काठमाडौँ । नेपालमा र्याफ्टिङका लागि भोटेकोशी, त्रिशुली, कालीगण्डकी, बुढीगण्डकी, कर्णाली, मर्स्याङदी नदी बढी प्रसिद्ध छन् । सरकारको करिब १३ करोड रुपियाँ लागतमा सिन्धुपाल्चोकको बलेफीमा नेपाल ह्वाईट वाटर सेन्टर बन्दै छ ।
विदेशी पर्यटकहरुका लागि नेपालको लोकप्रिय साहसिक पर्यटनको रुपमा रहेको जलयात्राको लागि आवश्यक जनशक्ति उत्पादन गर्ने र साहसिक पर्यटनको रुपमा जलयात्रालाई प्रवर्द्धन गर्ने लक्ष्यसहित वाइट वाटर सेन्टर निर्माण कार्य भइरहेको नेपाल एसोसिएसन अफ र्याफ्टिङ एजेन्सिज (नारा)का अध्यक्ष शिव अधिकारीले कपोरेट नेपाललाई बताए ।
उनले विश्व जलयात्रीहरुलाई नेपालमा आकर्षित गर्ने योजनामा आफूहरु रहेको बताउँदै एसियाकै पहिलो र विश्वको तेस्रो ह्वाइट वाटर सेन्टर नेपालमा निर्माण गर्न लागिएको बताए । विश्वको पहिलो ह्वाइट वाटर सेन्टर बेलायतमा र दोस्रो अमेरिकामा रहेको अधिकारीको भनाई छ ।
त्यस्तै, त्रिशुलीलाई सम्पदा नदी र भोटेकोशीलाई नदी पार्कका रुपमा विकास गर्ने तयारी गरिएको छ । विभिन्न नदीहरूलाई वातावरणीय, पर्यटन र आगामी पुस्ताका लागि इको–सिस्टमको लागि सुरक्षित गर्नुपर्ने जरुरी रहेको अधिकारीको भनाई छ ।
नेपालको सन्दर्भमा समुद्र सतहको ८० मिटरदेखि १ हजार २ सय मिटर उचाइ हाराहारीमा र्याफ्टिङ हुँदै आएको छ । विश्वकै उत्कृष्ट पाँच र्याफ्टिङ रिभरमा कर्णाली पर्छ भने भोटेकोशी सातौं उत्कृष्टमा पर्छ । सेप्टेम्बर र अक्टोबरका लागि सुनकोशी पनि उत्कृष्ट र्याफ्टिङ नदीमा पर्छ । नेसनल जियोग्राफी च्यानलले भोटेकोशीलाई उत्कृष्ट सातौं गन्तव्य भनेर उल्लेख गरिसकेको छ ।
नेपाल ह्वाइट वाटर सेन्टर १८ महिनामा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । यसको निर्माण कार्य सुरु भएको छ महिना भइसकेको छ । विश्वभरका जलयात्रीलाई नेपालमा बोलाएर यहाँको प्रचार तथा पर्यटन विकास गर्ने लक्ष्य रहेको अधिकारीले बताए ।
नाराका महासचिव नारायण श्रेष्ठले ह्वाइट वाटर सेन्टरले गाइडहरु उत्पादन गर्नेदेखि अन्तर्राष्ट्रिय कार्यक्रमहरु गर्ने बताए । जल खेलकुदको प्रवर्द्धन गर्नको लागि वर्षमा कम्तिमा एउटा अन्तर्राष्ट्रिय प्रतिस्पर्धा आयोजना गरिने छ । त्यही क्रममा आउँदो नोभेम्बरको २७ देखि २९ सम्म २०औं ह्वाइट वाटर च्यालेन्ज प्रतिस्पर्धी गर्ने तयारी गरिएको छ । विभिन्न १८ देशका प्रतिस्पर्धी सहभागी हुने आयोजकहरुको भनाई छ ।
सन् २०१९ र २०२० मा कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय जलयात्रीले यस कार्यक्रममा सहभागी हुन पाएनन् । तर अबको प्रतिस्पर्धामा विदेशीहरुले समेत सहभागिता जनाउन पाउने नाराले जानकारी दिएको छ । श्रेष्ठले भने, ‘ह्वाईटवाटर सेन्टर निर्माण सम्पन्न भए, त्यही कार्यक्रम गर्नेछौं । नभए भोटेकोशी, त्रिशुली, कालीगण्डकी, बुढीगण्डकी, कर्णाली लगायतका कुनै नदीमा गर्नेछौं ।’
नेपाल एकेडेमी अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट (नाथम)का विभागीय प्रमुख अजय ढकालले नेपालका गाइडहरुलाई सामान्य किसिमको कामदारको रुपमा मात्रै हेर्ने चलन थियो भन्दै तर अहिले नेपालका गाइडले टर्की, जापान, भारत लगायतका देशका नदीहरुमा गएर दक्षता देखाएको बताए । यसले नेपालका गाइडहरु पनि विश्वस्तरको भइसकेको पुष्टि हुने बताए ।
ढकालले भने, ‘उनीहरुमा गुणस्तर छ । त्यसैले इमानदारिता छ । विश्वका अन्य राष्ट्रहरुले नेपाली गाइडहरुलाई विश्वास गरेर काममा लगाइरहेका छन् । यसले उनीहरुको आम्दानी पनि राम्रो भएको छ । हामीले उनीहरुलाई नेपालमा नै भित्राउन सक्नुपर्छ । यहीं अवसर दिनुपर्छ ।’
उनले अहिले र्याफ्टिङ गाइड तालिम तालिममा मात्रै सीमित नरहेको बताउँदै यो शैक्षिक पाठ्यक्रमको रुपमा पनि जान लागिसकेको बताए । ढकालले पर्यटनसम्वन्धी पाठ्यक्रमलाई थप प्रभावकारी कसरी बनाउने ? कसरी अपडेट गर्ने ? भन्ने काम पनि भइरहेको बताए ।
ढकालले नेपाल देश हो जहाँ हिमाल र नदी पर्यटनको बारेमा धेरै कुराको ज्ञान लिन सकिन्छ भनेर त्यहीअनुसारको विकास र सन्देश पनि दिने प्रयास भइरहेको बताउँदै संसारको सबै भन्दा अग्लो ठाउँमा पनि र्याफ्टिङ हुन्छ र संसारको सबै भन्दा द्रुत नदीहरु नेपालमै छ भनेर विश्वलाई जानकारी दिने काममा पनि आफूहरु रहेको बताए ।