखरीको संरक्षण तथा सरसफाइ गर्ने कामको जिम्मा छठ समाजलाई दिएको खण्डमा कमल पोखरी सधैंभरि हराभरा हुने बताएका छन् । उनले विशेष गरी अहिलेका मेयर साहलाई समर्थन गर्नको लागि पनि पोखरी सफा र संरक्षणलगायतका काम गरेको बताए । 

अध्यक्ष सिंहका अनुसार आठ-नौ महिना अगाडि छठ समितिले करिब २८ हजार माछा पोखरीमा हालेको थियो । अब माछासहितको सफा, स्वच्छ र हराभरा बनाएपछि मेयर साहलाई कमल पोखरी हेर्नको लागि निमन्त्रणा गर्ने र पोखरीको जिम्मेवारी छठ समाजलाई दिन आग्रह गर्ने बताए ।

उनले पोखरीको पानी अबको यसैहप्ताभित्र सफा तथा कन्चन हुने बताए । उनका अनुसार हाल छठ समाजले पोखरी सफा गर्ने कामको जिम्मा ५० हजार रुपियाँमा ठेक्का दिइएको हो । १८ वर्षदेखि स्पोर्टस क्लब र छठ समाजले सरसफाई तथा संरक्षण गर्दै आएको कमलपोखरी पहिला ढल पोखरी थियो । हरेक पटक महानगरपालिकालाई गुहार्नु भन्दा स्थानीय आफै लागि परौं र युवा मेयरलाई साथ दिउ भन्ने हिसाबले हालको दुर्गन्धलाई हटाउन पनि छठ समाजले स्वस्फूर्तरुपमा १२/१५ जना कामदार खटाएको छ । 

Advertisement