विपरित सिद्धान्त हुँदाहुँदै सत्ताधारी दलहरुले संविधान मिचेर चुनावी तालमेल गरेः भीम रावल

Advertisement

काठमाडौं । कम्युनिष्ट नेता डा. भीम रावलले विपरित सिद्धान्त हुँदाहुँदै गठबन्धनका दलहरुले आगामी निर्वाचनमा तालमेल गर्नु संविधान विपरित भएको बताए । शुक्रवार राजधानीमा आयोजित एक अन्तरक्रियामा उनले गठबन्धनमा आवद्ध राजनीतिक दलहरुको आ–आफ्नो सिद्धान्त भएको बताए । 

रावलले गठबन्धनले आगामी निर्वाचनमा तालमेल गर्नु संविधान विपरित हुने भन्दै मत निश्चित विचारधारा, दर्शन र कार्यक्रमका आधारमा लिने संवैधानिक व्यवस्था भएकोले विपरित सिद्धान्त भएका राजनीतिक दलहरुले तालमेल गर्नु गलत भएको बताए । 

Advertisement

उनले यस प्रकारको गठबन्धनले देशको राजनीतिलाई सिद्धान्तहिन, आर्दशहिन र गन्तव्यहिन दिशातर्फ धकेल्ने बताए । आगामी निर्वाचनमा सबै राजनीतिक दलहरुले आ–आफ्नो सिद्धान्त र नीतिमा अगाडी बढेर आफ्नो घोषणापत्रका आधारमा मत माग्नुपर्ने रावलको तर्क छ । 

उनले भने, ‘पाँचदलीय गठबन्धनका बैठकहरु हेर्दा ति राजनीतिक दलहरुले विपरित सिद्धान्त हुँदाहुँदै पनि तालमेल गर्ने कुरा अगाडी सारेको हामीले पाएका छौँ । यसरी आम निर्वाचनमा विपरित सिद्धान्त भएका राजनीतिक दलहरुले तालमेल गर्ने कुरा यो नेपालको संविधानको धारा २६९ को बिरुद्धमा छ । अहिले जो जो नेताहरु त्यो पाँच दलको सबभन्दा माथिल्लो तहमा हुनुहुन्छ । उहाँहरुले के कुरा सम्झना गर्नुपर्छ भने नेपालको संविधान निर्माण गर्ने बेलामा, मस्यौदा गर्ने बेलामा उहाँहरुले यो दलीय प्रतिष्पर्धामा जनताको मत निश्चित विचारधारा, दर्शन र कार्यक्रमका आधारमा माग गर्ने कुराप्रति उहाँहरुको प्रतिवद्धता थियो भन्ने कुरा यतिबेला उहाँहरुले स्मरण गर्नुपर्छ ।’ 

रावलले थपे, ‘हुनत राजनीतिमा विकृतिको डंगुर भएको, अहिले काठमाडौंमा जुन फोहोरको डंगुर लागेको छ नि, मलाई त कहिलेकाहीँ कस्तो लाग्छ भने यो काठमाडौंको फोहोरको डंगुर यो सरकारको राजनीतिको फोहोरको डंगुरको प्रतिकात्मक स्थिति हो जस्तो लाग्छ । यसले सिद्धान्तहीन, आदर्शहीन र गन्तव्यहीन राजनीतितर्फ देशलाई धकेल्छ । त्यसकारण आगामी निर्वाचनमा यस्तो खालको सिद्धान्तहीन, गन्तव्यहीन, आदर्शहीन, मूल्यहीन, मान्यताहीन राजनीतिको बाटो होइन आ–आफ्नो सिद्धान्त र नीतिमा राजनीतिक दल अगाडी बढ्नुपर्छ । उनीहरुले त्यो घोषणापत्रको आधारमा जनतासँग मत माग्नुपर्छ । जनताले जसलाई बहुमत दिन्छ त्यसले सरकार चलाउने हो । यदि कसैले बहुमत ल्याएन भने समान राजनीतिक दृष्टिकोण, विचार, कार्यक्रम या कतिपय विषयहरुमा समान धारणा भएका राजनीतिक दलहरुले मिलेर संयुक्त सरकार गठन गर्ने हो ।’

उनले एमालेको समान विचार, समान दर्शन र समान कार्यक्रम भएका राजनीतिक दलहरुलाई मात्र एक ठाउँमा ल्याउने नीति रहेको बताए । 

Advertisement

Advertisement