आफ्नै बचत निकाल्न नपाएपछि बन्दुकधारी युवाले बैंकका कर्मचारीलाई ६ घण्टा बन्धक बनाए

Advertisement

काठमाडौँ । लेबननको बेरुतमा आफूले बचत गरेको पैसा निकाल्न नपाएको झोकमा छ घण्टा बैंकका कर्मचारीलाई बन्धक बनाएका एक बन्दुकधारीलाई त्यहाँका नागरिकहरूले नायक भनेर प्रशंसा गरेका छन् । बन्दुक र पेट्रोलसहित फेडरल बैंक प्रवेश गरेका ४२ वर्षिय बासम अल सेख हुसेनले बैंकका कर्मचारीसहित करिब १० जनालाई ६ घण्टासम्म बैंकभित्रै बन्धक बनाएका थिए । 

गम्भीर आर्थिक संकटका कारण लेबननका बैंकहरूले बचतकर्ताहरूलाई कतिसम्म पैसा झिक्न दिने भन्ने कडा नियम लागु गराएका छन्। ती बन्दुकधारी राइफल बोकेर बैंकमा छिरेर पेट्रोल छर्कँदै अस्पताललाई बक्यौता तिर्नका निम्ति चाहिएकाले आफ्नै पैसा फिर्ता माग गरेका एएफपीले जनाएको छ ।

Advertisement

उनको कार्यलाई नागरिकहरूले समर्थन गरेका थिए र बैंकबाहिर जम्मा भएर ‘तिमी नायक हौ’ भनेर नारा लगाएका थिए । वार्ताकारहरूले बन्दुकधारीलाई आफ्नो खाताबाट ३५,००० अमेरिकी डलर झिक्न दिने सहमति गरेपछि कुनै अप्रिय घटनाविना नै उक्त प्रकरण टुङ्गिएको एलबीसी टीभीले जनाएको छ ।

प्रहरीले हमरा स्ट्रीटस्थित फेडरल बैंकको शाखाबाट बन्धकहरू र बन्दुकधारीलाई बाहिर लगेको थियो। अधिकारीहरूले ती व्यक्तिलाई कुनै अपराधको आरोप लगाइने वा नलगाइने भन्ने बारे केही भनेका छैनन् । एलबीसीका अनुसार परिवारका केही सदस्यहरू अस्पतालमा भएका कारण बन्दुकधारीको परिवारलाई पैसाको अत्यन्त आवश्यकता थियो ।

बन्दुकधारीका भाइले प्रहरीलाई भने– ‘मेरो दाइको ब्याङ्क खातामा २१०,००० डलर छ र उहाँलाई अस्पतालको बिल तिर्न ५,५०० मात्रै चाहिएको थियो ।’बैंकबाहिर रहेका बन्दुकधारीका भाइ र श्रीमतीले आफ्नो अधिकारको पैसा निकाल्न सबैले त्यस्तै गर्नुपर्ने बताए ।

सन् २०१९ देखि लेबननमा बैंक खाताबाट निकाल्न सकिने रकमको विषयमा लागु गरिएको कडा नियमले ठूलो जनआक्रोश छ । त्यहाँ विदेश पैसा पठाउन पनि प्रतिबन्धात्मक व्यवस्था छ । लेबनन ठूलो आर्थिक संकटबाट गुज्रिरहेको छ र यसको असरले दैनिक जीवन धान्ने खर्च ह्वात्तै बढेको छ । त्यहाँ गहुँ एवम् औषधिको अभाव छ ।

बैंकबाहिर जम्मा भएका मानिसहरूले बैंकका नियमविरुद्ध पनि नारा लगाएका थिए । ‘यस्ता घटनाहरू भइरहेका छन्’, बैंक कर्मचारी युनियनका अध्यक्ष जर्ज अल–हजले एएफपीसँग भने । गत ज्यानुअरीको एक अर्को घटनामा बेका उपत्यकाको बैंकका दर्जनौँ कर्मचारीलाई बन्धक बनाएर एक व्यक्तिले आफ्नो पैसा अमेरिकी डलरमा साट्न पाउनु पर्ने माग गरेका थिए ।

‘बचतकर्ताले आफ्नो पैसा चाहन्छन् र दुर्भाग्यवश उनीहरूको आक्रोश ब्याङ्क कर्मचारीमाथि खनिन्छ ।’ लेबननको मुद्रा संकट सुरु भएयता ९० प्रतिशत अवमूल्यन भएको छ र संयुक्त राष्ट्रसंघका अनुसार त्यहाँ ८० प्रतिशत जनसङ्ख्या गरिबीमा रहेका छन् । (–बीबीसी नेपालीबाट)

Advertisement

Advertisement