व्यवसायीले रोके अग्रिम टिकट बुकिङ, सरकारसँग छलफल गरिंदै

Advertisement

काठमाडौं ।  बर्षाका कारण आएको बाढी पहिरोले राजमार्गहरु अवरुद्ध भएपछि यातायात व्यवसायीहरुले दशैं लक्षित अग्रिम टिकट बुकिङ स्थगित गरेका छन् । 

यातायात व्यवस्था बिभाग र यातायात व्यवसायीहरुको सहमतितीअनुसार गत शनिबारदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरिएको थियो । तर, बाढी पहिरोले राष्ट्रिय राजमार्गहरु नै अवरुद्ध भएपछि दशैंको समयमा सार्वजनिक यातायात के–कसरी सञ्चालन हुन्छ भन्ने अन्योल छ । यसकारण व्यवसायीहरुले मंगलबार स्वतःस्फुर्त रुपमा अग्रिम टिकट बुकिङ स्थगित गरेका छन् ।

Advertisement

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले मंगलबार अग्रिम टिकट बिक्री नगरेको बताए । 

‘नियमित टिकट बिक्री भइरहेको छ । तर, दशैं लक्षित अग्रिम टिकट बुकिङ आज गरेका छैनौं । यसैपनि अग्रिम टिकट बुकिङ गर्न आउने यात्रु धेरै कम भइसकेका थिए । आज भने यसलाई स्थगित गरेका छौ,’ उनले भने, ‘बाढी पहिरोले थुप्रै सडकहरु अवरुद्ध छन् । पश्चिम क्षेत्रका लागि सोमबार काठमाडौंबाट हिडेका गाडीहरु अहिले पनि धादिङ तिरनै अड्किएका छन् । 

साथै, बुधबार र बिहीबार पनि बर्षा हुने भनिएको छ । त्यसले गर्दा दशैंमा बाटो अवस्था कस्तो हुन्छ ? गन्तव्यमा पुगेर गाडीहरु कति समयमा फर्किन्छन् भन्ने लगायतका बिषयमा अन्योल छ । त्यो अवस्थामा अहिले नै धमाधम अग्रिम टिकट बुकिङ गर्दा सोहीअनुसार सेवा दिन नसक्ने अवस्था आउने देखिन्छ । तसर्थ, मंगलबार अग्रिम टिकट बुकिङ भएको छैन । यसलाई कसरी अघि बढाउने भन्ने बिषयमा आजै यातायात व्यवस्था बिभागसँग बैठक गर्दैछौं । त्यस बैठकबाट उपयुक्त निर्णय गर्नेछौ ।’

स्रोतकाअनुसार व्यवसायीहरुले अग्रिम टिकट बुकिङ बन्द नै गर्ने प्रस्ताव बिभागको बैठकमा लैजादैछन् । ‘अधिकांश राजमार्ग अवरुद्ध छन् । गाडीहरु गन्तव्यमा पुगेर समयमै फर्किन सक्दैनन् । एक दिन लाग्ने ठाउँमा दुई दिन लाग्न सक्छ,’ एक व्यवसायीले भने, ‘त्यो अवस्थामा अहिले जथाभावी ढंगले धमाधम अग्रिम टिकट बुकिङ गर्दा समस्या आउन सक्छ । तसर्थ, यसलाई बन्द नै गर्नुपर्छ र उचित बिकल्प निकाल्नुपर्छ ।’

बाढी पहिरोले पूर्वीनेपाल र मधेशलाई काठमाडौंसँग जोड्ने बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध छ । राजमार्गको २१ सय मिटर सडक खण्ड बाढीले बगाएको छ । त्यो सडक दशैं अघि खुल्ने सम्भावना छैन । यसैगरी अन्य राजमार्गहरु पनि अवरुद्ध छन् । सडक बिभागकाअनुसार देशभर गरेर २१.५ किमी सडक क्षतिग्रस्त भएका छन् । साथै, बुधबार र बिहीबार पनि बर्षा हुने भनिएको छ । त्यो झरीले सडकलाई थप क्षतिग्रस्त बनाउने जोखिम उच्च छ । 

अब दशैं आउन भने १० दिन मात्रै बाँकी छ । सामान्य अवस्था भएमा पर्सी घटस्थापनादेखि नै काठमाडौंबाट बाहिरिने यात्रुको चाप धेरै हुन्छ । फुलपातीको दिन (असोज २४) सम्म अधिकांश यात्रुहरु काठमाडौंबाट बाहिरिन्छन् । त्यसको लागि आवश्यकताअनुसार सडक मर्मत र गाडीहरु व्यवस्थापन गर्न समय एकदमै कम छ । त्यो अवस्थामा अहिले नै अग्रिम टिकट बुकिङ गर्न नसकिने उक्त व्यवसायीको भनाइ छ । 

‘हामीले गाडी सञ्चालनका लागि जुन समय तालिका बनाएका थियौं । त्योअनुसार गाडी सञ्चालन गर्न सक्ने अवस्था भएन । हालसम्म झण्डै ६ लाख यात्रुल अग्रिम टिकट बुकिङ गरिसकेका छन् । उनीहरुलाई नै सेवा दिन नसक्ने अवस्था आइसक्यो । उनीहरुलाई कसरी व्यवस्थापन गर्ने भनेर पनि चुनौती थपिएको छ,’ एक व्यवसायीले भने, ‘त्यो अवस्थामा यसअघि नै बनेको तालिका अनुसार अग्रिम टिकट बुकिङ गर्दा थप समस्या हुन सक्छ ।’

यसमा सरकारसँग बसेर उचित बिकल्प निकाल्ने पनि व्यवसायीहरुले बताएका छन् । ‘यसमा सरकारसँग बसेर उचित बिकल्प निकाल्न हामी तयार छौं । दशैंको यात्रालाई व्यवस्थापन गर्न एकदमै चुनौती हुने देखिएको छ । यसमा सरकार पनि गम्भिर रुपमा लाग्नुपर्छ,’ तीक व्यवसायीले, ‘दशैंको यात्रालाई कसरी व्यवस्थापन गर्ने भनेर सरकार र व्यवसायीले नयाँ ढंगले काम गर्नुपर्छ ।’
 

Advertisement

Advertisement