शरद ऋतुको आरोहणका लागि पहिलो दिनमै १५ जनाले अनुमति लिए, अरु सयौं लाइनमा

Advertisement

काठमाडौं । शरद ऋतु नजिकैसँगै हिमाल आरोहणको लागिअनुमति दिन सुरु भएको छ । जसअनुसार बुधबार मात्रै १५ जनाले अनुमति लिएका छन् ।  शरद ऋतु लागि हिमाल आरोहण अनुमति सुरु भएसँगै तीन वटा हिमाल आरोहणका लागि पाँच देशका १५ जनाले अनुमति लिएको पर्यटन विभागले जनाएको छ ।

उनीहरुले हिमलुङ हिमाल (७,१२६ मिटर), सारिबुङ (६,३४६ मिटर) र मनास्लु (८,१६३ मिटर) हिमाल चढ्न अनुमति लिएका हुन् । अनुमति लिनेमध्ये तीन जना महिला र १२ जना पुरुष छन् । उनीहरुबाट सरकारले १३ लाख ७३ हजार २४२ रुपियाँ रोयल्टी पनि संकलन गरेको विभागले जनाएको छ ।

Advertisement

शरद ऋतुको लागि बुकिङको सुरुवात राम्रो रहेको र सयौंको संख्यामा अरु पनि अनुमति लिने तयारीमा रहेको ट्रेकिङ कम्पनीहरुको भनाइ छ । एट–के एक्सपिडिसनका संस्थापक पेम्बा शेर्पाका अनुसार यस सिजनमा आफ्नो कम्पनीबाट ५० जना विदेशी मनास्लु हिमाल आरोहण गर्ने तयारीमा रहेको जानकारी दिए । 

अरु बुकिङ तथा सोधपुछहरु पनि आइरहेको भन्दै उनले भने, ‘गत वर्षको तुलनामा यस सिजनमा हाम्रो कम्पनीबाट आरोहणको लागि धेरै क्लाइन्टहरु छन् ।’ त्यस्तै, पायोनियर एडभेन्चर ट्रेक्सबाट ४५ जना, एक्स्ट्रिम क्लाइम्बर ट्रेक र एक्सपेडिसनबाट करिब ३०, इमाजिन नेपाल ट्रेक्सबाट १९ जना, एलिट एक्स्पेडबाट २० जना र सेभेन समिट ट्रेक्सबाट एक सय जना आरोहीहरु हिमाल आरोहणको अनुमति लिने तयारीमा रहेको जनाइएको छ । यो संख्या अझै बढ्नसक्ने ती कम्पनीहरुले बताएका छन् । 

Advertisement

Advertisement