देवघाटमा जग्गा नापजाँच सुरु, ड्राइभिङ लाइसेन्स नविकरण तनहुँबाटै

Advertisement

काठमाडौं । तनहुँको देवघाट गाउँपालिकामा अव्यवस्थित बसोबासको व्यवस्थापन तथा सुकुम्बासी जग्गाको तथ्याङ्क सङ्कलनको काम सुरुआत भएको छ । राष्ट्रिय भूमि आयोग तनहुँको समन्वयमा देवघाट–५ बाट शनिबारदेखि जग्गाको नापजाँच थालनी गरिएको हो । 

यो वडाको देउपुर टोल विकास संस्थाबाट जग्गा नापजाँचको कार्य गरिएको गाउँपालिकाका प्रवक्ता एवं वडाध्यक्ष पूर्णबहादुर कुँवरले जानकारी दिए । यस वडामा यसअघि नै भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई निस्सा वितरण गरिसकिएकाले पहिलो चरणमा देउपुर टोलबाट जग्गा नापजाँच सुरु गरिएको उनले बताए। 

Advertisement

सबैभन्दा बाक्लो बस्ती भएकाले यो टोलबाट जग्गा नापजाँचको काम सुरु गरिएको उनले बताए। यो टोलमा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यस्थित बसोबासी गरी तीन सय ५५ लाई निवेदन दर्ताको निस्सा वितरण गरिएको छ । 

वडाभर भूमिहीन दलित १९, भूमिहीन सुकुम्बासी ६२ र अव्यवस्थित बसोबासी एक हजार चार सय ५५ जना छन् । 'एक महिनाभित्रमा वडाभित्र जग्गा नापजाँच सक्ने लक्ष्यसहित काम सुरु भएको छ,' उनले भने। जग्गा नापजाँचका लागि टोली प्रमुखको रूपमा नापी कार्यालय तनहुँका राजीव श्रेष्ठ खटिएका छन्। 

जिल्लाको शुक्लागण्डकी नगरपालिका–७ मा पनि यसअघि जग्गाको नापजाँच प्रक्रिया सुरु भएको छ । नापी कार्यालय तनहुँका प्राविधिक श्रेष्ठका अनुसार उक्त वडामा जग्गाको नापजाँच कार्य जारी छ । राष्ट्रिय भूमि आयोगका जिल्ला अध्यक्ष रामचन्द्र अधिकारीले हालसम्म शुक्लागण्डकी नगरपालिका–७, बन्दीपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिका–१ र २, देवघाट गाउँपालिका–५ र व्यास नगरपालिका–१ र २ मा भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीको निवेदनको निस्सा वितरण गरिएको जानकारी दिए। 

जिल्लाका १० पालिकामा भूमिहीन दलित एक हजार एक सय आठ, भूमिहीन सुकुम्बासी एक हजार आठ सय ७२ र अव्यवस्थित बसोबासी २३ हजार एक सय ३७ गरी २६ हजार एक सय १७ जनाको निवेदन दर्ता भएको छ । यो कामका लागि सबै अधिकार स्थानीय तहमा रहेको बताइएको छ । तथ्याङ्क दर्ता, निस्सा वितरण, सार्वजनिक सूचना जारीपश्चात् उजुरी सङ्कलनलगायतका काम हुने आयोग अध्यक्ष अधिकारीले जानकारी दिनुभयो । भूमिहीन सुकुम्बासी र भूमिहीन दलितका हकमा सात दिने र अव्यवस्थित बसोबासीका हकमा १५ दिने सार्वजनिक सूचना जारी हुनेछ। 

तनहुँबाटै सवारी चालक अनुमतिपत्र नवीकरण
यातायात व्यवस्था कार्यालय तनहुँले आजदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नवीकरण सुरु हुने भएको छ । यातायात व्यवस्था कार्यालय कास्कीबाट मात्रै सवारी चालक अनुमति पत्र नवीकरण हुँदै आएकामा आजबाट बन्दीपुर गाउँपालिका–४ विमलनगरस्थित कार्यालयबाट अनुमतिपत्र नवीकरण सुरु हुन लागेको हो ।

सवारी चालक अनुमतिपत्र जुनसुकै कार्यालयबाट जारी भएको भएता पनि सेवाग्राहीको स्थायी बसोबास गण्डकी प्रदेशभित्र भएको हुनुपर्ने निमित्त कार्यालय प्रमुख विष्णुबहादुर क्षेत्रीले जानकारी दिए। डिएलआरएस र इडिएलभिआरएसमा रहेको विवरण पूर्णरूपमा मिलेको खण्डमा मात्र सवारी चालक अनुमतिप नवीकरण गर्न सकिने उनले बताए। उनका अनुसार सक्कल सवारी चालक अनुमतिपत्रसहित प्रतिलिपि र नेपाली नागरिकताको प्रतिलिपि समावेश गर्नुपर्नेछ । 

सरकारबाट मान्यताप्राप्त चिकित्सकबाट यातायात व्यवस्था नियमावली, २०५४ को अनुसूची १८ बमोजिमको निरोगिताको प्रमाणपत्र पेश गर्नुपर्ने कार्यालयले जनाएको छ । सवारी चालक अनुमतिपत्र हराएको खण्डमा सम्बन्धित कार्यालयबाट नै प्रतिलिपि लिनुपर्ने जनाइएको छ । सेवाग्राहीको अनुपस्थितिमा वा विदेशमा भएको अवस्थामा अनुमतिपत्र नवीकरण हुनेछैन । सेवाग्राहीको औठाछाप नमिलेको खण्डमा लाइसेन्स नवीकरण नहुने जनाइएको छ । कागजी लाइसेन्सको हकमा स्मार्ट लाइसेन्समा रुपान्तरण भइसकेको हुनुपर्ने कार्यालयले जनाएको छ । कार्यालयले जिल्लाबाटै सवारी साधन दर्तासमेत सुरु गरिसकेको छ । यो कार्यले तनहुँ मात्र नभई गोरखा, लमजुङका सर्वसाधारणलाई पनि सहज हुनेछ । कार्यालयले स्थापनाकालदेखि नै बिलबुक नवीकरणको काम गर्दै आएको छ । 

खानेपानी योजनाबाट ११६ घर लाभान्वित
तनहुँको घिरिङ गाउँपालिका–४ नयाँटारमा निर्माण सम्पन्न भएको खानेपानी योजनाबाट एक सय १६ घरधुरी लाभान्वित भएका छन् । गोरखा वेलफेयर ट्रष्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण सम्पन्न नयाँटार खानेपानी तथा सरसफाइ आयोजनाबाट एक सय १६ घरधुरीमा पानीको सुविधा पुगेको हो । 

८२ लाख १५ हजार चार सय ६१ रुपैयाँको लागतमा योजना निर्माण सम्पन्न गरिएको उपभोक्ता समितिका अध्यक्ष हिना गुरुङले जानकारी दिए। योजनाका लागि वेलफेयर ट्रष्टले रु ४९ लाख नौ हजार पाँच सय ६१ र घिरिङ गाउँपालिकाले तीन लाख २५ हजार सहयोग गरेको छ भने स्थानीयवासीले २९ लाख ८० हजार बराबरको श्रमदान गरेका छन् ।

घरघरमा धारा नहुँदा खोल्सा र पँधेराको पानी उपभोग गर्न बाध्य स्थानीयवासी घरघरमा खानेपानी सुविधा पुगेपछि हर्षित भएका छन् । योजना निर्माण सम्पन्न भएपछि पाँच सय ८१ जना लाभान्वित भएका छन् । 'घरघरमा धारा नहुँदा बिहानै उठेर कुवा, खोल्सामा पानी लिन जानुपर्ने बाध्यता थियो, अब त घरमै धारा खोलेपछि पानी आउँछ,' उनले भने, 'खानेपानीको जोहो गर्नुपर्ने दुःख हट्यो ।'

खहरे मूलबाट पानी ल्याएर ट्याङ्कीमा सङ्कलन गरी घरघरमा पानी वितरणको व्यवस्था मिलाइएको छ । योजनाअन्तर्गत एक रिजर्भ ट्याङ्की, एक वासवाउट, सात गेट भल्व निर्माण गरिएको छ । योजना निर्माणका क्रममा आठ हजार पाँच सय ८५ मिटर पाइप विस्तार गरिएको छ । यस खानेपानी योजनाको शनिबार उद्घाटन गर्दै घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले खानेपानी योजना निर्माणका लागि सहयोग गरेकामा वेयलफेयर ट्रष्टप्रति आभार व्यक्त गरे। घिरिङका अधिकांश बस्तीमा खानेपानीको सुविधा पुगिसकेको र बाँकी बस्तीमा पनि खानेपानी पुर्‍याउने काम भइरहेको अध्यक्ष थापाले बताए । 

Advertisement

Advertisement