नयाँ पर्यटनमन्त्रीको निर्णयअनुसार पर्यटन क्षेत्र पुनरुत्थान कार्ययोजना तयार, कार्यान्वयन हुन्छः श्रेष्ठ

Advertisement

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले कार्यभार सम्हाले लगतै गठन गरेको नेपालको पर्यटन क्षेत्र पुनरुत्थान कार्ययोजना तर्जुमा समितिले कार्ययोजना सहितको प्रतिवेदन बुझाएको छ ।  

मन्त्रालयमा बिहीबार आयोजित कार्यक्रममा कार्ययोजना तर्जुमा समितिका सदस्यहरुले मन्त्री श्रेष्ठलाई प्रतिवेदन हस्तान्तरण गरेका हुन् । समितिले सरोकारवालाहरुसँग छलफल तथा विगतमा गठन भएका विभिन्न समितिका प्रतिवेदनहरु अध्ययन गरी कार्ययोजना तयार गरेको बताएको छ । 

Advertisement

प्रतिवेदन बुझ्ने क्रममा मन्त्री श्रेष्ठले कार्ययोजनाले मन्त्रालयको कामलाई दिशानिर्देश गर्ने बताए । कार्ययोजनामा एक महिनाभित्र गर्न सकिने काम, तीन महिनामा गर्न सकिने काम, छ महिनाभित्र गर्न सकिने काम, एक बर्षभित्र गर्न सकिने काम र निरन्तर गर्नुपर्ने कामका ५१ वटा योजना समावेश गरिएको छ । 

कार्ययोजना कार्यन्वयन गर्ने निकाय र कार्यन्वयनका लागि सहयोगी संस्थाबारे पनि प्रतिवेदनमा उल्लेख छ । पर्वतीय पर्यटन सुधारका लागि कानुन संशोधन गर्ने, पर्यटकको नेपाल बसाई सुरक्षित बनाउन संकट व्यवस्थापन एकाइ स्थापना गर्ने, ‘एक नेपाली एक विदेशी साथी नेपाल पठाउने अभियान’का लागि एनआरएनसँग सम्झौता गर्ने, काठमाडौंका ऐतिहासिक तथा पुरातात्विक सम्पदा जोड्न सम्पदा मार्ग निर्माण गर्ने, कोभिडपछि नेपाल सुरक्षित गन्तव्य रहेकोबारे बजारीकरण गर्ने कार्ययोजनामा उल्लेख छ । 

यस्तै, रात्रिकालिन सम्पदा यात्राको सुरुवात गर्ने, सगरमाथा सम्वाद पुनःसुरु गर्ने, अन्तर प्रदेश हवाइ सेवा विस्तार गर्ने, प्रयोगमा नआएका विमानस्थललाई एयर स्पोर्टस एक्टिभीटी सेन्टरका रुपमा विकास गर्ने, महत्वपूर्ण पर्यटकीय स्थलहरुमा राष्ट्रिय सरसफाई अभियान चलाउने, पर्यटन डिजिटल नक्सा बनाउने लगायत बिषय पनि कार्ययोजनामा उल्लेख छ । 

मन्त्री श्रेष्ठले कार्ययोजना अनुसार काम अघि बढाउने बताए । मन्त्रालयका सहसचिव होमप्रसाद लुइँटेलको संयोजकत्वमा पर्यटन विभागका महानिर्देशक, नेपाल नागरिक उड्डयन प्राधिकण र नेपाल पर्यटन बोर्डका प्रतिनिधिका साथै तीन जना विज्ञ सम्मिलित समिति गठन गरिएको थियो ।

Advertisement

Advertisement