इक्यान मल्टी डेस्टिनेसन एजुकेशनल फेयर बुधबार हुँदै
फाइल तस्बिर

Advertisement

काठमाडौँ । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को आयोजनामा यही असोज १३ गते काठमाडौँको एभरेष्ट होटलमा हुने भनिएको एकदिने ‘१५औँ इक्यान मल्टी डेस्टिनेसन एजुकेशनल फेयर, २०२४’ असोज १६ गते हुने भएको छ । 

अबिरल वर्षापछिको प्राकृतिक विपत्तिका कारण उक्त एजुकेशनल फेयर ३ दिन पछि हुन लागेको हो । उक्त कार्यक्रम बिहान १० बजेदेखि साँझ ०५ बजे सम्म आयोजना हुने इक्यानका कोषाध्यक्ष तथा मिडिया तथा ब्रान्ड डिपार्टमेन्ट कोर्डिनेटर आशिक कार्कीले जानकारी दिए ।  

Advertisement

हालै आयोजित पत्रकार सम्मेलनमा इक्यानका अध्यक्ष शेषराज भट्टराईले कोरोना महामारीपछि पहिलो पटक भौतिक रूपमा मेला आयोजना गर्न लागिएको जानकारी दिएका थिए । “नेपाली विद्यार्थीहरूलाई स्वदेशी एवम् विदेशी शिक्षा प्रणाली, प्राप्त योग्यताको भावी सम्भावना र असरबारे पर्याप्त सूचना प्रवाह, शैक्षिक संस्थामा प्राप्त हुनसक्ने छात्रवृत्ति, सुविधा तथा जानकारी एवम् परामर्श सेवा प्रदान गर्ने उद्देश्यले मेला आयोजना गर्न लागिएको हो”, उनले भने । 

अध्यक्ष भट्टराईले विद्यार्थीको उच्च शिक्षाको सपना साकार गर्न शैक्षिक मेला महत्वपूर्ण माध्यम हुने विश्वास व्यक्त गरे । मेलामा विद्यार्थीले विशेष गरी विश्वका विभिन्न शिक्षण संस्था, तिनका शैक्षिक प्रणाली, पाठ्यक्रम, भर्ना प्रक्रियालगायतका विषयमा जानकारी प्राप्त गर्नेछन् । साथै विभिन्न देशका प्रतिनिधिहरूसँग पनि साक्षात्कार गर्न पाइने इक्यानले जनाएको छ ।
    
विद्यार्थी, अभिभावक तथा सरोकार भएकाहरू गरी १५ हजारभन्दा बढीले मेला अवलोकन गर्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ । “मेला अन्तर्राष्ट्रिय मापदण्डअनुरूप तयार पारिएका शिक्षण सामग्री र परामर्श प्रदान गरेर नेपाली विद्यार्थीको ज्ञान, सीप र बौद्धिक क्षमतामा उल्लेखनीय वृद्धि गर्ने अवसर बन्नेछ”, अध्यक्ष भट्टराईले भने । 

इक्यान उपाध्यक्ष तथा मेला संयोजक गीता शिवाकोटीले कोरोना महामारीपछि पहिलो पटक भौतिक रूपमा आयोजना हुन लागेको मेलाले विद्यार्थी र अभिभावकमा सकारात्मक सन्देश प्रवाह हुने विश्वास लिइएको बताइन् ।  

Advertisement

Advertisement