काठमाडौं । कोरोना महामारीको प्रभाव कम भएसँगै पर्यटन क्षेत्र लयमा फर्किने क्रम बढेर गएको छ । पर्यटकीय नगरी पोखरामा स्वदेशी विदेशी पर्यटकको चहलपहल निकै बढेको देखिन्छ । प्राकृतिकरुपमा नै सुन्दर पोखराको पुम्दीकोटमा निर्माण भएको विशाल शिव मुर्तिले मानिसहरुको आकर्षण थप्नुको साथै पोखरा बसाईलाई समेत बढाउन मद्दत गरेको छ । भ्यूटावर रहेको पुम्दीकोट भ्यूप्वाइन्टमा निर्माण भएको विशाल शिव मूर्ति हेर्न विशेषगरी हिन्दु धर्माबलम्बीहरुको भीड लाग्ने गरेको छ । नेपाली तथा भारतीय पर्यटकहरुलाई यसले आकर्षिक गरेको छ ।
पोखरा शहरको मनोरम दृश्य हेर्न सकिने पुम्दीकोट भ्यू प्वाइन्टमा शिवको दर्शन गर्ने, फोटो खिचाउने, सेल्फी खिच्ने, टिकटक बनाउनेहरुको प्रतिस्पर्धा देखिन्छ । सो स्थानमा पुग्ने सडक निर्माण भइसकेको छ भने यसको स्तरोन्नती गर्ने काम जारी छ । पुम्दीकोटमा हरेक दिन एक हजार पाँच सयभन्दा बढी पर्यटक पुग्ने गरेको परियोजना परिकल्पनाकार तथा पुम्दीकोट वृद्धिविकास समितिका अध्यक्ष चन्द्रकान्त बरालले बताए ।
शिव मुर्ति रहेको तीन तले भ्यू टावर पुम्दीभुम्दीमा रहेको वर्ल्ड पिस प्यागोडाको ठीक माथि रहेको छ । यस क्षेत्रमा प्रवेश निःशुल्क रहेको बरालले बताए । उनले पुम्दीकोट भ्यू प्वाइन्ट एक हजार पाँच सय मिटरको उचाइमा रहेको बताउँदै परियोजना निर्माणको सम्पूर्ण काम सम्पन्न भइनसकेको बताए । उनले निर्माण सम्पन्न नभए पनि यो ठाउँले पर्यटकहरूलाई आकर्षित गरेको बताए ।
पुम्दीकोट भ्यू वाइन्टबाट पोखराको फेवाताल, शहर, प्याराग्लाइडिङ, पामे, सराङकोटलगायतका पर्यटकीय गन्तव्यहरूको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ । त्यस्तै, धौलागिरी, अन्नपूर्ण र माछापुच्छ्रे हिमालको मनोरम दृश्य पनि यो ठाउँबाट हेर्न सकिन्छ ।
पुम्दीकोटमा बनेको शिवको मुर्तिको उचाई नै ५१ फिट रहेको छ । मन्दिरको कुल उचाई भने १०८ फिट रहेको छ । सो ठाउँ आकर्षित बनाउन बगैंचा निर्माण गरिनुका साथै १०८ सिंढी राखिएको छ भने १०८ शिवलिङ्ग पनि राखिएको छ ।
अध्यक्ष बरालले भने शिव मन्दिरको अर्को प्रमुख आकर्षण शिवको डमरु पनि भएको बताए । यो एसियाकै ठूलो डमरु भएको उनको दावी छ । पार्वती र शिवका तीर्थ स्थलहरू रहेको सुमेरु पर्वतको नमुनासहित स्मारक पार्क निर्माण गर्ने काम पनि सुरु गरिएको बरालले बताए ।
यो परियोजनाको सुरुवात भएको छ बर्ष भइसकेको छ । निर्माण कार्य सम्पन्न हुन अझ दुई वर्ष लाग्ने अनुमान गरिएको छ । कुल ४० करोड लागत अनुमान गरिएको पुम्दीकोट शिव मुर्ति परियोजना निर्माणका लागि अहिलेसम्म तीन करोड ५० लाख रुपियाँसम्म दिने २५ जना दाताहरु आएको बरालले बताए ।
उनले भने, ‘कमल जैनले तीन करोड १६ लाख मूल्यको भारतमा बनेको शिव मुर्ति दात गरे । विश्नुप्रसाद बरालले ५५ लाखको शिवको डमरु दान गरे ।’ यो स्थानमा सवारी साधन वा पैदल यात्रा गरेर पनि जान सकिन्छ । पोखराको प्राथमिक बजारबाट करिब १३ किलोमिटर दक्षिणपश्चिममा रहेको यो स्थानमा हाइकिङ, ट्रेक्स र साइकलिङ ट्रेल गर्दै पनि पुग्न सकिन्छ । पुम्दीकोटसम्म पुग्ने कालोपत्रे सडक भने साँधुरो र चिप्लो रहेको र कतिपय खण्ड स्तरोन्नतीको क्रममा रहेकोले विशेषगरी ठूलो सवारी साधनमा जान भने केही कठिन हुने गरेको यात्रुहरुको गुनासो सुनिन्छ ।
वर्ल्ड पिस प्यागोडामा पुगेपछि बुद्ध मन्दिरको भ्रमण गर्दै करिब ४५ मिनेटको उकालोमा पुम्दीकोट डाँडा पुग्न सकिन्छ । पैदल यात्राबाट नै पुम्दीकोट पुग्दा केही थकान भए पनि आनन्द लिन र मनोरम दृश्य अवलोकन गर्न सकिन्छ । टान पश्चिमाञ्चल क्षेत्रीय संघका अध्यक्ष सुशील पौडेलले पोखरा पुम्दीकोट अहिले नयाँ गन्तव्य स्थापित भएको बताउँदै सोही कारण पोखरा घुम्न आउने आन्तरिक तथा विदेशी पर्यटकको चहलपहल पनि बढेको बताए ।
उनले भने, ‘पोखरा घुम्न आएका पर्यटकहरुले एक चोटी नछुटाइ फकिने ठाउँ बनेको छ पुम्दीकोटको शिवमुर्ति । पोखराको सबै दृश्य एकै ठाउँबाट मज्जाले अवलोकन गर्न सकिने भएकोले यो हटस्पटकै रुपमा रहेको छ ।’ पौडेलले पोखरा आउने ८० प्रतिशत पर्यटक प्म्दीकोट पुग्ने गरेको दावी गरे ।
पोखरामा फेवाताल, पाताले छाँगो (डेभिड फल), महेन्द्र गुफा, चमेरे गुफा, गुप्तेश्वर गुफा, विन्ध्यवासिनी मन्दिर, धर्मशिला वुद्ध विहार, विश्व शान्ति स्तुपा, हरिहर गुफा, नारायणस्थान मन्दिर, सदाशिव मन्दिर, ढुंगेसाँघु, लक्ष्मीनारायण मन्दिर, तालवाराही मन्दिर, भद्रकाली मन्दिर, शोभा भगवती, रानीपौवा, सराङकोट, सेती नदी, वेगनास ताल, रुपा ताल, खाष्टे ताल, दिपाङ ताल, गुदे ताल, न्यूरेनी ताल, मैदी ताल, क्षेत्रीय संग्रहालय, अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय, गोर्खा स्मृति संग्रहालय, अन्नपूर्ण संग्रहालय, माछापुच्छ्रे हिमाल, अन्नपूर्ण प्रथम, अन्नपूर्ण दोश्रो, इन्द्र गुफा, खारपानी तातोपानी, कृष्ती (मट्टिखान), पुम्दीभुम्दी, स्याकलुंकोट, घान्द्रुक, धम्पुस तथा लान्द्रुक, सिकलेस, पञ्चासे आदि मुख्य पर्यटकीय क्षेत्र हुन् ।