काठमाडौं । बीमा क्षेत्रको लगानी एक आर्थिक वर्षमा करिब दुई खर्बले बढेको देखिएको छ । गत आर्थिक वर्षमा बीमा कम्पनीहरुले गरेको कुल लगानी छ खर्ब २४ अर्ब रुपियाँ पुगेको छ । जबकी अघिल्लो आर्थिक वर्षमा यस्तो लगानी चार खर्ब ६९ अर्ब रुपियाँ मात्रै थियो ।
निर्जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्ष २०७८।७९ को अन्तिमसम्ममा ५३ अर्ब ९१ करोड ९२ लाख रुपियाँ लगानी गर्दा जीवन बीमा कम्पनीहरुले पाँच खर्ब ७३ अर्ब १६ करोड रुपियाँ लगानी गरेका छन् ।
बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा कम्पनीहरुको लगानी बढ्नु पछाडी उनीहरुको व्यवसाय पनि बढिरहेको र कम्पनीहरुले धेरै रकम मुद्दती निक्षेपमा राख्दा वर्षोनी त्यसको व्याज आम्दानी पुँजीकृत भएकाले पनि हो भने ।
उनले थपे, ‘अर्को कुरा भनेको बीमा कम्पनीहरुले विगतमा गर्ने लगानी र अहिले गर्ने लगानीको दायरा हेर्ने हो भने यसको दायरा पनि बढेकै छ । त्यसले अब बीमाको व्यवसाय र लगानी दुवै बढ्दो अवस्थामा देखिन थालेको हो ।’
बीमा कम्पनीहरुले सरकारको बचतपत्र, क वर्गको बैंकको मुद्दती निक्षेप, घर जग्गा तथा सुचिकृत पब्लिक लिमिटेड कम्पनीको साधारण शेयरमा लगानी गर्दै आएका छन् । बीमा कम्पनीहरुले उक्त शीर्षकहरुमा न्यूनतम पाँचदेखि अधिकतम २० प्रतिशतसम्म लगानी गर्न मिल्ने सुविधा रहेको बीमा समितिले जनाएको छ ।
यता गत आर्थिक वर्षमा पुनर्बीमा कम्पनीतर्फ नेपाल पुनर्बीमा कम्पनीले १८ अर्ब ७४ करोड ३२ लाख रुपियाँ लगानी गरेको छ भने निजी क्षेत्रतर्फको हिमालयन रि–इन्स्योरेन्स कम्पनीले ७ अर्ब ४४ करोड बराबरको लगानी गरेको छ । यसरी पुनर्बीमा कम्पनीहरुको कुल लगानी २६ अर्ब १८ करोड ७३ लाख रुपियाँ रहेको छ ।
बीमा कम्पनीहरुले आफ्नो लगानीको दायरा अझै पनि संकुचित भएको र त्यसलाई सघाउनुपर्ने बताएका छन् । नियामक बीमा समितिले भने बीमा कम्पनीहरुले बैंकको मुद्दती निक्षेपको व्याजलाई मात्रै आम्दानीको स्रोत बनाउनेभन्दा पनि केही फरक सोच्नु पर्ने बताएको छ ।