काठमाडौं । पर्वतारोहणको सिजन सुरू भएसँगै हिमाल आरोहण गर्न र पदयात्राका लागि नेपाल आउने विदेशी पर्यटकको संख्या बढ्ने क्रम बढे्को छ । पर्यटन क्षेत्र विस्तारै लयमा फर्किन थालेको छ ।
तर पर्वतारोहणका क्रममा रहेका विदेशी पर्यटक बेपत्ता भएको समाचारले पर्यटन क्षेत्रमा अर्को चिन्ता थप्ने गरेको छ । सगरमाथा आधार शिविर हिँडेका भारतीय र कोरियाली बेपत्ता भएको महिनौ भइसक्दा पनि उक्त घटना पत्ता नलाग्नु दुखद भएको पर्यटन व्यवसायीहरु बताउँछन् । कोरियाली महिला पर्यटक ५० वर्षीया योहन लि गत चैत ६ मा र भारतीय ३१ बर्षीय डा. चन्द्रमोहन शिवनाथ गत जेठमा बेपत्ता भएका हुन् ।
त्यस्तै, केही महिनादेखि सोलुखुम्बुको खुम्बु क्षेत्रमा सगरमाथा आधार शिविर हिँडेका दुई विदेशी पर्यटक बेपत्ता भएका थिए । टानका अध्यक्ष खुमबहादुर सुवेदीले सगरमाथा आधार शिविर हिँडेका बेपत्ता भारतीय चिकित्सक र कोरियन महिलाको खोजी कार्यका लागि सगरमाथा पोलुशन कन्ट्रोल कमिटि, टान, पर्यटक प्रहरीलगायत सरोकारवालाहरुले खोजी कार्य जारी राखेको बताए ।
उनले भने, ‘पटक–पटक सरकारसँग अनुरोध गरेका हौं, ट्रेकिङ कम्पनीबाट एउटा भरिया पनि सहयोगी गाइड भएन् । भरीया साथीमा लगेर गएको भए यस्तो घटना हुने थिएन् ।’
सुवेदीले थपे, ‘यस्तो घटनाहरुबाट सरकारले पनि पाठ सिक्नुपर्छ । हरेक देशका दूतावासहरुले पनि आफ्ना नागरिकहरुलाई ट्रेकिङ कम्पनीमार्फत मात्र ट्रेकिङ गराउ है, भन्ने कुरा नेपाल आउने पर्यटकहरुलाई सन्देस दिन आवश्यक देख्निछ ।’
टेकिङ कम्पनीबाट गएको भए गाइडमार्फत घटनाबारे बुझ्न पाइने थियो भन्दै सुवेदीले कम्पनी पनि उनीहरुको सुरक्षाप्रति जिम्मेवार हुन्थ्यो भने । ट्रेडिङ गाइडमार्फत आरोहण गर्दा नेपाली युवाले पनि रोजगारी पाउने, थोरै भएपनि टेकिङ कम्पनीहरुलाई आम्दानी हुने र सरकारलाई कर पनि आउने सुवेदीको भनाइ छ ।
कोरियाली अल्पाइन महासंघ नेपालका अध्यक्ष ङावाङिमा शेर्पाले बेपत्ता कोरियन नागरिकको कोरियन दूतावासबाट पनि खोजीको पहल भइरहेको बताए । उनले भने, ‘विदेशीहरु नेपाल आएर याफ आई टी (इन्डिभिजुवल टिम्स कार्ड) लिएर ट्रेकिङमा जान्छन्, गाइड बिना, कम्तीमा कुनै पनि कम्पनीमा ज्वाइन भएर कम्पनीबाट गाइड, भरिया लिएर हिंडेको भए सबै कुरा कम्पनी जवाफदेही हुन्थ्यो ।’
शेर्पाले थपे, ‘विदेशी इन्डिभिजुअल टिम्स कार्ड लिएर कहाँ गर्यो ? के भयो ? कति बेला के हुन्छ ? कसैलाई थाहा हुँदैन् । त्यही कारण मेरो माग पनि यहि हो, नेपाल पर्यटन बोर्डमा पनि धेरै चोटी यो विषय उठाए, इन्डभिजवल टिम्स कार्ड जुन बोर्डबाट वितरण भइरहेको छ, त्यो बन्द हुनुपर्छ ।’
व्यक्तिगतरुपमा टिम्स कार्ड दिने भन्दा यसलाई बन्द गरेर समूहमा मात्र ट्रेकिङ गर्ने व्यवस्था गर्नुपर्छ भन्दै उनले यो कुरा धेरै पटक आफूले उठाए पनि सुनुवाई नभएको बताए ।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक सुनिलजंग शाहले हराइरहेका कोरियन र इण्डियन पर्यटकको खोजी जारी रहेको बताए । उनले भने, ‘चिकित्सक हराएको ठाउँबाट सगरमाथा आधार शिविर पुग्न ३ दिन पैदल हिँड्नुपर्छ । खोजी गर्न निकै कठिन छ ।’ सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ स्थित तेङबोचेको फुंगाथाङ्बाट डा. चन्द्रमोहन हराएको अनुमान गरिएको छ ।
जेठ ५ मा नाम्चे बजारको चेक प्वाइन्टमा प्रहरीले उनी आधार शिविरतर्फ लागेको रेकर्ड राखेको देखिन्छ । प्रहरीले नेपाली सेनाको समेत सहयोगमा खोजी कार्यलाई तीव्रता दिए पनि निरन्तर वर्षा तथा भौगोलिक कठिनाइका कारण समस्या भएको शाहले बताए ।
प्रहरीले तीन टोली बनाएर गोकियो, थाङबोचे र एभरेष्ट बेसक्याम्पमा खोजी गरिरहेको उनको भनाइ छ । भीर तथा जङ्गलको क्षेत्र भएकाले खोजीका लागि चुनौती रहेको शाहले बताए । उनले भने, ‘बेपत्ता भएका दुई जना विदेशीहरु गाईड विना एक्लाएक्लै भ्रमणमा आएका कारण कुन क्षेत्रमा हराएको भन्ने अवस्था पत्ता लगाउन असहज भएको हो ।’
सगरमाथा आधार शिविर हिंडेका कोरियन र इण्डियनको खोजीमा इण्डिया र कोरियाबाट उनका आफन्तहरु समेत बेपत्ता स्थलमा खोजीमा लागेका छन् ।